बैशाख १४, २०८१, शुक्रबार
               

पाटनको प्राचीन अग्निशालामा जस्ता हटाएर तामाको छाना हालिने

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिका–१९ मा रहेको प्राचीन अग्निशालामा जस्ताको छाना हटाएर अब तामाको छाना हालिने भएको छ । महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर गौरवशाली योजनाअन्तर्गत उक्त काम अघि बढाउन लागेको हो । 

पुरानो सम्पदालाई जोगाइराख्न महानगरपालिकाले ४० लाख रुपैयाँ बजेट छुट्याइसकेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘अब तुरुन्तै काम अघि बढाइनेछ, एकदम राम्रोसँग काम सम्पन्न गर्न सबैलाई आग्रह गर्दछु ।’ 

अग्निशालामा पाँचवटा छुट्टाछुट्टै धुनी छन् । यसमा निरन्तर आगो बलिरहने अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले बताए । उनले भने, ‘धार्मिक मान्यताअनुसार काठ बालेर निकालिएको आगो काष्ठाग्नि, ढुङगा रगडेर निकालिएको पासाग्नि, सूर्यको रापबाट निकालिएको सूर्याग्नि, पानीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्नि नामक अग्नि पाँच धुनीमा बालिन्छ ।’  

चार हजार वर्षअघि सो अग्निशाला निर्माण भएको अनुमान गरिएको र यसबारेमा उल्लेख भएका शिलालेखहरु हालसम्म कतै नभेटिएका पुजारीहरुको भनाइ छ । सो अग्निशालामा पूजापाठ गर्दा लागेको ग्रहदशा हटेर जान्छ भन्ने मान्यता पनि रहिआएको छ । कुमारीपाटीमा रहेको कोरियन सप नजिकैको पेट्रोल पम्पबाट हिँडेर दुईदेखि तीन मिनेट पर सो अग्निशाला रहेको छ । 

पाटन दरबार सङ्ग्रहालयमा चहलपहल बढ्यो 

पाटन दरबार सङ्ग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको छ । मुलुकमा कोभिड–१९ महामारी फैलिएर बन्दाबन्दी भएसँगै उक्त दरबार सङ्ग्रहालय बन्द भएको थियो । यही मङ्सिर ८ गतेदेखि दरबार सङ्ग्रहालय इच्छुक सर्वसाधारणका लागि खुला भएसँगै चहलपहल बढेको हो ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र सङ्ग्रहालय खुल्ने गरेको अधिकृत सुरेशमान लाखेले बताए । उनले भने, ‘पहिलो दिन २५ हुँदै शनिबार बिदाका दिन करिब १४० र अन्य दिन ७० को हाराहारीमा सङ्ग्रहालय अवलोकन गर्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ ।’ कोरोना महामारीपछि खुलेको दरबार सङ्ग्रहालयमा स्वदेशीका साथै विदेशी पर्यटक पनि भित्रिन थालिसकेको लाखेले जानकारी दिए ।

पाटन कष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा गत शुक्रबार र शनिबार यस वर्षको कात्तिक नाच मञ्चन गरेसँगै दरबार सङ्ग्रहालयले पनि ती दिनबाट नाट्यकला महोत्सवको तस्वीरका साथै वृत्तचित्र प्रदर्शनी गरिरहेको छ । उक्त प्रदर्शनीमा करिब ३० वटा नृत्यका तस्वीर राखिनुका साथै २४ मिनेटको वृत्तचित्र पनि प्रदर्शनी भइरहेको सो संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।

यसका साथसाथै दरबार परिसरमा आजभोलि खुबै मानिसको चहलपहल बढेको देखिन्छ । मुलुकमा कोरोना कहर आएसँगै गत वर्षको चैत महिनाबाट पाटनमा मानिसको आवागमन शून्य नै भएको थियो । यस महिनादेखि मुलुकभर चिसो बढेसँगै केही घण्टा घाम ताप्न पाटन दरबार परिसरमा आफूहरु भित्रिने गरेको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।

गत वर्ष पाटनमा यस समय थुप्रै स्वदेशीलगायत विदेशी पर्यटकको चहलपहलका कारण मङ्गलबजार क्षेत्रमा हिँड्नसमेत ठेलमठेल हुन्थ्यो । मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले पाटन दरबार क्षेत्र भरिएको छ । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाडौं उपत्यकाको प्रसिद्ध तीन शहरमध्ये पाटन सबैभन्दा पुरानो शहरको रूपमा परिचित छ ।  

यो पनि