बैशाख १३, २०८१, बिहीबार
               

नेकपा सचिवालय बैठकमा भनाभन् : कसले के भने ?

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आाजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । अध्यक्ष ओलीले प्रचण्डलाई हप्काएपछि अरु नेताहरु पनि केपी ओलीमाथि खनिएका थिए ।

आजको बैठक धुम्बाराहीमा बस्ने भनिए पनि प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै बालुवाटारमै बैठक बसेको थियो । बैठकको सुरुमा प्रधानमन्त्री ओलीले महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिन भएकाले शुभकामना दिऔं भन्दै केट काट्न लगाएका थिए ।

केक खाँदासम्म हँसिलै देखिएका नेताहरु बैठक सुरु भएपछि भनाभनमा उत्रिए । अन्ततः बैठक भनाभनमै सीमित भयो र बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भयो । बर्थडे केक काटिसकेपछि अध्यक्ष ओलीले बैठक सुरु गरेका थिए ।

बैठकमा के भयो ?

पौडेलको बर्थडे केक काट्ने कार्यक्रमपछि बैठकले औपचारिकता पाएको थियो ।

सुरुमा प्रचण्डले बैठक अब अगाडि बढ्छ भन्दै बैठक सुरु भएको संकेत गरेका थिए । त्यस लगत्तै ओलीले भने, ‘कसरी बढ्छ बैठक, एजेण्डा के हो ?’ भनेर प्रश्न गरे । त्यसको उत्तरमा प्रचण्डले भने, ‘हामीले गम्भीर खालका प्रस्तावहरु बैठकमा पेश गरिसकेका छौँ । हामी गम्भीर र जटिल मोडमा छौँ । तिनै एजेण्डामा छलफल गर्ने र निष्कर्षमा पुग्ने नै एजेण्डा हुन् ।’

प्रचण्डलाई बोल्न रोक्दै ओलीले फेरि आफ्नो कुरा राखे । उनले भने, ‘तपाईँले पेश गरेको प्रस्ताव नै होइन, लाल्छाना पत्र हो । त्यसले बैठकमा छलफल गर्ने हैसियत राख्दैन । यसको समाधान भनेको यो प्रस्ताव फिर्ता लिनुपर्छ । फिर्ता लिएरमात्रै हुँदैन माफी पनि माग्नुपर्छ । यो प्रस्ताव बैठकमा छलफल हुन गराउँनै सक्दिन मैले ।’

ओलीले महाधिवेशन अगाडि सहमतिमै जानुपर्छ भन्दै आफूले भनेको कुरा मान्नुपर्ने तर्क गरे । उनले भने, ‘अर्को कुरा बुकलेट किन वितरण गरेको ? त्यसमा पनि माफी माग्नुपर्छ । विवादहरु सहमतिमै समाधान गर्नुपर्छ, बैठकबाट होइन । महाधिवेशन अगाडि बहुमतको निर्णय मानिन्न, त्यसको काम छैन ।’

ओलीले आफ्नो प्रतिवेदनको ब्याख्या गर्दै सरकारले राम्रो काम गरेको प्रसंग पनि उठाए । उनले भने, ‘म नेतृत्वको सरकारले इतिहासमै राम्रो काम गरेको छ । मैले भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न ।’

ओलीको कुरा सुनेपछि सचिवालय सदस्यसँगै प्रचण्ड पनि मुस्कुराएर हाँसेका थिए । त्यो दृश्य देखेपछि ओलीले प्रचण्डतर्फ हेरेर फेरि थपे, ‘मैले गम्भीर कुरा गर्दा तपाईँ हाँस्ने ? मुस्कुराउने ?’

‌ओलीले आफ्नाे कुरा राखेपछि प्रचण्डले भने, ‘केपी कमरेडले उत्तेजित कुरा गर्नुभयो, ‘हामीलाई पनि उत्तेजित पार्ने प्रयास गर्नु भएको छ । तर, हामी पार्टी एकताका लागि उत्तेजित हुँदैनौँ । अहिले आएका सबै तथ्यलाई सार्थक ढंगले अगाडि बढाएर लैजानुपर्छ । छलफल गरेर अगाडि बढ्नुको हामीसँग विकल्प छैन ।’

प्रचण्ड बोल्दै गर्दा फेरि ओलीले आक्रोस पोखे । ओलीले भने, ‘जे मन लाग्यो त्यहीँ लेख्न पाइन्छ ?’ ओलीले प्रचण्डलाई बोल्न रोकेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरे । श्रेष्ठले भने, ‘यो के गरेको ? तपाईँको कुरा सुनिदिनुपर्ने, हामीले अहिलेसम्म सुनिरहेका थियौँ, तपाईँले अर्का अध्यक्षलाई रोक्ने ? तपाईँमा विधि, पद्दती भन्ने कुनै कुरा हुँदैन ?’

श्रेष्ठले बोल्दासाथ वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले बोल्न पनि प्रतिबन्ध लगाउने भनेर ओलीको प्रतिवाद गरे । त्यसपछि प्रचण्डले भने, ‘बोल्नै रोक्ने, छलफल गर्न नै रोक्ने तपाईँ को हो ? तपाईँलाई कस्ले दियो अधिकार ? ल साथीहरु भन्नुस् यी प्रस्ताव के गर्ने ?’

त्यस लगत्तै वरिष्ठ नेता नेपालले छलफल गर्नुको विकल्प नभएको बताए । अर्का वरिष्ठ नेता खनालले पार्टीको सम्पत्ती भइसकेका विषयमा छलफलबाट नै निकास खोज्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष गौतमले केपी ओलीले नै छलफलमा भाग लिइसकेकाले अब छलफल गर्नुको विकल्प नभएको बताए । प्रवक्ता श्रेष्ठले पार्टीमा आएका विषयबस्तु छलफल नै गर्न नपाउने भन्ने नहुँने धारणा राखे ।

सचिवालय सदस्य ईश्वर पोखरेलले पनि बैठकमा आइसकेका विषयहरु छलफल गर्नुपर्ने बताए ।

अर्का सदस्य रामबहादुर थापा बादलले पनि छलफल गरेर जानुपर्नेमा जोड दिए ।

तर, महासचिव पौडेलले भने, ‘मैले छलफल गर्ने वा नगर्ने भन्न सक्दिनँ’

प्रचण्डले त्यसपछि फेरि आफ्नो धारणा राख्न सुरु गरे । उनले भने, ‘केपी कमरेडले नै बैठक बोलाउन आग्रह गर्दा प्रतिउत्तर लेखेर फायर खोल्नु भएको हो । त्यसपछि मैले लिखित प्रस्ताव लेख्नुपर्ने अवस्था आयो । तपाईँले स्थायी कमिटीको निर्णय नमानेर फुटवादी गतिविधि गरेको होइन ? बालुवाटारबाट देशैभर फुटवादी गतिविधि तपाईँले गरेको होइन । यी प्रस्ताव मित्रतापूर्ण तरिकाले हल हुनसक्छन् । मैले तपाईँको प्रस्तावको लिखितैरुपमा पूरक प्रस्ताव ल्याउँछु ।’

प्रचण्डपछि बोलेका वरिष्ठ नेता खनालले सहमति, सहमतिले नै पार्टीलाई बिगारेको बताए । उनले भने, ‘सहमति,सहमति भनेकाले पार्टी बिर्गेको हो । सहमति गर्दा पनि पद्दती र प्रक्रियामा गएर गर्नुपर्छ । मनलाग्दाी गर्ने नीतिले नै संकट निम्तिएको हो । सकेसम्म सहमति गर्नु राम्रो कुरा हो । तर, सहमति भएन भने विधि र पद्दतीमा गएर निर्णयमा पुग्नुपर्छ ।’

उपाध्यक्ष गौतमले पनि छलफलबाटै निकास निकाल्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘अनौपचारिक पनि छलफल गरौँ, तर, औपचारिक छलफललाई पनि निरन्रता दिनुपर्छ । एउटा निष्कर्षमा पुग्नु अब ढिला भइसक्यो ।’

सचिवालय सदस्य पोखरेलले अनौपचारिक संवादलाई जोड दिए । उनले भने, ‘छलफलबाट निकास खोजौँ, अनौपचारिक संवादबाट निकास निकाल्ने प्रयास गरौँ ।’

प्रवक्ता श्रेष्ठले अनौपचारिक संवादका नाममा पार्टीलाई अनिर्णयको अवस्थामा राख्न नहुने बताए । 


कस्तो लाग्यो ?

यो पनि