बैशाख १४, २०८१, शुक्रबार
               

हरिबोधिनी एकादशीको व्रत कहिले बस्ने ?

निरज कोइराला
मंसिर ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । हिन्दूधर्ममा एकादशीको व्रतले ठुलो महत्त्व राखेको छ । एक वर्षमा पुरा २४ एकादशी पर्ने गर्छ । तर कुनै वर्ष मलमास परेको छ भने त्यो वर्ष २६ वटा एकादशी पर्छ । तिनैमध्ये एक हो हरिबोधिनी एकादशी । यसलाई देवोत्थनी एकादशी पनि भनिन्छ । जसलाई नेपाली समाजमा भगवान् विष्णु उठ्ने दिनको रूपमा लिइन्छ । हिन्दु समाजमा मान्यता छ कि कार्तिक शुक्ल एकादशीको दिनमा क्षीर सागरमा चार महिनाको योग निन्द्रापश्चात् यसै तिथिमा भगवान् विष्णु उठेका थिए । यस दिन भगवान् विष्णुको र तुलसीको विवाह गरिन्छ । 

यो वर्ष मंसिर १० र ११ गते दुई  दिन हरिबोधिनी एकादशी परेको छ । जसका कारण जनमानसमा कहिले एकादशीको व्रत बस्ने भन्नेमा अस्पष्टता देखिएको छ ।

वैदिक पाञ्चाङ्गलाई आधार मान्दा हरिबोधिनी एकादशी भोलि १० गते बुधबार नै परेको हो । श्राद्ध वा यस्तै एकादशी तिथिसम्बन्धी काम गर्नु परेमा भोलि १० गते नै गर्नुपर्छ ।

तर वैष्णव सम्प्रदायले विशेष द्वादशी प्रधान एकादशीलाई राम्रो मान्ने हुँदा तुलसी विवाह, एकादशी व्रत ११ गते बस्नुपर्ने शास्त्रीय धर्मगुरुहरूको मत रहेको छ । एकादशीको व्रत ११ गते बस्ने हुँदा भोलि १० गतेदेखि नै चोखोनितो भएर हविष्यान्न भोजन गर्नु उचित हुन्छ ।

भगवान् विष्णु योगनिन्द्रामा जानुको पौराणिक कथा

भगवान् विष्णु चार महिना योगनिन्द्रामा जानमा पनि एक पौराणिक कथा छ । भगवान् विष्णु र पराक्रमी राक्षस शंखासुरबीच धेरै समयसम्म युद्ध चलेको थियो । विष्णुले शंखासुरको वध गरी युद्ध समाप्ति पश्चात् थकित शरीर लिएर क्षीर सागरमा विश्राम गरेका थिए । र, कार्तिक शुक्ल एकादशीमा उठेका थिए ।

त्यस्तै अर्को पौराणिक कथाअनुसार विष्णुकी पत्नी लक्ष्मीले आग्रह भावमा विष्णुसँग प्रार्थना गरिन्- 'हे प्रभु हजुर दिनरात उठ्नु हुन्छ । जब सुत्नु हुन्छ कयौँ वर्षसम्मको लागि शयन गर्नु हुन्छ । यसबाट समस्त प्रकृतिको सन्तुलन बिग्रन्छ । त्यसैले हजुर विश्राम लिने नियम बनाउनुहोस् ।'

लक्ष्मीको कुरा सुनेर विष्णुले हरेक वर्ष आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना क्षीर सागरमा विश्राम गर्ने विश्वास छ । यो विश्रामलाई अल्पनिन्द्र र योगनिन्द्र पनि भनिन्छ । यसै दिनमा शालिग्राम र तुलसीको पनि विवाह गरिन्छ ।

तुलसी र शालिग्रामको विवाहको पौराणिक कथा

राक्षस कुलमा जन्म भएकी कन्या वृन्दा शिशुकालदेखि नै विष्णुको परमभक्त थिइन् । तर उनको विवाह समुन्द्र मन्थनबाट उत्पन्न भएको जालन्धर राक्षससँग भयो । वृन्दा पतिव्रता स्त्री भएकै कारण जालन्धर निकै शक्तिशाली बन्दै गएको थियो । यस्तैमा जालन्धर र देवताबीच युद्ध हुन्छ र जालन्धर देवतामाथि हाबी भइरहेको थियो । देवताले विष्णुलाई जालन्धरको आतङ्कको  अन्त्य गर्न प्रार्थना गर्छन् । विष्णुले आफ्नो मायाबाट जालन्धरको रूपधारण गरी वृन्दाको पतिव्रता धर्मको नष्ट गरिदिन्छन् । जसका कारण जालन्धरको शक्ति क्षीण भएर युद्धमा मारिन्छन् । जब वृन्दाले विष्णुले गरेको छल थाहा पाउँछिन्, उसले विष्णुलाई ढुङ्गा बन्ने श्राप दिइन् । 

यस्तो श्रापबाट देवताहरू हाहाकार बनेको थिए र लक्ष्मीले वृन्दाको प्रार्थना गरी उक्त श्रापबाट विष्णुलाई मुक्त गराएकी थिइन् भन्ने विश्वास रहेको छ । विष्णुलाई दिएको श्राप फिर्ता लिएर वृन्दा जालन्धरसँग सती गएकी थिइन् । वृन्दाको चिताबाट एउटा बिरुवा निस्कियो र त्यसलाई विष्णुले तुलसीको नामकरण गरिदिए । आफ्नो एक रुपलाई त्यस शालिग्राममा समाहित गरी तुलसीसँग रहेका थिए भन्ने धार्मिक जनविश्वास छ । 

आषाढ शुक्ल पक्षदेखि हरिशयनी एकादशी सुरु भएको थियो । जसलाई पद्मनाभा एकादशी पनि भनिन्छ । यही एकादशीबाट भगवान् विष्णुको शयन काल प्रारम्भ हुन्छ जुन चार महिनाको हुने विश्वास छ । यस दिनदेखि नै विवाह लगायतका अन्य शुभकार्य पनि वर्जित मानिन्छ ।

लेखक धर्म संस्कृति र पूर्वीय दर्शनमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि