माघ ०५, २०७७, सोमबार
               

कठपुतली झैँ हाम्रो नियति

आनन्द ढकाल
६ दिन अघि

एकजना अत्यन्त गरिब व्यक्ति आफूसहित परिवारको दैनिक गर्जो टार्न भिक्षा माग्न हिँड्ने गर्दथे । भिक्षाटनको क्रममा कसैले दयामाया देखाउँदै केही बढी पनि सहयोग गर्दथे भने कसैले कटु शब्द प्रयोग गर्दै उनलाई रित्तो हात फर्काउँथे ।

एक दिन कुनै सहृदयी व्यक्तिले उनलाई सुझायो, त्यस देशका राजा अत्यन्त दानवीर छन् । उनको दरबारमा भिक्षाको लागि याचना गर्न जाने दीन दुखी कहिल्यै रित्तो हात फर्कनु परेको छैन । यथेष्ट भिक्षा पाएर आफ्नो गरिबीबाट सदाको लागि छुटकारा पाएका छन् । तिमी पनि उनै राजाको दरबारमा जाऊ र आफ्नो गरिबीबाट मुक्ति पाउ ।

राजधानी टाढा थियो । भोलिपल्ट ती व्यक्ति भिक्षाटनको लागि राजाको दरबार तिर लागे । भोको पेट, शारीरिक दुर्बलता, दिनभरको हिँडाइको थकान । उनी साँझ तिर बल्ल बल्ल दरबारमा पुगे ।
द्वारपाल समक्ष राजाको दानशीलताको गुणगान गाउँदै आफू आउनाको प्रायोजन बताए । द्वारपालले उनको अवस्थालाई मध्यनजर राख्दै तत्कालै उनलाई राजा समक्ष लिएर गए । राजाले उनलाई सरसर्ती नियाल्दै आउनाको कारण सोधे । ती गरीब व्यक्तिले आफ्नो अवस्थाको बारेमा सबै जानकारी गराए र भने हे महाराज ! हजुरको कीर्ति तथा यश धेरै सुनेर म आफ्नो गरिबी निवारणको लागि धेरै टाढाबाट आएको छु । कृपया म दीन दुखी उपर दया गर्नुहोस् ।

राजाले मनमनै केही सोच्दै उनलाई भने भोलि बिहान सूर्योदय हुने बेलामा दरबारको मुख्य प्रवेशद्वार अगाडि आइपुग्नु होला त्यही नै तपाईँलाई पुस्तौँसम्म पुग्ने सम्पत्ति दिनेछु । अहिले अतिथि गृहमा गएर भोजन गरी आराम गर्नुहोस् । ती व्यक्ति आफूलाई राजाको दरबारमा जान सुझाव दिने शुभेच्छुकलाई हृदयदेखि नै धन्यवाद दिँदै आराम गर्न गए ।

दौडँदा दौडँदै उनमा आफूले दौडेको इलाकामा राज गर्ने अति महत्त्वाकाङ्क्षा तथा लालचले आफ्नो कमजोर शरीरको ख्याल राखेनन् । एक तमास दौडी रहे, दौडी रहे ।

भोलिपल्ट बिहानै निर्धारित स्थान र समयमा ती याचक राजा समक्ष पुगे । राजा आफ्ना भाइ भारदार मन्त्री गणसँग बसी रहेका थिए । अनि ती गरीब व्यक्तिले जिज्ञासु तथा टिठलाग्दो पाराले राजातर्फ हेर्दै हात जोडी रहे । तब राजाले अगाडि गाडिएको खम्बा देखाउँदै ती याचकलाई भने हे अतिथिदेव ! यो खम्बाबाट तपाईँ अगाडि बढ्दै जानुहोला र सूर्यास्तको ठिक समयमा यही खम्बामा आइपुग्नु होला । दिनभरिमा जति तपाईँले हिँड्न सक्नु हुन्छ । त्यसको चारैतिरको इलाका तपाईँलाई दिनेछु । अनि तपाईँ त्यसको मालिक बन्नुहुनेछ । याद राख्नुहोला सूर्यास्त पछि आइपुग्नु भयो भने तपाईँले केही पाउनुहुनेछैन । सर्त स्वीकार भए अगाडि बढ्नुहोस् ।

मानिसको जात यति अतृप्त भोक हुन्छ कि मान सम्मान धन सम्पति ऊ आफ्नो लागि मात्र नभएर आफ्ना साखा सन्तान, इष्टमित्र कुल कुटुम्व सबको लागि पनि जोड्न चाहन्छ ।

त्यहाँ उपस्थित सबै जना राजाको कुरा सुनेर अवाक् भए । गरीब व्यक्ति राजाको सर्तलाई सहर्ष स्वीकार गर्दै अगाडि बढे । उनको मनमा राजाको कुराले हर्षको सीमा रहेन र पछाडि हेर्दै नहेरी दौडन थाले । दौडँदा दौडँदै उनमा आफूले दौडेको इलाकामा राज गर्ने अति महत्त्वाकाङ्क्षा तथा लालचले आफ्नो कमजोर शरीरको ख्याल राखेनन् । एक तमास दौडी रहे, दौडी रहे । अपराह्न भयो, समय घर्किँदै गयो । आकाशमा सूर्य क्रमशः अस्ताचल पर्वतर्फ ओरालो लाग्न थाले तब उनी झल्याँस्स भए र त्यहाँ चिनो राखी पछाडि फर्की दौडन लागे ।

