फागुन १४, २०७७, शुक्रबार
               

धार्मिक दृष्टिबाट मकर संक्रान्ति

निरज कोइराला
माघ ०१, २०७७

ADVERTISEMENT

नेपालमा प्राय: धेरै चाडपर्वहरू तिथिको हिसाबले मनाउने गरिन्छ । तर, थोरै मात्र यस्तो चाडपर्व छन्, जुन गतेको आधारमा मनाइन्छ । त्यसैमध्येको एक चाड हो मकर संक्रान्ति अर्थात् माघे संक्रान्ति । यो पर्वलाई माघी पनि भन्ने चलन छ । माघ १ गते मनाइने भएकोले नै यसलाई माघे संक्रान्ति  भनिएको हो भन्दा अतिशयोक्ति नहोला । 

मकर संक्रान्तिबारे धार्मिक दृष्टि

यो हाम्रो मौलिक पर्व भएता पनि मकर संक्रान्तिबारे शास्त्रमा समेत उल्लेख भएको पाइन्छ । ज्योतिषीय दृष्टिले पनि यो दिनलाई निकै महत्त्वपूर्ण दिनको रूपमा हेरिएको छ । यस दिन धनु राशिमा रहेको सूर्यदेव मकर राशिमा प्रवेश गर्छन् । मकर संक्रान्तिको दिनदेखि दक्षिण अयनमा रहेको भगवान् सूर्यनारायण ६ महिनाको लागि उत्तर अयनमा प्रवेश गर्छन् । यो समय अवधिभर सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा घुम्ने भएका कारण उत्तरायण भन्ने गरिएको हो  । यसअघि, दक्षिणायनबाट उदाउने सूर्य  आजको दिनदेखि उत्तरायणबाट उदाउने गर्छ । यसैलाई सोम्यायन पनि भनिन्छ । सूर्य उत्तरायण भएदेखि बिस्तारै बिस्तारै दिन लामो हुने गर्दछ । 

हिन्दू धर्मको मान्यताअनुसार धर्मसूत्र र आचार संहितामा मकर संक्रान्तिको बारेमा उल्लेख गरिएको छ । विशेषतः धार्मिक रूपमा यो पर्वलाई सूर्यनारायणको उपासनाको दृष्टिले हेरिएको छ । ज्योतिष शास्त्रमा सूर्यनारायणलाई ग्रहहरूको राजा भनिएको छ । सूर्यलाई आत्माको कारकको रूपमा पनि लिएको पाइन्छ । सूर्यबाट ऊर्जा प्राप्त गर्न सकिन्छ । मानव जातिमा मात्र नभई समस्त सृष्टि जगत्मा नै ऊर्जाको कति महत्त्व हुन्छ भन्ने हामी सबैलाई थाहा नै छ । त्यसैले ऊर्जा रूपी सूर्यको आराधना गरी हाम्रो जीवनमा ऊर्जा प्राप्त गर्न सकिने धार्मिक जनविश्वास रहेको छ । यसै दिन पवित्र नदी अथवा जलाशयमा गएर स्नान दान पुण्यका कार्य गर्न चलन छ । मकर राशिको स्वामी शनि हो र शनि सूर्यको पुत्र । यसै दिन सूर्य आफ्नो पुत्रको घरमा गएर एक महिना बसेको धार्मिक मान्यता छ । जसको अर्थ बाबु र छोराबीचको स्वस्थ सम्बन्धको प्रतीकको रूपमा लिने गरिन्छ ।  

अर्को धार्मिक मान्यताअनुसार मकर संक्रान्तिदेखि देवताहरूको दिनको आरम्भ हुन्छ । जुन असार मसान्तसम्म हुने गर्दछ । कर्कट संक्रान्ति अर्थात् साउने संक्रान्तिदेखि देवताहरूको रात प्रारम्भ हुन्छ । देवताको एक दिन र एक रात मिलेर मनुष्यको एक वर्ष हुन्छ । मनुष्यको एक महिना पितृको एक दिन हुन्छ । पितृको दिन शुक्ल पक्ष र रात कृष्ण पक्ष हुन्छ । 

