बैशाख ०७, २०८१, शुक्रबार
               

नारी वा पुरुष होइन मानवतावादी भएर सोच्ने कि!

सुगिता श्रेष्ठ
पुस ०२, २०७७

ADVERTISEMENT

समयसँगै हाम्रो समाजको स्वरूप र सोचमा केही परिवर्तन आइसकेको छ । केही परिवर्तनतर्फ अग्रसर छन् । समाजको परिवर्तनसँगै नारी र पुरुषको भूमिकामा पनि निकै परिवर्तन आइसकेको छ ।

तर, अझै पनि नारी सशक्तीकरण समाजका लागि दरिलो चुनौती बनेर उभि नै रहेको छ । नारी सक्षम हुनु पर्छ । समाजमा उसको अधिकार र स्थान पुरुष समान हुनै पर्दछ । तर, कता कता यो विषय सकारात्मक ढङ्गले भन्दा नकारात्मक ढङ्गले अघि बढिरहेको यथार्थलाई पनि नकार्न पक्कै सकिँदैन ।

समाजलाई सकारात्मक सोचका साथ जागरूक पार्न बनाइएका नीति नियम कानुनहरू कैयौँ अवस्थामा गलत रूपमा प्रयोग हुँदा त्यसले नकारात्मक नतिजा दिएको विषयमा सबैले ध्यान दिन जरुरी छ ।

यही कानुन व्यावहारिक रूपमा कतिपय ठाउँ र परिस्थितिमा लागु हुन नसक्दा नारी समानताको विषय यथास्थिति मै रहेको छ।

महिला हुन् वा पुरुष, सर्वप्रथम ती मानव हुन् । यही समाजका बासिन्दा । यस समाजका हरेक उपस्थितिमा उनीहरूको समान अधिकार छ । तर, त्यही अधिकार प्रयोगमा कतै हामी अनुदार त बनिरहेका छैनौँ ? जहाँ महिला र पुरुषको हक, अधिकारमा समानताको विषय उठान हुन्छ । त्यहाँ हामी किन सधैँ महिला अधिकारलाई मात्र प्राथमिकता दिएर चर्चा गर्छौँ ? पुरुष अधिकारको विषयमा कहीँ कतै चर्चा भएको पाइन्न । जसको फलस्वरूप कतिपय स्थितिमा पुरुषको अधिकारको विषय गौण हुन गएको देखिन्छ ।

न्यायिक रूपमा सोच्ने हो भने सबैभन्दा पहिले मानवअधिकारलाई प्राथमिकता दिन जरुरी छ। अनि मात्र महिला वा पुरुषको समान अधिकारलाई । सामाजिक बनौटका आधारमा भन्ने हो भने त हाम्रो समाजमा परापूर्व कालदेखि पुरुषको एकाधिकार कायम छ । जसले गर्दा कैयौँ अवस्थामा नारी अन्यायमा पर्दै आएको कुराबाट पनि मुख बटार्न सकिँदैन । यही कारण नारी सशक्तीकरणको लागि नारी मैत्री कानुन बनेका छन् । तर, यही कानुन व्यावहारिक रूपमा कतिपय ठाउँ र परिस्थितिमा लागु हुन नसक्दा नारी समानताको विषय यथास्थिति मै रहेको छ।

अर्को तिर महिला सशक्तीकरणको सकारात्मक उपलब्धिको फाइदा गलत प्रवृत्ति भएकाले पनि उठाउँदै आएको देख्न सक्छौँ । नारीमैत्री कानुनमा टेकेर कतिपय अवस्थामा पुरुषमाथि कुत्सित नियतले प्रहार हुँदै आएको देखिएकै छ ।

सन्दर्भ, बलात्कार मुद्दाको

आजभोलि अति नै बलात्कारका घटनाहरू घटिरहेका छन् । ती मध्ये हजारौँले न्याय पाउँदैनन् । तर अर्कोतिर यहाँ कैयौँ ठाउँमा कुनै पुरुषसँग प्रतिशोध लिनुपरेमा, कसैको लम्कँदै गरेका पाइला रोक्ने अरू उपाय नलाग्दा, कुनै पुरुषलाई पूर्ण रूपमा बर्बाद गर्न पर्दा बलात्कारको मुद्दामा फसाउने चलन व्यापक हुँदै छ । नक्कली बलात्कारलाई सक्कली रूप दिन कैयौँ नक्कली प्रमाणहरू तयार पारिन्छन् । अनि अदालतमा त्यही प्रमाण पेस गरिन्छन् । जसले गर्दा अब हरेक आमालाई पुत्रको सुरक्षाको चिन्ताले नपिरोल्ला भन्न सकिँदैन । हरेक पत्नीका मनमा एउटा अनिश्चित भयले घर बनाएको छ । हरेक दिदीबहिनी भाइटिका लगाउँदा आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामनाभन्दा पहिले यस किसिमको षड्यन्त्र र विपदमा आफ्ना दाजुभाइ नपरुन् भन्ने कामना गर्न थालेका छन् ।

महिला हिंसामा पीडितले न्याय पाउनु नै पर्छ । तर, प्रायोजित झूटा आरोपको सिकार हुनबाट पिता, पुत्र र दाजुभाइलाई बचाउन के कस्तो उपाय अपनाउनुपर्ला भन्ने चिन्ता पनि अब कतिपय नारीको मनमा उब्जेको छ । बलात्कार भन्ने शब्दले जति नारीलाई आक्रोशित बनाउँछ, त्यति नै बलात्कारी भन्ने संज्ञाले पुरुषलाई । यस्तो गम्भीर विषयलाई षडयन्त्रको जालो बनाइएर कुनै पुरुषलाई फसाउने नियत बनाइएको छ भने उसको मन, आत्मा कति विक्षिप्त हुन्छ होला भन्ने विषयमा यो समाज र सम्बन्धित निकायले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।

म स्वयं नारीवादी सोच राख्ने नारी हुँ । तर नारीवादी हुनुको अर्थ यो होइन कि गलत मनसायले प्रायोजित ढङ्गले षड्यन्त्र गरेर प्रस्तुत गरिएको नाटकको हिस्सा बनूँ ।

अहिले नारी स्वतन्त्रताको नाममा केही नारीले नै नारीत्वलाई मारिसकेको अवस्था छ । यो युगमा धन कमाउन आफ्नो इमान बेचेर अझ चर्को आवाजले अरूलाई लाञ्छना लगाउन पछि नपर्ने नारीहरूले गर्दा अन्य सभ्य नारीहरू पनि लज्जित हुनुपरेको छ ।

नारी हिंसाको विषय उठ्नासाथ नक्कली पीडितलाई न्याय दिलाउन न्यायालय, समाज र नारीवादीहरू कम्मर कसेर लागिरहने हो भने एक दिन "बाघ आयो, बाघ आयो" भनेर भ्रम फैलाउनेलाई साँच्चै बाघले खाए झैँ गरी वास्तविक पीडितको पीडा भने ओझेलमा पर्न नजाओस् । चिन्ताको विषय यही छ ।

म स्वयं नारीवादी सोच राख्ने नारी हुँ । तर नारीवादी हुनुको अर्थ यो होइन कि गलत मनसायले प्रायोजित ढङ्गले षड्यन्त्र गरेर प्रस्तुत गरिएको नाटकको हिस्सा बनूँ । झूटको पक्षमा आफ्नो विवेक बन्धक राखूँ । मेरो विवेक र अनुभवले आफ्नो विचार स्वतन्त्ररुपमा पोख्ने अधिकारलाई कसैको स्वार्थ रक्षाका लागि प्रयोग हुन दिँदैन । मेरा आफ्नै अधिकारलाई मारेर देखावटी नारीवादी बनेर समाजमा हाई हाई बटुल्न पनि चाहन्नँ । प्रश्न उठ्लान्, नउठेको पनि होइन तर जुन कुरा मेरो आत्माले मान्दैन, त्यो कुराको समर्थन गर्न म मजबुर छैन ।

नारी शोषणको विरुद्ध आवाज उठाउनु अगाडि के सही, के गलत भनेर छुट्याउनु मेरो मानवीय कर्तव्य हो । कसैको स्वार्थपूर्तिको लागि रचिएको षड्यन्त्रको सिकार कुनै पुरुष बनिरहेका त छैनन् ? छाडापनको पराकाष्ठा नाघिसकेको यो समाजमा के पुरुष बलात्कृत हुन सक्दैनन् र ? नारीवादी या पुरुषवादी भएर होइन, मानवतावादी भएर सोच्ने कि एक पटक ?

श्रेष्ठको समाजिक र अध्यात्मिक विषयमा लेख तथा कविता प्रकाशित छन् ।

कस्तो लाग्यो ?

यो पनि