बैशाख १३, २०८१, बिहीबार
               

हिउँदे वर्षा नहुँदा वायु प्रदूषण अझै बढ्ने अनुमान

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडाैं । हिजोआज देशका धेरै ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान गरिएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ । पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु लागेको छ । 

यो वर्ष हिउँदे वर्षा खासै नहुँदा सुख्खासँगै वायु प्रदूषण पनि बढ्ने सम्भावना ज्यादा छ । गतहप्ता पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भए पनि देशका अन्य ठाउँमा खासै  पानी परेन । मौसम धुम्मिए पनि वर्षा हुने गरी पश्चिमी वायु प्रवेश नगर्दा देशका धेरै ठाउँमा सुख्खा बढेको छ ।

पोहोर यतिबेला दुई/तीन पटकसम्म हिउँदे वर्षा भएको वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् । उनका अनुसार अहिले मौसम धुम्मिए पनि आउँदो एक हप्तासम्म पानी पर्ने सम्भावना छैन । यही जनवरी महिनाको अन्तिमसम्ममा पश्चिमी वायुको शक्तिशाली प्रणाली प्रवेश गरे मात्रै पानी पर्ने उनको भनाइ छ ।

साढे ३ महिनादेखि काठमाडाैं उपत्यकामा पानी परेको छैन । यसले गर्दा धुवाँ धुलो बढ्दै गएको छ ।  सुख्खा भएपछि आगलागीका घटना पनि बढ्ने भएकाले प्रदूषण अझै बढ्ने अनुमान गरिएको छ । यसपालि पश्चिमी वायुले ल्याउने प्रणाली पानी पर्ने खालको नभएकाले सबै ठाउँमा वर्षा नभएको मौसमविद् पौडेलले बताए ।

नेपालमा पश्चिमी वायु प्रवेश गरे पनि पर्याप्त जलवाष्पयुक्त हावा नआएकाले वर्षा हुन नसकेको हो । अहिले बादल लागे पनि पानी पार्ने प्रणाली नहुँदा सुख्खा हावा मात्रै चल्ने गरेको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डाक्टर इन्दिरा कँडेलले पनि यसपालिको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेको बताइन् ।

 


कस्तो लाग्यो ?

यो पनि