बैशाख ११, २०८१, मंगलबार
               

संसद पुनर्स्थापित गराइ नयाँ सरकार बनाउँछौँ : दाहाल

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार प्रचण्ड- माधव समूहका सांसदको बैठकमा उनले सो कुरा बताएका हुन् । संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने उनको भनाइ छ । 

त्यसैगरी, उनले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘अरु संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं,’ उनले भने ।

प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरु नै वैधानिक र ठूलो दल भएको बताए । ‘संसदीय दलमा पनि ११५ अहिले नै सहभागी हुनुहुन्छ र अरु केही सांसदहरुले हस्ताक्षर गर्ने वचन दिनुभएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौँ’ उनले भने, ‘सबैभन्दा ठूलो दल यसले पनि पुष्टि गर्छ ।’

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै उनले संविधानसभाबाट प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर लेखेको स्मरण गरे । त्यसैगरी, उनले संसद विघटन पछाडि ठूलै शक्तिको चलखेल रहेको बताए । नेपालको संसद विघटनलाई विश्वले नियालिरहेको पनि उनको भनाइ थियो । 

पुस ५मा मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपतिले संसद विघटन भएको घोषणा गरेकी छन् । त्यसयता नेकपा दुई समूहमा विभाजन भएको छ । विभाजित दुई समूहमध्ये एकको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नै गरेका छन् भने अर्कोको नेतृत्व माधव नेपाल तथा पुष्पकमल दाहालले गरेका छन् । 

नेकपा दुई धारमा विभाजन भएसँगै दुवैले आ-आफ्ना भेला तथा धारका भेलालाई प्रश्रय दिएका छन् । त्यसैक्रममा मंगलबार दुवै पक्षले केन्द्रीय कमिटीको बैठक बस्यो । आज माधव-प्रचण्ड पक्षका संसदहरुको पनि बैठक बसेको छ । सो बैठकले अवैधानिक रुपले विघटन गरेको संसद पुनर्स्थापित गर्ने घोषणा गरेको छ । 

त्यसैगरी, केपी शर्मा ओली नेतृत्वको नेकपाले प्रदेशस्तरमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीति बनाएको छ । सो क्रममा उसले प्रदेश १ बाट प्रशिक्षण कार्यक्रम गर्ने रणनीति बनाएको छ ।     

यो पनि