माघ ०५, २०७७, सोमबार
               

सक्दिन म निर्घिनी बन्न

चेतन पाण्डे
४ दिन अघि

हरेक वर्ष झैँ यो वर्ष पनि राष्ट्रिय एकता दिवस आयो, गयो । केही मन रमाए, केही नाक खुम्चिए ।

मन हुने, देशको माया हुनेले कुनै न कुनै तरिकाले पृथ्वी नारायण शाहलाई सम्झिए । यो सुन्दर मुलुकको एकिकरणको जग बसाली दिएका पृथ्वी नारायणलाई धन्यवाद पनि दिए । मैले पनि दिएँ । नेपाली हुन पाएकोमा गौरव गरे । मैले पनि एक पटक आँखा चिम्लिएर उनलाई सम्झिएँ । धन्यवाद दिएँ, नेपाली भएर जन्मन पाउँदा । नेपाली नै बनेर बाँच्न पाउँदा ।

जसले यो धर्तीमा टेक्ने आधार तयार पारि दिए । जसले यो मुलुकको माटोमा स्वतन्त्रताको सुगन्ध भरि दिए । अनि जसले नेपाली भएर जन्मिने र मर्ने अधिकार दिए । त्यही महान् व्यक्तित्वलाई गाली गर्ने पनि यो मुलुकमा कम छैनन् । अहिले त यो मुलुकका सत्ताको बागडोर सम्हालिरहेका र भोलि पनि त्यही सत्तामा काबिज हुने सपना पालिरहेकाहरू नै पृथ्वी नारायण शाहलाई अछुतो मान्न थालेका छन् । दुख लाग्छ, पुर्खाका योगदानलाई अवमूल्यन गर्नेहरू देख्दा ।

हामी कति कृतघ्न रहेछौँ । जसका कारण राष्ट्रवादका नाममा राजनीति गर्न पाइरहेका छौँ । उसको जन्म जयन्तीमा एक दिन राष्ट्रिय पर्व मनाउन पनि कन्जुस्याइँ गर्ने ।

कहिले काहीँ लाग्छ । यही मुलुकमा बसेर राजनीति गर्ने । यही मुलुकको नाम बेचेर सत्तामा काबिज हुने । यही मुलुकका जनतामाथि राज गर्ने । अनियमितता गरेर अर्बौँ कमाउने । यही देशमा रजाइँ गर्न कहिले दक्षिण त कहिले उत्तर ढल्किने नेताहरूलाई किन लाज लाग्दैन होला, पृथ्वी नारायण शाहलाई गाली गर्न ? आखिर उनले एकताको सपना नदेखेका भए, के गरी खान्थे, हाम्रा नेताहरू । राष्ट्रिय एकताको प्रतीकलाई सराप्दा किन महसुस गर्दैनौ तिमी यो धर्तीको सुगन्ध ? किन सोच्दैनन् होला ? किन मन पनि दुख्दैन होला ? जुन देशको नाम बेचेर राजनीति गरिरहेका छौ, त्यसैको निर्माणकर्तालाई गाली गर्दा एक पटक मुटु चसक्क दुख्नु पर्ने होइन र ? छ्या ! कति निर्घिनी बनेछौँ, तिमी ।

कति कृतघ्न रहेछौँ । जसका कारण राष्ट्रवादका नाममा राजनीति गर्न पाइरहेका छौँ । उसको जन्म जयन्तीमा एक दिन राष्ट्रिय पर्व मनाउन पनि कन्जुस्याइँ गर्ने । तर, सर्वसाधारणले उनको योगदान बिर्सी सकेका छैनन् कि जस्तो पनि लाग्छ । पृथ्वी जयन्तीको दिन यो बस्तीका सडकमा राष्ट्रिय झन्डा बोकेर निस्कनेहरू देख्दा एक पटक गर्वले छाती चौडा भयो । लाग्यो, पृथ्वी नारायणलाई बिर्सी सकेका कतिपयले फेरि उनलाई सम्झन थालेका छन् । अनि दुख पनि लाग्यो । हामीले गर्व गर्नु पर्ने नेपाल आमाका सपुतको सालिकमा फूल गुच्छा चढाउँदा समेत राज्यले धक्का मुक्की गर्दा । शायद पृथ्वी नारायणले सक्थे भने हामीमाथि राज गर्नेहरूको मुख्यालय रहेको सिंहदरबार बाहिर ठडिएको सालिकबाटै दुई थोपा आँसु अवश्य झार्थे ।

जसले इतिहासका नायकको भूमिकालाई गौण ठान्छ । उसले जन्म लिएको धर्तीप्रति नै गद्दारी गरिरहेको हुन्छ भन्न मलाई अप्ठेरो लाग्दैन । जसले आफू उभिएको धरातललाई बिर्सन्छ, त्यो व्यक्तिलाई कसैले सम्मान गर्न सक्दैन । हिजोआज निकै भेटिन्छन्, त्यस्ता गद्दार यो भूमिमा । इतिहासको अपमान गर्ने । विश्व मै सबैभन्दा पाको इतिहास भएको राष्ट्र मध्ये एकका रूपमा हामीले आफैँमाथि गर्व गर्ने गरेका छौँ । तर, केही गद्दारहरू इतिहासका हरफहरूलाई मेट्न तँछाड मछाड गरिरहेको छन् । मनदेखि भन्ने हो भने त्यस्ता त जन्मभूमिबाटै श्रापित हुनेछन् । अनि इतिहासलाई कलङ्कित पार्न खोज्नेहरूको इतिहास पनि कालै लेखिने छ । कसैले बनाउने छैन, तिनीहरुका सालिक यो धर्तीमा ।

यो हाम्रा पुर्खाहरूको सपनाको देन हो । जसले पुर्खाको सपनालाई भेद्न खोज्छ, त्यस्तो जन्मलाई धिक्कार्न बाहेक केही गर्न सकिँदैन ।

कसैले इतिहास मेटाउने कोसिस गर्छ भने त्यसले सबैभन्दा पहिले आफैँ बसेको कोखमा छुरा रोप्ने साहस गर्नु पर्छ । आफू जन्मिएको माटोलाई धिक्कार्ने साहस गर्नु पर्छ । अनि बाँचेको आकाशतिर थुक्ने साहस गर्नु पर्छ । नत्र स्विकार्नु सक्नु पर्छ, यो देश हामीलाई हाम्रा पुर्खाको बलिदानबाट हासिल भएको हो । उनीहरूले सपना नदेखेका भए आज न यो नेपाल बन्ने थियो, नत हामी नेपाली नै । यो हाम्रा पुर्खाहरूको सपनाको देन हो । जसले पुर्खाको सपनालाई भेद्न खोज्छ, त्यस्तो जन्मलाई धिक्कार्न बाहेक केही गर्न सकिँदैन । जसले आमा र मातृभूमिका नायकको अपमान गर्छ, त्योभन्दा महापाप अरु केही हुनै सक्दैन ।

अहिले यो मुलुकका मठाधिसहरु अरूले निर्माण गरी दिएको घरको धुरीमा बसेर, त्यही घरको जग भत्काउने आदेश दिँदै छन् । उनीहरूले थाहा पाउनु पर्छ, जब त्यो घर भत्किने छ । त्यसको भग्नावेसमा पुरिने पहिलो व्यक्ति त्यही धुरीमा बस्ने नै बन्नेछ भनेर । दुई दिनको सत्ता लिप्सामा र कुनै वर्ग वा समुदायको खुसीका लागि मात्र इतिहासलाई मेट्न पाइँदैन । पुर्खाको देनलाई अस्वीकार गर्न पाइँदैन ।

संसारमा सामाजिक र राजनीतिक क्रमभङ्ग भई रहेका हुन्छन् । तर, हरेक परिवर्तनसँगै पुरानो डोब मेटाउनु पर्छ भन्ने मान्यता कहीँ कतै छैन । हामी भने आफूलाई अग्रगामी देखाउन इतिहासका सुनाैला अध्याय नै मेटाउन तल्लीन छौँ । वाह ! हामी ।

हिजो जुन राष्ट्रिय नायकका सन्ततिका सामु जी–हजुरी बिसाएर नथाक्नेहरू आज उनीहरूको छायासँग पनि तर्किन थालेका छन् । कति स्वार्थी बनी सकेका रहेछौ, तिमी । हाम्रो गर्विलो इतिहासलाई समेत अस्वीकार गर्ने । राष्ट्र एकीकरणको जग बसाल्ने नायकलाई राजनीतिक वादसँग जोडेर हेर्ने ।

इतिहास भनेको त कुनै पनि राष्ट्रको जग हो । वर्तमानलाई चलायमान बनाउने आधार हो । भविष्य निर्धारण गर्ने माध्यम हो । हाम्रो स्वाभिमानको प्रतीक हो । अनि राष्ट्रलाई एक ढिक्कामा बाँध्ने कडी पनि । आफ्नै मुलुकको इतिहासप्रति जसलाई लाज लाग्छ, त्यसले यो मुलुकलाई आफ्नो भन्ने अधिकार पनि त्याग्ने हिम्मत गर्नु पर्छ । नत्र कुनै दिन तिम्रो सपनामा आएर ती नायकहरूले प्रश्न गर्ने छन् । ‘हामीले रगत पसिना बगाएर एक बनाएको राष्ट्रमा हामीलाई नै सरापेर कस्तो स्वार्थ सिद्ध गरी रहेका छौ ? अनि किन बाँड्दै छौँ, हामीले एकताका सूत्रमा बाँधेका जनतालाई जात र वर्गको नाममा ? भो’ अति भयो, तिम्रो यो स्वार्थी राजनीति ।’

मलाई त मेरो धर्तीको माटोको सुगन्ध नै प्यारो छ । मेरा पुर्खाको बलिदानप्रति गर्व छ । मेरै धर्म प्यारो छ । त्यसैले मलाई मेरो इतिहासमाथि घमन्ड छ । म जस्तो सुकै स्वार्थका लागि पनि सपुतलाई कपुतको दर्जामा राख्न सक्दिन । उनीहरूको योगदानलाई नकार्न सक्दिन । किनकि म सक्दिन तिमी झैँ निर्घिनी बन्न ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि