चैत १६, २०८०, शुक्रबार
               

खुल्दै एचआईभी सङ्क्रमित

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआईभी एड्स संक्रमितहरू पछिल्लो समय विस्तारै खुल्न थालेका छन् ।  धौलागिरि अस्पतालको ‘एआरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआईभी संक्रमितहरू खुल्न थालेका हुन । धौलागिरि अस्पताल बागलुङमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआईभी एड्स भए/नभएको पहिचान गर्ने, संक्रमितहरूको परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारलगायतका कारण संक्रमितहरू खुलेर आउन थालेका हुन् । 

एचआईभी संक्रमितहरू पनि अरु मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआईभी एड्स प्रभावित गाउँ–गाउँमा पुगेर नमूनाहरू सङ्कलन गरी गोप्य रुपमा उपचार तथा परामर्श दिने गरेपछि संक्रमितहरू खुल्न थालेको धौलागिरि अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए ।

“एआरटी सेन्टरले संक्रमित आमाबाट जन्मेका बालवालिकालाई अस्थायी रुपमा  पोषण गृहमा राखेर समेत स्यारसुसार गर्दै आइरहेकोे छ”, आचार्यले भने “संक्रमित भएको भन्ने लागेमा निर्धक्क भएर परीक्षणमा आउन सक्नुहुनेछ, हामीले गोप्य रुपमा औषधि उपचार गर्नेछौं ।” सेन्टरले एचआईभी एड्स सम्बन्धी गैह्र सरकारी संस्थाको सहयोगमा संक्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषण लगायतका धेरै सेवा तथा सुविधाहरू उपलब्ध गराउदै आएको छ । सो सेन्टरमा अहिले खुलेर आएका संक्रमितहरू ४०७ जना पुगेका छन्  । जसमध्ये १६४ जनाले बागलुङ सेन्टरबाट नियमित औषधि उपचार गरेका छन् भने अन्यले कुस्मा, म्याग्दीबाट सेवा लिइरहेका छन् । बाँकी सक्रमित परामर्शका लागि आइराखेका हुन्छन् ।

सेन्टरको तथ्याङक अनुसार संक्रमितको सङ्ख्या बढ्दो छ । गोप्य रुपमा परीक्षण तथा परामर्श पाउने भएपछि संक्रमितहरू खुलेर आउन थालेपछि तथ्याङ्कमा वृद्धि भएको छ । वर्षमा २० देखि २५ जना संक्रमित थपिनुले उनीहरू विस्तारै खुल्दै आएको अनुमान गर्न सकिने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. रविनबाबु पौडेलले बताए ।  जिल्लामा हालसम्म ६४ संक्रमितको मृत्यु भइसकेको छ । 

हाल उक्त सेन्टरलाई धौलागिरि पोजेटीभ समूह तथा एड्स हेल्थ केयर फाउण्डेशन तथा स्थानीय तहले आर्थिक सहयोग गर्दै आइरहेका छन् । सेन्टरमा खुलेका संक्रमितलाई गोप्य रुपमा परामर्श, औषधि तथा अन्य सेवा प्रदान दिएपछि संक्रमितहरू खुल्न थालेको  एड्स हेल्थ केयर फाउण्डेशनका प्रतिनिधि सुष्मा क्षेत्रीले जानकारी दिइन् । नेपालमा एचआईभी संक्रमितको सङख्या ३१ हजारभन्दा बढी छन् ।


कस्तो लाग्यो ?

यो पनि