बैशाख १३, २०८१, बिहीबार
               

गायक मन्त्री रामवीर मानन्धर, जसले राखे विश्व कीर्तिमान

ADVERTISEMENT

मञ्चमा मयलपोस दौरा सुरुवाल, सुनौलो कलरको कोट र भादगाउँले टोपी लगाएका गायकले प्रस्तुति दिँदै थिए । ‘देशले रगत मागे मलाई बली चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठुला ठुला महल होइन’ लगायतका स्वदेश गान, आधुनिक गीत, नेवारी भाषा गीत गायकले गाइरहेका थिए ।

गीतको तालमा दर्शक दीर्घामा छमछमी नाच्नेहरूको भीड थियो । बालाजु बाइपासस्थित अष्टनारायण फिल्म हलमा शुक्रवार दिउँसो देखिएको दृश्य थियो त्यो ।

‘हैट ! मन्त्रीले गर्न पनि के–के भ्या’का । उहाँले नजानेको र नगरेको कामै छैन ’ अगाडि मञ्चतिर हेर्दै साङ्गीतिक प्रस्तुतिको मनोरञ्जन लिई रहेका दर्शकहरू आपसमा भन्दै थिए ।  

मञ्चमा गीत गाएर दर्शकलाई नचाउने गायक कुनै कलाकार थिएनन् । उनी थिए वर्तमान मन्त्रीपरिषद्का एक जना सदस्य । उनी हुन्, सहरी बिकासमन्त्री रामवीर मानन्धर । उनको परिचय यतिमा मात्र सीमित छैन, काठमाडौँ क्षेत्र नम्बर ७ बाट लगातार चुनाव जित्दै आएका जनप्रतिनिधि पनि हुन् उनी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य पनि हुन् उनी ।

सङ्गीतमा रुचि नहुने को होला र ? तर, गीत सुन्ने भन्ने कुरा एउटा हो । तर गीत सुनेपछि पछ्याउने र गाउनु फरक पाटो हो । यसैले गीत त सबैले सुन्छन् तर अक्सर कमैले त्यसलाई पछ्याउँछन् र गाउँछन् । त्यसमापनि गीत गाउने राजनीतिज्ञ एकाध मात्रै छन् ।

अनि आयो गीत गाउने जाँगर 

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेका छन् । त्यसप्रति असन्तुष्टि हुने पक्षहरूले अदालतमा मुद्दा हालेका छन् । सडकमा आन्दोलन तताएका छन् । सत्तारुढ दल नेकपा विभाजन भएको छ । प्रधानमन्त्री ओली र अर्को पक्ष प्रचण्ड-माधवकुमार नेपाल पक्ष आ-आफ्नै भेलामा व्यस्त छन् । प्रचण्ड-नेपाल पक्ष सडक आन्दोलनमा समेत छ ।

प्रधानमन्त्री ओली पक्ष आ-आफ्नै रणनीति अख्तियार गर्न व्यस्त छ । पार्टीभित्र चुलिएको विवाद, कित्ताकाट, गुट–उपगुट, समस्या समाधानका नाममा हुने बैठक, विभिन्न कार्यक्रम, भेला, आन्दोलन अन्तर्वार्ता आदिका कारण नेता, मन्त्रीहरूको दैनिकी निकै व्यस्त हुँदै आएको छ ।

यता, प्रधानमन्त्री ओली निकट नेता, ओलीकै मन्त्रीपरिषद्कै सदस्य उनै रामवीर मानन्धरलाई भने साङ्गीतिक कार्यक्रममा व्यस्त थिए । यत्तिका व्यस्तताबीच नेतालाई गीत गाउने जाँगर किन आयो ? राजनीति गरे भइजान्थ्यो नि ! 