दौडँदै अगाडि हेरे, दरबारको मुख्य प्रवेशद्वार धेरै टाढा थियो, सूर्य अस्त हुन केही समय मात्र बाँकी थियो । आफ्नो वेगमा तीव्रता दिई घरी सूर्य , घरी प्रवेशद्वार अगाडिको खम्बा तर्फ हेर्दै उनी अझै वेगले दौडिरहे । निर्धारित समय सीमा समाप्त भयो । सूर्य अस्त भए, उनी खम्बा रहेको स्थानमा पुग्नै लागेका थिए, डङ्ग्रङ्ङ भुइँमा बजारिए । उनको तत्काल प्राण पखेरु उड्यो । सबै मन्त्री गण तथा भाइ भारदार यो दुखान्त अन्त्यमा किंकर्तव्यविमूढ भए दुखित हुँदै जिज्ञासु भावले राजा तर्फ हेर्न थाले ।

राजा शान्त थिए र दुखी पनि । उनलाई त्यहाँ उपस्थित भाइ भारदार सहित आफ्ना प्रजा जनको जिज्ञासा मेटाउनु पनि थियो । उनले लामो श्वास तान्दै भने मानिस बाहेक संसारका कुनै पनि प्राणीहरूले धन सम्पत्ति तथा खाद्यान्नहरू पुस्तौँसम्मको लागि थुपार्दैन ।

मानिसको जात यति अतृप्त भोक हुन्छ कि मान सम्मान धन सम्पति ऊ आफ्नो लागि मात्र नभएर आफ्ना साखा सन्तान, इष्टमित्र कुल कुटुम्व सबको लागि पनि जोड्न चाहन्छ । यही कहिल्यै तृप्त नहुने मनोरोगबाट ग्रसित भएको मान्छेमा एउटा यस्तो लालच हुन्छ । त्यही लालचको कारण आफ्नो प्राण कतिखेर गुमाउँछ पत्तै पाउँदैन । बस् , यी व्यक्तिलाई पनि धन सम्पत्तिको त्यही अतृप्त प्यास, त्यही लालच र अति महत्त्वाकाङ्क्षाले गाजेको हुँदा आफ्नै जीवनबाट हात धुनु पर्‍यो ।

हालको सन्दर्भमा भन्नुपर्दा हाम्रो समाज , अनि समाजलाई नेतृत्व गर्ने (राजनैतिक, धार्मिक, शैक्षिक, कानुन, सञ्चार, स्वास्थ्य तथा विभिन्न व्यवसायका) कथित नेतृत्व वर्गमा तिनै याचकमा जस्तो अति महत्त्वाकाङ्क्षाको विष वृक्ष मौलाइरहेको देख्न सकिन्छ । निर्धारित समय सीमाभित्र तोकिएको जिम्मेवारी पुरा नगर्नु र खाली आफ्नै स्वार्थमा मात्र झुन्डिँदा चित्रगुप्तले कहाँ कतिखेर जीवनको अध्यायमा पूर्णविराम लगाउने हुन् ? अकर्मण्यताको चक्रवातमा परेको व्यक्तिमा ज्ञान हुने कुरै भएन ।

कसैको उक्साहटमा, विदेशी बैङ्कमा मोटो रकमको जगेर्ना गर्दै आफ्नो स्वार्थ मात्रलाई सर्वोपरि देख्ने  । अनि रिमोट कन्ट्रोलद्वारा सञ्चालित प्राणहीन कठपुतली झैँ बनेर पुस्तौँसम्मका भविष्य सुरक्षित गर्ने लालचको परिणाम क्रमशः पटाक्षेप हुँदै छ । यही अवस्थाले निरन्तरता पाइरहेमा भोलि हाम्रा सन्ततिहरूले दन्त्यकथामा झैँ एकादेशमा नेपाल भन्ने देश थियो भन्दै अध्ययन अध्यापन गर्ने दिन नआउला भन्न सकिन्न ।

यसर्थ कुनै आयातित धर्म या व्यवस्था होइन । आफ्नै देश काल परिस्थिति र माटो सुहाउँदो व्यवस्था र कल्पवृक्ष रुपी वैदिक सनातन धर्मलाई नै मलजल गर्दै हुर्काउन बढाउन सबै तह र तप्काबाट छातीमा हात राखेर आजै प्रतिबद्ध भएर प्रण गर्नु आवश्यक छ । साँचो अर्थमा तब मात्र सार्वभौम राष्ट्र नेपालको राष्ट्रिय एकताका प्रतीक स्वर्गीय श्री ५ पृथ्वीनारायण शाह प्रति श्रद्धा अर्पण हुनेछ ।

नोट : प्रस्तुत कथाको आशय कुनै वर्ग विशेषको अवहेलना गर्न नभई जो कोहीको अन्तर्मनमा सलबलाइरहने लालचको कीटाणुहरूले त्यस्ता व्यक्ति विशेषलाई झन् झन् दरिद्र बनाइरहने हुँदा त्यसप्रति सचेत रहन र झकझकाउन खोजिएको मात्र हो ।

नेपाली सेनाका अवकाशप्राप्त सेनानी ढकाल आध्यात्मिक चिन्तन तथा सामाजिक विसङ्गतिका विषयमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि