चैत १६, २०८०, शुक्रबार
               

८० किलो  १० फिट अग्लो खुकुरी महाेत्सवमा

रासस
फागुन ०७, २०७६

ADVERTISEMENT

पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन् । तीन महिनाको अवधिमा उनको नेतृत्वमा चारजनाको टोलीले हालसम्मकै सबैभन्दा ठूलो सो खुकुरी तयार गरेको हो । 
८० किलोको खुकुरीको लम्बाइ साढे १० फिटको रहेको छ । गत  मङ्सिर ४ गतेदेखि खुकुुरी बनाउन सुरु गरी माघ २९ गते सम्पन्न भएको उनले जानकारी दिए। 


सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले तीन महिनाको अवधिमा निर्माण भएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा प्रदर्शनीमा राखिएको छ ।


उनले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएकाछन्् । खुकुरीलाई चासो र जिज्ञासाको साथ अवलोकन गरी फर्कने गरेको रेडियोका दिदी बहिनीका अध्यक्ष कल्पना चापागाईंले जानकारी दिइन्  । 
 
महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ । खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ । “तीन वर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हुँ, नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ”, निर्माणकर्ता सुनारले भने ।
 
उनका अनुसार खुकुरी निर्माणमा रु दुई लाख खर्च भएको छ । सामान खरिद र चारजनालाई तीन महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएको जानकारी दिए ।

पुख्र्याैलीरूपमा आफ्ना अभिभावकले गर्दै आएको आरन पेसालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आएका छन् । उनले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हातहतियार र औजार सामग्रीलाई समेत बिक्री वितरणका लागि प्रदर्शनीमा राखेका छन् ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि