बैशाख ०८, २०८१, शनिबार
               

राजावादीपछि काँग्रेस सडकमा, सरकारप्रति आक्रामक बनेकै हो ?
राजावादीका आन्दोलन व्यवस्था नभई सरकार विरोधी मात्रै भएको जिकिर

ADVERTISEMENT

लामो समयदेखि प्रतिपक्षको कमजोर भूमिकालाई लिएर आलोचना हुँदै आएको संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडक आन्दोलनमा ओर्लिएको छ । पछिल्लो संसदीय निर्वाचनमा पराजय व्यहोरेको काँग्रेस ठ्याक्कै ३ वर्षपछि देशव्यापी प्रदर्शनमा उत्रिएको हो । लामो समयदेखि काँग्रेसमाथि लाग्दै आएको एउटा प्रमुख आरोप उसको निष्क्रियता थियो । तर सोमवार उसले सरकारविरुद्ध देशभरि प्रदर्शन सुरु गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने सङ्केत दिएको छ ।

२०६४ को भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा काँग्रेसले हार बेहोर्दा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले बहुमत पाए । चुनावी गठबन्धन गरेर चुनावमा गएका  दुई कम्युनिस्ट पार्टीहरूले पार्टी एकता समेत गरे । झन्डै दुई तिहाइ नजिक जनमत पाएका एकीकृत पार्टी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकार चलाउँदा यसबीचमा मुलुकमा विभिन्न समस्या आए ।

सरकारले लोकतन्त्र र सङ्घीयतामाथि प्रहार गरेको धेरै टिप्पणीहरू आए । यस्तै आम नागरिकको जनजीवनसँग जोडिएको महँगी र भ्रष्टाचार बढ्दा पनि प्रतिपक्षले सशक्त आवाज उठाउन नसकेको भन्दै काँग्रेसको आलोचना भयो । प्रतिपक्ष दल काँग्रेस अस्तित्वविहीनजस्तो देखिएको भन्दै आलोचना भइरहँदा पनि काँग्रेस आन्तरिक शक्ति सङ्घर्षमा अलमलिएको थियो ।

संसदीय प्रणालीमा संसद् प्रतिपक्ष दलको मानिन्छ । गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् संसद् बैठक अन्त्य गरिदिएपछि जनताको आवाज बोल्ने काँग्रेसको प्लेटफर्म बन्द भयो । संसद् नभए सडक प्रदर्शनका माध्यमबाट सरकारलाई दबाब दिनु लोकतान्त्रिक मान्य हो । तर, ‘काँग्रेस न संसद‍्मा प्रभावकारी देखिएको थियो, न त सडकमा नै आयो’ भन्दै जनस्तरमा टिप्पणी हुन्थ्यो ।

बरु काँग्रेस आम नागरिकको आवाज उठाउनुको साटो सरकारसँग राजनीतिक नियुक्तिमा भागबन्डाको मोलमोलाइ गर्न व्यस्त रह्यो । भागण्डाकै लिस्ट बोकेर काँग्रेस सभापति शेरबहादुर देउवा दर्जनौँ पटक बालुवाटार पुगेका खबरहरू सार्वजनिक भए । विश्वविद्यालयदेखि संवैधानिक आयोगका पदाधिकारीसम्म आफ्ना मान्छे घुसाउन मात्र दबाब दिँदै आएको त कहिले नयाँ सरकार गठनको लागि प्रधानमन्त्री ओलीसँग छलफल गरेको भन्ने समाचार बाहिरिए । यस्तो अवस्थामा लामो दबाबका बीचमा काँग्रेसले ढिलै भए पनि सुरु गरेको सडक प्रदर्शनलाई आम नागरिकले सकारात्मक रूपमा लिएका छन् ।

दुई साताअघि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा एक पुल उद्घाटनको क्रममा प्रहरीले रोक्ने प्रयास गरेपछि काँग्रेसले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो । तर नेताहरू भने तनहुँ घटनाका कारण मात्र नभई पहिल्यैदेखिको आफ्नो योजना रहेको दाबी गर्दै आएका छन् ।

सरकारको कार्यशैलीले भन्दा राजवादी आन्दोलनले दिएको दबाब

संसदमा झन्डै दुई तिहाइ बहुमतनजिक वर्तमान सरकार अहिले आन्तरिक कलहको भुमरीमा फसेकाे अवस्था छ । आज फुट्ने हो कि भोलि फुट्ने हो भन्ने जस्तो स्थिति सत्तारुढ दलको देखिन्छ । त्यसको प्रत्यक्ष चपेटामा सरकार परेको छ । आम नागरिकका समस्यामा सरकार र सत्तारुढ दलका नेताहरूको ध्यान जान सकेको छैन । गत साता देशका विभिन्न ठाउँमा व्यवस्था नै परिवर्तन गर्नुपर्ने भन्दै राजावादीहरूले प्रदर्शन गरे । त्यसपछि मात्रै प्रमुख प्रतिपक्षी दल पनि सडकमा ओर्लिएको छ ।

राजावादीहरूको प्रदर्शन र आफूहरूको प्रदर्शनमा कुनै साइनो नभएको काँग्रेसका नेताहरूले दाबी गर्दै आएका छन् । तर राजनीतिक विश्लेषकहरू भने नामै नसुनेका साना सङ्गठनहरूले समेत बृहत् प्रदर्शन थालेपछि कांग्रेसलाई नैतिक दबाब परेकाले आन्दोलनमा आएको टिप्पणी गर्छन् ।

प्रा. कृष्ण खनाल, राजनीति शास्त्रीराजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल भन्छन् ‘गत साता देशैभर राजावादी पक्षका प्रदर्शन भए । त्यही प्रदर्शनमा राजसंस्था पुनर्स्थापन मागलाई  काँग्रेसे आफ्नो खपतको लागि वर्तमान सरकारप्रतिको असन्तुष्टि मात्रै भएको भन्दै व्याख्या गर्न आन्दोलन गरेको छ ।’

सडकबाट घर नफर्कने चेतावनी

यस्तै काँग्रेस नेताहरूले भने आफूहरू सडकमा आइसकेकाले अब यत्तिकै घर नफर्कने चेतावनी दिएका छन् । सरकारलाई सच्याउन आफूहरू सडकमा आएको भन्दै नसच्चिएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ । मकवानपुर हेटौँडाको सभालाई सम्बोधन गर्दै प्रवक्ता विश्वकर्मा शर्माले भनेका छन् ‘काँग्रेस सकियो, दिन गयो भन्नेहरू, पार्टीभित्र रडाको मच्चिँदा काँग्रेसको ढोका ढक्ढक्याउनेहरूलाई भन्न चाहन्छु हामी सडकमै रहन्छौ । सरकारमा जानु पर्‍यो भने आगामी निर्वाचनबाट बहुमत लिएर जान्छौँ भन्नका लागि आज हामी सडकमा उपस्थित छौँ । काँग्रेस यति भन्न आएको छ कि सुतेको बाघलाई जिस्काउने प्रयत्न नगर । काँग्रेसलाई जिस्क्याउने प्रयत्न नगर ।’

यस्तै केन्द्रीय सदस्य गगन थापाले बरालिएको सरकारलाई ठेगानमा ल्याउन काँग्रेस सडकमा आएको दाबी गरे । ठेगानमा नआएसम्म काँग्रेस घर नफर्किने उनको भनाइ थियो ।

कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘जनतालाई घरभित्र राखेर कोरोना महाव्याधिको नियन्त्रणमा लाग्छु भन्दै संसदबाट भागेको, बालुवाटारको दुलोभित्र लुकेर षड्यन्त्र गरेको सरकारलाई लकार्न निम्ति, बरालिएको सरकारलाई ठेगान ल्याउनका निम्ति काँग्रेस सडकमा आएको छ । अब घर फर्केर जाँदैन । जबसम्म सरकार ठेगानमा आउँदैन तबसम्म काँग्रेस सडकमा आइरहन्छ ।’

लामो समय चुपचाप बस्दा आफूमाथि आएको आलोचनालाई भने नेताहरूले बचाउ गरेका छन् । महामारीका बेला संसद् बन्द हुँदा सडक खाली भए पनि सरकारलाई मद्दत गर्न आफूहरू धैर्य गरेर बसेको उनीहरूको दाबी थियो । अझै पनि केही नेताहरूले भन्दै आएका छन् ‘कोरोना महामारीका बीच सडकमा आउन बाध्य पार्दा दुःख लागेको छ ।’

सरकारविरुद्ध काँग्रेसले सडकमा गरेको प्रदर्शनलाई नेपाली भूराजनीतिलाई नजिकबाट निकालिरहेकाहरुले भने काँग्रेस निन्द्राबाट ब्युँझिएको टिप्पणी गरेका छन् । सदनमा प्रतिपक्षीको खोजी भइरहेको अवस्थामा उसले सडकबाट आफ्नो उपस्थिति जनाउन खोजेको उनीहरूको मत  छ । काँग्रेसको उपस्थितिबारे प्रश्न उठिरहेको बेला उसले सडकमार्फत समाजमा उपस्थिति जनाउन खोजेको कतिपयको तर्क छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि