चैत १६, २०८०, शुक्रबार
               

"सोल" हरेक दृष्टिले लायक चलचित्र

नवीन रायमाझी
पुस २४, २०७७

ADVERTISEMENT

चलनचल्तीको भाषामा कार्टुन भनिने एनिमेसन चलचित्र बाल बालिका बिच निकै लोकप्रिय छ । म सानो हुँदा नेपालमा यस्तो चलचित्रको उपलब्धता त्यति सहज थिएन । यस्ता एनिमेसन फिल्महरू हाल कुनै खास उमेर समूहको रोजाइमा मात्र पर्दैन । के बालक के वृद्ध हरेक वर्ग माझ यस्ता चलचित्र लोकप्रिय हुँदै गइरहेका छन् । 

"मनसटर्स इङ्क", "इनसाइड आउट" र "अप" जस्ता जीवन दर्शनको निकट रहेका सिनेमाबाट ओस्कार अवार्ड जितेका निर्देशक पिट डक्टरले "सोल" नामको चलचित्र निर्माण गरेका छन् छन् । बाउ छोरा बिचको संवाद मार्फत धार्मिक गाथा सम्झाउने यो चलचित्र यहुदी र इसाई धर्मको कडी भए पनि एक पटक हेर्न लायक छ ।

मृत्यु हुनुभन्दा पहिले एक आत्मा पुरानो शरीर छोडेर नयाँ शरीर मा प्रवेश गर्छ वा उसले अर्कै नयाँ जीवन सुरु गर्छ जस्ता प्रसङ्गलाई हास्य रसमा मुछेर प्रस्तुत गरिएको यो चलचित्र सपरिवार बसेर हेर्न सकिन्छ । साथै यो चलचित्र सिने प्रेमीका लागि नयाँ वर्ष को उपहार पनि हुन सक्छ ।

चलचित्रको कथा अनुसार एउटा आत्मा शरीरमा कसरी भित्रिन्छ र कसरी बाहिर निस्कन्छ भने देखाइएको छ । यसका साथै पार्ट टाइमबाट फुल टाइम म्युजिक टिचर बनेको मान्छेको एउटा कन्सर्टमा गीत गाउन पाए चमत्कार गरिदिन्छु भन्ने अभिलाषा र कुकुरले लखेटेर भाग्दा ढलमा खस्न पुगेर शरीर एकातिर र आत्मा अर्कोतिर भएको विषय रमाइलोसँग प्रस्तुत गरिएको छ ।

चलचित्रको सबैभन्दा सशक्त पक्ष यसको पटकथा र संवाद हो. "अप" र "इनसाइड आउट" नामक सिनेमाबाट दुई पटक ओस्कार पुरस्कार जितेका निर्देशक डक्टर विभिन्न वर्ग र उमेर समूहका दर्शकलाई कसरी बाँधेर राख्ने भन्ने कुरामा पोख्त छन् । यसैगरी उनले यो चलचित्रमा अब्राहम लिङ्कन देखि मदर टेरेसासम्मको आत्माले यो संसारमा किन प्रवेश गर्‍यो भन्ने कुरा रोचक तरिकाले प्रस्तुत गरेका छन् ।

यो चलचित्रको सम्पूर्ण एनिमेसन कम्प्युटरको माध्यमबाट गरिएको हो र यसमा कतै पनि कागजमा चित्र कोरेर नबनाएको कारण एनिमेसन अत्यन्तै प्रस्ट छ । यसका साथै सिनेमाको ध्वनि र पार्श्व सङ्गीत पनि निकै उच्च स्तरको छ । पात्रहरूले बोलेको संवाद प्रस्ट हुनाले दर्शकलाई थप मनोरञ्जन प्राप्त हुन्छ ।

पात्रहरूको आवाजमा गार्डनरको जिम्मी फक्स र २२ को टिना फे को छ । उनीहरूको संवाद मा भएको घोच पेचले दर्शकलाई आनन्द दिन्छ । ट्रेन्ट रेजनर र एटिकस रसको सङ्गीत कर्णप्रिय छ । सिनेमाको नायक गार्डनर गायक भएको कारण पनि सिनेमाको सङ्गीत कर्णप्रिय हुनु जरुरी थियो । अन्य पात्रहरूको आवाज क्वेस्ट लब, फेलिसिया रसद, डेबिड डिग्स, एन्जेला बेस्ट आदिले दिएका छन्, जुन उत्कृष्ट छ ।

एनिमेसन चलचित्रमा सिनेमोटोग्राफीको ठुलो महत्त्व हुन्छ र यो क्षेत्रको जिम्मा लिने म्याट अस्पबरी र इयान मेग्बिनले कुशलता पूर्वक प्रशंसा लायक छ । सिनेमामा निरन्तर रोमाञ्चकता पस्कन सम्पादक केबिन नल्टिङ्गको प्रयासले चलचित्रलाई थप मनोरञ्जक बनाएको छ ।

क्रिसमसको समयमा प्रदर्शनमा आएको यो चलचित्र पङ्क्तिकारको नजरमा बितेको अङ्ग्रेजी वर्ष कै उत्कृष्ट सिनेमा हो । सिनेमाको मुख्य पात्र २२ (ट्वाण्टि टु) आफ्नो एउटै संवादले जिन्दगीको मर्म बुझाउन सफल छन् । उनले बोल्ने "ट्याग लाइन" "डन्ट वरी, यु कान्ट क्रस अ सोल हेयर, देट्स ह्वाट लाइफ अन अर्थ इज फार" अर्थात " चिन्ता लिनु पर्दैन, यहाँ तिमीले कसैको आत्मालाई कुल्चेर हिँड्न सक्दैनौ, यो आत्मा धर्तीमा जिन्दगी को उद्देश्य हो" ।

यहाँ हास्य प्रधान चलचित्रको पारखी हो भने यो सिनेमा एक पटक अवश्य हेर्नुहोला, प्रशस्त मनोरञ्जन बटुल्न पाइन्छ ।

 

राजनीति, कला-साहित्यमा कलम चलाउने पत्रकार रायमाझी हाल अमेरिकामा बसोबास गर्छन् ।

कस्तो लाग्यो ?

यो पनि