मौलिक परम्परा 

नेपाली समाजमा एउटा भनाइ प्रचलित छ “पुसको पाक्य माघमा खाक्य” । यही माघे संक्रान्तिलाई आधार बनाएर यो भनाइ भनिएको हो । जसको अर्थ पुस महिनामा खानेकुरा बनाएर माघ महिनामा खाने हुन्छ । माघे संक्रान्ति देशभर भिन्न भिन्न तरिकाले मनाउने गरिन्छ । विभिन्न जात, समुदायले आफ्नो संस्कृति अनुसारले मनाउने गर्छन् । 

यस दिन देशको विभिन्न स्थानमा मेला लाग्ने गर्दछ । देवघाटमा यसै दिनदेखि मकरस्नान सुरु हुन्छ । देवघाटलगायत ललितपुरको शङ्खमुल, हेटौंडाको कुष्माण्डसरोवर, कोशीको बराहक्षेत्र, झापाको कन्काईलगायत विभिन्न नदी, जलाशय र त्रिवेणीधामहरूमा मकर स्नान सुरु हुन्छ । यस बाहेक रिडीमा तीनदिने मेला, तेह्रथुममा गौखुरी मेला लाग्ने गर्दछ । यसै दिन परापूर्व कालमा गोरुजुधाइ गरिने भएता पनि पछि बन्द भएको यो प्रतियोगिता पछिल्लो ५–६ वर्षदेखि भने पुनः सुचारु गरिएको छ । देशको पहाडी जिल्ला नुवाकोट, धादिङमा यो मेला लाग्ने गर्छ ।  पछिल्लो समयमा गोरुजुधाइलाई महोत्सवकै रूपमा विकास गरिएको छ । उक्त महोत्सव हेर्न टाढा टाढादेखि त्यहाँ पुग्ने गरेको पाइएको छ । 

यस दिन घ्यू, चाकु(गुड) तिलको लड्डु तरुल खाने चलन पनि नेपाली समाजमा रहिआएको पाइन्छ । यो पकवान खानुको पनि छुट्टै विशेषता रहेको छ । माघे संक्रान्तिको महिना सधैँ चिसो नै हुने गर्छ । यो समयमा तापक्रम निकै कम हुने गर्छ । यस्तो अवस्थामा शरीरमा चाँडै नै चिसो लाग्ने हुन्छ । घ्यु, चाकु, तिल यस्तो खानेकुरा हो जसले हाम्रो शरीरमा गर्मी पैदा गराउँछ । यसमा गर्मी गराउने तत्त्वका साथै लाभदायक पोषक पदार्थ पनि हुन्छ । जसले हामीलाई निरोगी बनउछ । त्यसैले यो पर्वलाई वैज्ञानिक ढंगबाट पनि राम्रो मान्न सकिन्छ । 

माघी पर्व थारु, मगर, छन्त्याल आदि विशेष जातिहरूले छुट्टै तरिकाले मनाउने गर्छन् । यस दिन ती जातिहरूले आ–आफ्ना रीतिरिवाजअनुसार यो पर्व मनाउँछन् । थारु जातिको बाहुल्यता भएको दाङलगायत सुदूरपश्चिमका तराई क्षेत्रको जिल्लमा यो पर्व धूमधामका साथ मनाउँछन् । थारुहरू यो पर्व वर्षभरि कै सबैभन्दा ठूलो पर्वका साथमा मनाउँदै आइरहेका छन् । पछिल्लो समय काठमाडौंमा पनि आफ्नो भेषभूषामा सुसज्जित भएर सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ । त्यस्तै, मगर जातिहरू माघ १ गतेलाई नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । मगर समुदायले यस दिनलाई ल्होसार भनेर पनि मनाउने गर्छन् । आफ्नो जातीय पहिचान झल्कने पारम्परिक पोसाक लगाएर मारुनी, टप्पाजस्ता जातीय नृत्यका साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरी भव्यताका साथमा यो पर्व मनाउने गरेका छन् । 

नेपालमा विभिन्न जातजाति धर्म सम्प्रदाय छन् । ती सबैले आफ्नै परम्परा, तौरतरिका र मूल्यमान्यताको आधारमा यो पर्वलाई मनाएको पाइन्छ । जसले गर्दा समाजमा सामाजिक सद्भावको भावना उत्पन्न गराएको छ । 

लेखक धर्म संस्कृति र पूर्वीय दर्शनमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि