बैशाख ०६, २०८१, बिहीबार
               

अब ट्राफिक लाइट उल्लंघन गर्नेले पनि कक्षा लिनुपर्ने

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । तपाईं ट्राफिक लाइटलाई बेवास्ता गरी सवारी साधन चलाउनु हुन्छ ? होसियार, ट्राफिक कक्षामा बस्नु पर्ला । 

ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको सुरुवात गरेको छ ।

लकडाउनअघि ट्राफिक कारबाहीमा परेका चालकहरू स्वयम् बग्गीखाना गएर आफैं ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिमार्फत निरन्तरता दिने भएको हो ।

कोरोना संक्रमणको अवस्थालाई मध्यनजरसमेत गरी अनलाइनमार्फत सचेतना कक्षा सुरू गरिएको महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत् नै रहेकोले चालकहरूलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन् बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरूको लागि भर्चुअल क्लास लिने व्यवस्था गरेको बताए ।

‘रातो बत्तीमा समेत गाडी हुइँक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जामसमेत हुन्छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पूर्ण पालना गराउन कारबाहीका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरिएको हो,’ भट्टराईले भने । 

लामो समयदेखि बग्गीखानामा लिँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो ।

यसअघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरूलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो ।

हाल उपत्यकाका २५ स्थानमा लाइटबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ ।

यो पनि