तर शुक्रवार आयोजित साङ्गीतिक कार्यक्रम चानचुने थिएन । त्यो त गिनिज बुकमा नाम लेखाउने कार्यक्रम थियो । राज्यमन्त्री मानन्धरलाई 'एकल गायनमा विश्व रेकर्ड' आफ्नो नाममा (विश्व रेकर्ड) दर्ज गराउनु थियो । ‘लामो समय एकल गायन गर्ने विश्वकै पहिलो मन्त्री’ को सूचीमा गनिजि वर्ल्ड बुक अफ रेकर्डमा आफ्नो र नेपालको नाम लेखाउनु थियो । त्यसैले राजनीतिक उथलपुथल भएको समयमा पनि मानन्धरले सो कार्यक्रम गरेका थिए । 

कला संस्कृति अन्तर्राष्ट्रिय स्तरमा चिनाउने चाहना

मानन्धरलाई पनि राजनीतिक चटारो नभएको होइन, खुबै छ । यता बिहानदेखि रातिसम्म पार्टीको बैठक, उता राज्यमन्त्रीको भूमिका । त्यति मात्र होइन जनप्रतिनिधि भएपछि मतदाताका गुनासाहरू थुप्रै हुन्छन्, त्यो सम्बोधन गर्नै पर्ने हुन्छ । अझ उनकोमा त  बिहान नउठ्दै झिसमिसेमै ओछ्यानमै आइपुग्छन् सर्वसाधारण तथा कार्यकर्ताहरू । मतदाता, कार्यकर्ताहरूबाट टाढा नबसौँ भन्ने मनसायले उनले सरकारले मन्त्रिपरिषद सदस्यलाई दिने आवास सुविधा समेत लिएका छैनन् ।

शासक तथा नेताहरूले राजनीतिक चटारोलाई मात्र केन्द्रमा राखेका कारण नै समाजका अरू विषय छायाँमा परेको राज्यमन्त्री मानन्धरको भनाई छ । अरू समस्या तथा घटनालाई ठम्याउन, पर्गेल्न राजनीतिक मात्र होइन सबै थोक जान्न र गर्नुपर्ने उनको अनुभव छ । राजनीतिले मात्रै नेपालको कला र सङ्गीत विश्वलाई चिनाउन नसकिने हुनाले फरक प्रयास र अभ्यास गरिएको राज्यमन्त्री मानन्धर बताउँछन् ।

‘राजनीतिको चटारो एक ठाउँमा छ, तर सामाजिक पाटो पनि सोच्नुपर्छ, मुलुक र मुलुकको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्छ भन्ने मान्यता मेरो हो,’ आफूले गिनिजबुकमा नाम लेखाउनुको कारण प्रस्ट्याउँदै मानन्धर भन्छन्  ‘राजनीतिक चटारो एउटा ठाउँमा छ । त्यो जिम्मेवारीको कुरा हो । तर, गिनिजबुको रूपमा मैले मात्र होइन, विश्वमाझ नेपालकै नाम उचो बनाएको छु । राजनीतिबाट पनि र एउटा नागरिकको तर्फबाट पनि मेरो प्रमुख जिम्मेवारी यही हो । अन्य कुरा तपसिलका हुन् ।’

गीत गाउने विश्वकै पहिलो मन्त्री

शुक्रवार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घण्टा ५  मिनेट २० सेकेन्ड गीत गाएर  विश्व रेकर्ड कायम गरेका छन् । यस क्रममा ५९ ओटा गीत गाए । मन्त्री मानन्धरले सबै गीतहरूको रोयल्टीसमेत तिरेका छन् । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरू गाए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा मन्त्री मानन्धरले गाए । मानन्धरले  ‘देशले रगत मागे मलाई बली चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठुला ठुला महल होइन’ लगायतका गीत गाएका थिए ।

‘मन्त्रीको एकल गायन’ विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलो पटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ । बेलायतमा मुख्यालय रहेको वल्ड बुक अफ रेकर्डले मन्त्री मानन्धरको रेकर्ड विश्वकै पहिलो भएको जानकारी दिएको छ ।

रामवीरको फ्ल्यासब्याक

राजनीति त उनको मूल कर्म भई नै हाल्यो, यससँगै उनी पहिल्यै देखी नै साहित्य र सङ्गीतमा पनि क्रियाशील छन् । राज्यमन्त्री मानन्धर सानैदेखि क्रान्तिकारी स्वभावका थिए । परिवर्तनका खातिर लेखिएका गीतले उनको ध्यान तान्थ्यो । यसको अर्थ उनी सानैदेखि प्रगतिशील धारका गीत–सङ्गीत, कविता सुन्न र लेख्न रुचाउँथे । सानैदेखि कम्युनिस्ट आन्दोलनको पक्षमा उभिएका उनी राजनीतिक रूपमा  सक्रिय भएर लागे ।

युवा अवस्थामा कुशल नेतृत्व क्षमता प्रदर्शन गरेकै कारण उनी ठुलो जनमतसहित वडाअध्य भएका थिए । राज्यमन्त्री मानन्धरको परिचय ०७० सालसम्म वडाध्यक्षमा सीमित थियो । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा दुई पटक वडाध्यक्ष निर्वाचित भएका मानन्धर तत्कालीन एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य थिए ।

जनस्तरमा राम्रो छवि भएको र सबैले गन्नेमान्ने भएकै कारण २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेबाट टिकट पाए । जनताको घरदैलोमा चहार्दै समस्या समाधानमा लाग्दै आएका उनले राम्रो मतान्तरमा जिते ।

पार्टीमा उनी प्रधानमन्त्री केपी ओली पक्षमा सधैँ खरोरुपमा प्रस्तुत हुन्थे । दोस्रो संविधानसभामा संसदीय समितिमा उनको भूमिकाको अहिले पनि खुलेर प्रशंसा हुने गरेको छ । विशेषतः आयल निगमको जग्गा खरिद प्रकरणको अनुसन्धानमा उनको भूमिकाको चर्चा र उदाहरण हुने गरेको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा उनलाई मेयरको उम्मेदवार बनाउन पार्टीमा निकै पहल भयो । काठमाडौँबाट चुनाव जित्ने अनुहार खोजिगर्दा मानन्धरको नाम धेरैले सिफारिस गरेका थिए । तर, मानन्धरकै आग्रह र दबाबमा विद्यासुन्दर शाक्यले टिकट पाए । उनी काठमाडौँको मेयरमा पनि निर्वाचित भए ।

मानन्धरलाई भने पार्टीले काठमाडौँ क्षेत्र नम्बर ७ बाट पुन संसदीय निर्वाचनमै टिकट दियो । उनले झन् ठूलो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । उनी अहिले सहरी विकास राज्यमन्त्री समेत छन् ।

पद, पैसा र पावरभन्दा जनताको सेवक हुन रुचाउने मानन्धर एकताका ठुलो जनमतसहित आफूले पाएको सांसद पद त्याग्न समेत तयार भएका थिए । पार्टीका नेता वामदेव गौतमका लागि मानन्धरले आफू राजीनामा गर्न तयार रहेको पत्र पार्टी अध्यक्ष प्रचण्डमार्फत नेकपाको सचिवालय बैठकमा पठाएका थिए । उनको सो प्रस्तावपछि नेकपामा ठूलो खैलाबैला मच्चिएको थियो । 

त्यसमा उनको एक मात्र कारण थियो, पार्टी एकता बलियो होस् । यदि आफूले आफ्नो क्षेत्र छाडे पनि बामदेवले चुनाव जितुन् । यदि बामदेव प्रधानमन्त्री भए भने आफ्नो क्षेत्रको बाँकी विकासका काम छिटो अघि बढेस्’ भन्ने मानन्धरको चाहना थियो । अन्ततः मानन्धनरकोे राजीनामा अस्वीकृत भयो । वामदेवको काठमाडौँ ७ बाट चुनाव लड्ने ‘च्याप्टर क्लोज’ भयो ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि