माघ ०५, २०७७, सोमबार
               

लाग्न थालेको छ, खै किन स्विकारेँ परिवर्तनहरू?

चेतन पाण्डे
पुस ०८, २०७७

फेरि एक पटक सपना तुहिएका छन् । शायद अर्को सपनाले जन्म लिन्छ नै होला, हिजो अस्ति जस्तै । एउटा मृत्युसँग अर्को जीवनको प्रारम्भ हुनु प्राकृतिक नियम हो । त्यसैले एउटा सपनाको अवसानसँगै अर्को जन्मिनु स्वाभाविकै हो ।

म र मेरा जस्ता करोडौँ आँखाले यहाँ अनेकौँ सपना देखेका छन् । तर, ती सबै बिपनासँगै हराइ मात्र रहेका छन् । कहिले आफैँले आफैँलाई सपना देखाइयो त कहिले परचक्रीले देखाए । तर, आँखाको नींदसँगै कतै हराइ रहेका छन् । मेरा सपना, यो धर्तीका सन्तानका सपना । बिहानी छिप्पिन नपाउँदै मरेर जान्छन् । मेरा सपना, हाम्रा सपना । त्यसैले अब हरेक सपना पराइ झैँ लाग्न थालेको छ । अनि हरेक आश्वासन झूट झैँ ।

०००

यो मुलुकमा हामीले समृद्धिका अनेकौँ सपना देख्यौँ । सन्तानका भविष्यका खातिर भनेर बाउ पुर्खाले जवानी नै खाडीको तातो बालुवामा यौवन जलाए । तर, न देशले समृद्ध बन्न सक्यो, नत जनताका मुहारमा हाँसो छाउन । त्यसैले अहिले छोरा पुस्ता पनि अध्यागमनको लाइनमा बस्न बाध्य छ । बाउले उसका लागि देखेका सपना सापटी लिएर । शायद भोलि उसको छोरा पनि बस्छ होला, त्यही अध्यागमनको लाइनमा ।

सबैको मनमा सिंहदरबारको घुम्ने कुर्सीमा बसेर बालुवाटारको सानदार बिछ्यौनामा सुत्ने रहर मात्र पलाउँदो रहेछ । उसले जवानी गरेका त्याग र सङ्घर्ष त बस् निजी अभीष्ट पुरा भर्‍याङ बन्दो रहेछ ।

त्यसै भन्दैनन् रहेछन्, बुढापाका यो धर्तीलाई ‘सतीले सरापेको’ । वास्तव मै यो मुलुकलाई बनाउँछु भनेर मन, वचन र कर्मले लाग्ने कोही रहेनछ । सबैको मनमा सिंहदरबारको घुम्ने कुर्सीमा बसेर बालुवाटारको सानदार बिछ्यौनामा सुत्ने रहर मात्र पलाउँदो रहेछ । उसले जवानी गरेका त्याग र सङ्घर्ष त बस् निजी अभीष्ट पुरा भर्‍याङ बन्दो रहेछ । अनुहारको चाउरीसँगै मानिसमा किन बढ्छ महत्वांकाक्षाको भोक ? आजसम्म बुझ्न सकेको छैन । यहाँ न देश माया नत जनताको । त्यसैले त आसेपासेलाई मह काढ्दा औँलामा टाँसिएका केही थोपा गुलियो चटाउँदा मुहारमा छल्किने मुस्कानले शासकको अहम्को मात्रा वर्णन गर्दो रहेछ । आज बालुवाटारमा यस्तै दृश्य मञ्चन हुँदै छ । जसरी हिजो पनि हुन्थे । बस्, फरक छ त, मह चटाउने र चाट्ने पात्रमा मात्र ।

जनताका जहान–परिवार भने कहिले खाडीबाट आएको पैसाले छत टाल्छन् त कहिले भित्ताको लिउनमा कमेरो पोत्छन् । ढल्न लागेको भित्तालाई अड्याउन वर्षौँ अगाडि ठड्याइएको टेको झिक्ने क्षमता बनाउन अपहले पनि सकेको छैन खाडीको पाहुनाले । बस्, कुनै दिन खबर आउँछ । यो भूमिको अर्को एउटा छोरो बाकसमा बन्द हुँदै छ । आउँदै छ, जन्मेको माटो मै विलीन हुन ।

यस्तै छ, यो देशका जनताको हाल । 

खान नपाएर हैन, खान पाउनेका सन्तान पनि उभिँदै छन् अब अध्यागमनको लाइनमा । किनकि हामीले भोट दिएको सरकार लाचार छ । हामीलाई भोक दिँदै छ । न रोजगारी सिर्जना गर्न सक्छ, न त उनीहरूको सपनामा ओत दिन सक्छ । कतै हराइ रहेको छ, यो मुलुकको शासन र शासक । भ्रष्टाचार र अनियमितताको आहालमा । हुन त प्रतिपक्षको कुर्सीमा बस्नेहरूले कहिले काहीँ चिच्याएको पनि सुनिन्छ । अब त हाम्रो संसद् भवनलाई पनि मुर्दा घाट बनाइएको छ । जहाँ जनताका आवाज केही मात्रा भए पनि सुनिन्थ्यो, त्यहाँबाट आउने ध्वनि हाम्रा प्रधानमन्त्री र राष्ट्रपतिलाई मन परेनछ । त्यसैले अहिले जनताको मतलाई रेटिएको छ । अनि कोही बालुवाटारमा बसेर भयङ्कर हाँसो छाडि रहेका छन् । अनि कोही रुन्चे मुख लिएर अदालतको शरणार्थी बनेका छन् । बस्, सबै खेल कुर्सीको ।

मैले मेरो मत यो मुलुकको समृद्धिसँग साटेको थिएँ । मैले मेरो मत मेरै सपना साकार बनाउन सुम्पिएको थिएँ । अनि मेरो मत खाडीको रापले जलिरहेका दाजुभाइको आँसु पुछ्ने वचनसँग साटेको थिएँ । मेरा सन्तानको भविष्यका लागि सुम्पिएको थिएँ । तर, सबै मिथ्या रहेछ । मैले आफ्नो र सन्तानको भविष्य बन्धक पो राखेको रहेछु । मेरा शासकहरूको अभीष्ट साकार बनाउन । मैले मेरो इतिहासलाई मेटेको रहेछु, झन् डरलाग्दो इतिहासको रचना गर्न ।

निदाएर उठ्दा मेरो मातृभूमि कुन दुःस्वप्नको भुमरीमा फस्ने हो ? मन काँप्न थालेको छ । म मेरा बाँकी सपना पशुपतिनाथको भरोसा छाड्न सक्छु ।

यो मुलुकको समृद्धिका खातिर मैले अनगिन्ती परिवर्तनलाई सहजै स्विकारेँ । गणतन्त्र स्विकारेँ, धर्म निरपेक्षता स्विकारेँ । तर, गल्ती गरेको रहेछु । मैले स्विकार्न हुँदैन थियो, एउटा राजाको सट्टामा सयौँ राजा । मेरो धर्मको सट्टामा अनगिन्ती धर्म । त्यसैले म हिजो जति खुसी थिएँ, आज त्यति नै खुसी हुन सकिरहेको छैन । किनकि मनलाई मस्तिष्कको भाषा बुझाउन खोज्दा आफैँ हराएको छु, आज आफ्नै सपनाको भुलभुलैयामा । 

त्यसैले अब मलाई सपना हेर्न पनि डर लाग्न थालेको छ । निदाएर उठ्दा मेरो मातृभूमि कुन दुःस्वप्नको भुमरीमा फस्ने हो ? मन काँप्न थालेको छ । म मेरा बाँकी सपना पशुपतिनाथको भरोसा छाड्न सक्छु । तर बस्, मेरो स्वाभिमानको सगरमाथामा कसैले बम नपड्काओस् । मेरो राष्ट्रियतासँग कसैले खेलबाड नगरोस् । 

अनि एउटै चाहना छ, मलाई नेपाली नै बनेर मर्नु छ । बस्, मेरो धर्तीमा कुनै विदेशीले झन्डा नगाडोस् । अब यही एउटा मात्र सपना जिउँदो छ । बाँकी त नेताहरूको स्वार्थसँगै सती गई सकेका छन् । अनि मेरा दाजुभाइका सपना कफनसँगै बस्ती बस्तीमा भित्री नै रहेका छन् । त्यही कफन बोकेर आउने विमानसँगै अर्को सपना विदेशी रहेकै छ । रोकिँदैन यो क्रम, जबसम्म सुध्रिँदैनन् यो मुलुकमा शासक । जनताका सपना बेच्न सिपालुहरू । 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि