बैशाख १४, २०८१, शुक्रबार
               

अन्ततः हार स्वीकार्दै ट्रम्पले भने : बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु (भिडियो)

एजेन्सी
पुस २४, २०७७

ADVERTISEMENT

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः चुनावमा आफ्नो हार स्वीकार गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

बिहीबार ट्रम्पले बाइडेन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा भिडियो सन्देश पोस्ट गर्दै उनले यस्तो बताएका हुन् । बुधबार ट्रम्पका समर्थकहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाको संसद् भवन क्यापिटल हिलमा हिंसात्मक प्रदर्शन गरेका थिए ।

बुधबार अमेरिकी संसद् बैठकमा बाइडेनको चुनावी जित प्रमाणित गर्ने विषयमा छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि ट्रम्पको व्यापक आलोचना भइरहेको छ।

विपक्षी सांसदले उनलाई तत्काल पदबाट हटाउनुपर्ने माग गर्दै अन्यथा महाभियोग लगाउने चेतावनी समेत दिइरहेका छन् । 

यहीबीच ट्रम्पले पहिलोपटक आफ्नो पराजय स्वीकार गरेका हुन् । भिडियोमा उनले भनेका छन्, ‘कंग्रेस (संसद्) ले चुनावी नतिजा प्रमाणित गरिसकेको छ । अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दै छ । अब मेरो ध्यान शान्तिपूर्ण र विधिपूर्वक सत्ता हस्तान्तरणमा केन्द्रित हुनेछ ।’

साथै उनले संसद् भवनभित्र आक्रमण गर्ने मानिस आफ्ना समर्थक नभएको दाबी पनि गरेका छन् । त्यो भीड रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको उनको दाबी छ ।

उनले भनेका छन्, ‘अमेरिका सधैं विधि र कानुनमा चल्ने देश हो । क्यापिटल हिल्स (संसद् भवन) मा भएको हिंसात्मक आक्रमणमा संलग्न व्यक्तिले अमेरिकाको प्रतिनिधित्व गर्दैनन् ।’ 

साथै उनले अबको समय पीडामा मलम लगाउने र मेलमिलापको समय भएको समेत बताएका छन् । 

यसअघि उनले चुनावमा धाँधली भएको आरोप लगाउँदै बाइडेनको जित अस्वीकार गरिरहेका थिए । मत बदरको माग गर्दै उनले अदालतमा मुद्दासमेत हालेका थिए । 

तर प्रमाणका अभावमा अदालतले उनका उजुरी नै खारेज गरिदिए ।


कस्तो लाग्यो ?

यो पनि