बैशाख १४, २०८१, शुक्रबार
               

कति सम्भव नेकपा एकता ?

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

चुनावी गठबन्धनबाट दुईतिहाइ नजिकको जनमत प्राप्त गरेपछि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री चयन भए । ओली प्रधानमन्त्री बनेको तीन महिनापछि अर्थात् २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच  एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा गरियो । एकीकृत पार्टीको अध्यक्ष तत्कालीन एमाले अध्यक्ष ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष बने । 

‘एउटा पार्टीमा दुई अध्यक्ष कसरी सम्भव छ ?’ एकीकरणपछि एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीलाई प्रश्न सोधियो । ओलीले जवाफ दिएका थिए, ‘ट्याम्पो हो र एक मात्र चालक हुनका लागि ? यो त जेट हो, जेटमा त धेरै जना पाइलट हुन्छन् ।’ 

सोही दुई पाइलट भएको नेकपा अहिले दुर्घटनामा परेको छ । दुई पाइलट दुईतिर छन् ।  अर्थात् नेकपारुपी जहाज उडाउने ‘पाइलट’ ले  आफूनिकट प्यासेन्जर नेता आफ्नो गुटतर्फ लगेका छन् । पार्टी औपचारिक रूपमा विभाजन नभए पनि राजनीतिक रूपमा विभाजित छ । 

अहिले प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीको अध्यक्ष पद खोसेर वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष चयन गरेको छ । यस्तै, ओली समूहले प्रचण्डको कार्यकारी भूमिका खोसेको छ । ओलीले ५५६ जना केन्द्रीय कमिटी सदस्य थप गरेका छन् । प्रचण्ड र माधवकुमार नेपाल पक्षका मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । 

यसपछि थप विभाजनका काम भइसकेका छन् । दुवै पक्षले एकअर्का पक्षविरुद्ध सभा समारोह तथा आन्दोलन गरिरहेका छन् । एकअर्काविरुद्ध गालीगलौच गर्दै नकारात्मक विषय सार्वजनिक रूपमा प्रचार गरिरहेका छन् । दुवै पक्षले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा आफ्नो समूह बनाएका छन् । प्रदेश, जिल्ला हुँदै गाउँ कमिटी पनि विभाजित बनिसकेका छन् । भातृ संगठन तथा सुभेक्षुक सङ्गठनसमेत भिाजित छ । सबैले आआफ्नो पक्षमा माहौल सिर्जना गर्न भेला तथा छलफलल गरिरहेका छन् । 

आधिकारिक दल आफू भएको भन्दै चुनाव चिन्हलगायत पार्टीका सबै सम्पत्तिमा आफ्नो हक लाग्ने दाबी गर्दै दुवै पक्ष निर्वाचन आयोग गएका छन् । नेकपा आधिकारिक फुटको घोषणा नभएपछि दुवै पक्षको आँखा चुनाव चिन्हतर्फ छ । 

यसैले निर्वाचन आयोग हुँदै विवाद सर्वोच्चसम्म पुग्न सक्नेछ । यो क्रममा दुवै पक्ष अर्को पक्षलाई कारबाही गर्नेदेखि आआफ्नै ढङ्गले सङ्गठन विस्तारमा तल्लीन छन् । प्रधानमन्त्री ओलीले एकाएक संसद् विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेसँगै नेकपामा विवाद चर्किएको हो । 

ओलीको कदमलाई लिएर नेकपामात्रै नभएर सबै दलका साथै सरोकारवालाले विरोध जनाएका छन् भने यो विवाद सर्वोच्चसम्म पुगेको छ । 

नेकपाको विवादले यसरी चरम रूप लिई विभाजन भइसक्दा उपाध्यक्षसमेत रहेका वामदेव गौतम कुनै पक्षमा खुलिसकेका छैनन् । अर्थात् उनी अझै पनि विभाजित नेकपा एकताका लागि प्रयासरत छन् । 

उनी अझै नेकपा एकता जोगाउनका लागि तेस्रो धारका रूपमा सांगठानिक संरचना बनाइरहेका छन् । राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले गत बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै भनेका थिए, ‘पार्टी एकता अपरिहार्य छ।’

बामदेव कुनै पनि कित्तामा नखुल्नुको कारण संभवत: उनले सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय कुरेर बसेका छन् । एकताको कार्ड प्रयोग गरेर अहिले तटस्थ बस्नुको कारण जसको पक्षमा फैसला हुन्छ, उतै लाग्ने मनपस्थिति बनाएका छन् । यसरी धेरैले बुझेका छन् । यदि यसो नभई बामदेवले भनेजस्तै एकता अपरिहार्य छ, वा हुनुपर्छ भन्ने पक्षबाट हेर्ने हो भने नेकपाको एकता सम्भव होला त ?

कति सम्भव नेकपा एकता ?

एकताको माहौल बनाउन संगठनात्मक संरचना निर्माण गर्ने तयारीमा वामदेव छन् । यसमा उनले पार्टीको तेस्रो धारको नेतृत्व गर्ने अवसर पाएका छन् । यसअघि उनको गुट भए पनि सानो र सीमित नेता मात्र थिए । 

यदि उनले एकता जोगाउने पक्षमा अभियान सञ्चालन गरेका उनको पक्षमा थप केही हुन सक्लान् । तर उनी पार्टी एकता केका लागि भन्नेमा भने प्रस्ट छैनन् । जबकि गौतम प्रधानमन्त्री ओलीले चालेको कदमबारे पनि प्रस्ट छैनन् । 

आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरेका छन् । त्यसको संयोजक उनी आफैँ भएका छन्  । नेकपाको विभाजनपछि बामदेवले ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेपछि  फेरि पनि चर्चा हुन थालेको छ – ‘के फेरि नेकपाको एकता सम्भव छ ?’

गौतमले भनेझैँ तत्काल पार्टी एक हुन्छ भन्नेमा स्वयं विभाजित नेकपाका नेता विश्वस्त छैनन् । प्रचण्ड–नेपाल समूहको नेकपालाई कांग्रेससहित अरू दल र नागरिक समाजले समेत एकता हुन्छ भन्नेमा विश्वास गरिसकेका छैनन् । तर, यसअघि भने पार्टी विभाजनको मुखमै पुगेर धेरै पटक पार्टीमा फेरि एकता कायम भएको थियो । तर, संसद् विघटनपछिको अहिलेको अवस्थाको विभाजनपछिको एकता भने तत्काल सम्भव नरहेको विभिन्न घटनाक्रमहरूले प्रस्ट पारेको छ । 

पार्टीको सिद्धान्तभन्दा पनि पदीय भागबन्डा नमिलेर नेकपा विभाजनको आधार खडा भएको छ । त्यसमा अलिकति मात्र मिहिनेत गरे पार्टी एक हुनसक्ने आङ्कलन गौतमको छ । राष्ट्रियसभामा बामदेवले भनेका थिए ‘मलाई लाग्छ, पार्टी एकता अपरिहार्य छ । दुवै पक्षमा गल्ती–कमजोरी देखेको छु । तैपनि फेरि एकता गराउन सकिन्छ कि भनेर लागिरहेको छु । एक्लै एकताको माहौल बनाउन सकिन्न कि भनेर सङ्गठनात्मक संरचना निर्माण गरेर पनि जाने पक्षमा छु ।’ 

यता प्रचण्ड नेपाल पक्ष पनि अर्को पक्षले आत्मालोचना गरेमा फेरि एक हुनसक्ने बताउँदै आएका छन् । पुस १४ गते प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शनमा सो समूहका अध्यक्ष नेपालले भृकुटीमण्डपबाट भने, ‘हामीले केपी ओलीलाई अध्यक्षबाट मात्र हटाएको हो, सच्चिएर आउँछन् भने पार्टीले अझै स्वागत गर्न तयार छ ।’

यता ओली पक्षले पनि अर्को पक्षले गल्ती सच्याएमा पार्टी एक हुने सम्भावना रहेको बताउँदै आएका छन् । पुस १४ गते नै कपिलवस्तुमा ओली समूहका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भने, ‘प्रचण्डको आरोप पत्र फिर्ता हुन्छ भने पार्टी एक हुने सम्भावना रहन्छ ।’

यही कुरा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि भनिरहेका छन् । पुस १५ गते प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका नेताहरूले काठमाडौंमा गरेका भेलामा भने, ‘उहाँहरू आउनुहुन्छ र चुनाव लडेर अध्यक्ष लिनुहुन्छ भने म नेतृत्व छोड्न तयार छु ।

शुक्रबार राष्ट्रियसभामा नेकपा सचिवालय सदस्यसमेत रहेका दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ थियो, ‘प्रधानमन्त्रीज्यू प्रतिनिधिसभा विघटन गलत थियो भनेर आत्म आलोचनासहित आउनुहुन्छ भने नयाँ सिलसिला सुरु हुन्छ ।’ 


कस्तो लाग्यो ?

यो पनि