बैशाख ०८, २०८१, शनिबार
               

अंग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि आउँदो वर्ष थप उचाइमा पुग्ने बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विकास र समृद्धिका लागि बसालेको जग अर्को नयाँ वर्षको संघारमा पुग्दा थप उचाइमा पुग्ने बताएका हुन् ।

प्रधानमन्त्रीले आउँदा दिनमा राष्ट्रिय आकांक्षा पूरा गर्न संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने दाबी गरे ।

प्रधानमन्त्रीले राष्ट्रियता पनि अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा तथा राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभियानमा सबै पेसा, क्षेत्र, वर्ग र समुदायको साथ पाउने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको सन्देश  :

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

ग्रेगोरियन क्यालेण्डर अथवा इस्वी सम्वतको पात्रो अनुसार प्रत्येक वर्षको जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रूपमा मनाइन्छ । वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्वतलाई हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रूपमा मनाउँछौँ ।

भर्खरै बिदा भएको सन् २०२० मा हामीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नु पर्‍यो । यसले हाम्रो स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पुर्‍यायो । संसारका साधन, स्रोत, प्रविधि र शक्ति सम्पन्न मानिएका देशहरूले समेत यस महामारीका कारण हाम्रोभन्दा कयौं गुणा बढी क्षति बेहोर्नु पर्‍यो ।

हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं । यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु ।

दिदीबहिनी तथा दाजुभाइहरू, भर्खरै बिदा भएको सन् २०२० मा नेपाललाई हामीले निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको देशका रूपमा स्थापित गर्न सफल भएका छौं । संयुक्त राष्ट्रसंघको विकास लक्ष्य अनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको देशमा वर्गाेत्थान गर्ने सफलतातर्फ हामी उन्मूख छौं ।

बितेको वर्षमा हामीले देशमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं । पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएका छौं ।

हामीले यही अवधिमा विकासका केही दूरगामी योजनाहरू थालनी गर्‍यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महशुस गराउने केही आयोजनाहरू सम्पन्न गर्‍यौं । पाँच वर्ष अघिको विनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरूको पुनःनिर्माणलाई एकाध बाहेक निश्कर्षमा पुर्‍याउने सफलता प्राप्त गरेका छौं ।

व्यवसायका लागि सुरक्षित राष्ट्रका रूपमा हाम्रो स्थान केहीमाथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही वृद्धि गरी हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं । फलस्वरूप आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्ति सुशासन र समृद्धितर्फको बहसमा केन्द्रीत हुन थालेको छ ।

दिदीबहिनी तथा दाजुभाइहरू, हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेका छौं । समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ । तर, अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको देशलाई विकास र समृद्धिमा लैजाने काममा हामीले अनेक व्यवधानहरूको सामना गर्नु पर्‍यो ।

यसका बावजुद देश निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिहरूका निजी आकाङ्क्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौं ।

आउँदाे दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यवहारिक रूपमा सबलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्दै छौं । हामीले  देश र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तव्यतर्फ थप गतिशील बनाएका छौं ।

राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आउँदाे वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्नेछन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग अझ देखिनेगरी थप उचाइमा पुग्नेछ । राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुको अझ नजिक पुग्नेछ ।

आउँदाे वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ । हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्तविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं । भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं ।

राष्ट्रिय समृद्धिका यी पाइलाहरूलाई उचाइमा पुर्‍याउने सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । अन्त्यमा, नयाँ वर्ष २०२१ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यका लागि पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !


कस्तो लाग्यो ?

यो पनि