
काठमाडौं । सरकारले काठमाडौंमा नयाँ विधिबाट कोरोना भाइरस परीक्षण सुरु गरेको छ ।
परीक्षणपछि तुरुन्तै नतिजा आउने तथा फिल्डमै धेरै जनाको परीक्षण गर्न सकिने विधि एन्टिजेन जाँच सुरु गरिएको हो ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार, डब्लूएचओकै सहयोगमा सञ्चालन गरिएको यो निःशुल्क परीक्षण अभियान हो ।
सुरुमा एन्टिजेन परीक्षण काठमाडौं उपत्यकाबाट थालिएको छ । यो विधिका लागि स्वाब नै आवश्यक पर्ने तर आधा घण्टाभित्रमै नतिजा आउँछ ।
यसको ‘सेन्सिटिभिटी’ पिसिआर विधिको भन्दा राम्रो रहेकाले यो परीक्षण विश्वसनीय रहेको डा. पाण्डे बताउँछन् ।
उपत्यकामा प्रभावकारी देखिए यो परीक्षण अभियान देशभर सञ्चलान गरिने सरकारको योजना छ ।
काठमाडौं उपत्यकामा अब हरेक दिन ५०० जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिनेछ ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर ४, ७ र ९ मा आज एन्टिजेन परिक्षण सुरु गरिएको छ ।
महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको हो ।