बैशाख ०८, २०८१, शनिबार
               

जिउँदै रहेछन् मेरा मनभित्रका ब्वाँसाहरू

चेतन पाण्डे
मंसिर १०, २०७७

ADVERTISEMENT

सोच ! आकार विहीन हुँदो रहेछ । पानी झैँ । बादल झैँ । कहिल्यै भावनाका मिठा तरङ्गमा तैरिने त कहिले कपटका काला बादलसँग रमाउने । अनि स्वार्थी बनेर आफ्नै तालमा रमाउने । हावा झैँ । कहिले मिठो सिरेटो बन्ने त, कहिले मुटु थर्काउने हुरी । जसले जुन आकार दिन्छ, त्यसमै रमाउने ।

हुन त हरेक मानिसको मनभित्र कतै न कतै ईश्वर झैँ पवित्र माया पनि लुकेकै हुन्छ । अनि ब्वाँसा झैँ सधैँ झम्टिन तयार कपट पनि । जब मनभित्रको मायालाई अहङ्कारले जित्छ नि, हो त्यही बेला मानिस ब्वाँसा बन्दो रहेछन् । आफूभन्दा शक्तिशाली कसैलाई नमान्ने । अनि स्वार्थ अनुकुल खराबलाई राम्रो र राम्रोलाई खराब पनि देख्ने ।

मलाई पनि यो जिन्दगीले अनेकौँ रूप र रङका मानिसको कायामा लुकेका ब्वाँसालाई चिन्ने मौका दिएको छ । कतिलाई त आफैँले च्यापेर पो राखिएको रैछ, कोखोमा । जब ती ब्वाँसाहरूले मेरा भावनामा दाँत गाड्न थाले अनि पो थाहा पाइयो । फूल भनेर आँखामा सजाएकाहरू त काँडा पो रहेछन् । अनि कति ब्वाँसा झैँ देखिनेहरू त कस्तुरी मृग पो रहेछन् । त्यो पनि पत्ता लाग्दो नै रहेछ । 

०००

निकै सानो थिएँ । एक जना वृद्ध लाटो चाबहिलतिर बरालिन्थे, एकाबिहानै । सबैलाई पशुपतिनाथ र गुह्येश्वरीको टिका बाँड्थे । कसैले दिएका २–४ पैसालाई पनि नाइँ भन्थेनन् । नदिनेसँग करै गरेर लिन्थेनन् पनि । तर, अर्को दिनदेखि प्रसाद दिन भने बन्द गर्थे ।

सधैँ एउटै भेष । वर्षौँदेखि नधोएको कोट । जसलाई मैलोको सयौँ पत्रै–पत्रले झनै रङ्गविहीन बनाएको थियो । भोटो सुरुवाल पनि त्यस्तै । ती भित्र विभिन्न लुगाका अनेकौँ पत्र । शायद ती लुगाका खातहरूले पनि उसलाई केही खाइलाग्दो देखाएको थियो । अनि कम्मरमा बाँधेको पटुका । शायद उसले पहिलो पटक बाँध्दा सेतो थियो होला । मैले देख्दा कालो बनिसकेको थियो । लाग्थ्यो, ननुहाएको र लुगा नफेरेको पनि वर्षौँ बितिसकेको हुनु पर्छ ।

खराब त मेरा घरका नै थिए, मलाई तर्साउने बहानामा उसलाई खराब बनाउनेहरू ।

गालामा चाउरी परे पनि ङिच्च हाँस्दा उसको मनको भाव वर्णन हुन्थ्यो । स्निग्ध !

अति खुसी हुँदा मात्र हाँस्थ्यो ऊ । खित् खित् गर्दै । शायद अनेकौँ ठाउँमा फुस्केका र कहिल्यै नमाझेका पहेँला दाँतका शृङ्खलाहरू लुकाउन पनि होला । कमै हाँस्ने गरेको । होचै कदका अनि उमेरका दोषका कारण घुँडाहरू बाङ्गिन थालेका थिए । तर पनि, डरलाग्दो देखिँदैन थियो ऊ ।

मलाई भने ऊसँग निकै डर लाग्थ्यो । घर मै केही गल्ती गरे त्यही लाटोलाई दिएर पठाउने धम्की निकै सुन्नु पर्थ्यो । मन न हो । ठुलाले भनेको पत्याइहाल्ने । चाहिएको थिएन, त्यस्तो जिन्दगी । जहाँ हरेक बिहान चन्दन बाँडेर उमेर कटाउनु परोस् । अनि डर नलागोस् पनि किन र’ ? अति सानो हुँदा त ऊ देख्ने बित्तिकै कतै लुक्ने ठाउँ खोजिहाल्थेँ । मलाई लिएर पो जाने हो की भनेर । बिचरा ऊ, बिचरा म । खराब त मेरा घरका नै थिए, मलाई तर्साउने बहानामा उसलाई खराब बनाउनेहरू ।

एक दिन घरसम्म खबर आयो । ती वृद्ध मरेछन् भनेर । त्यस बेला म केही खुसी पनि भएँ अनि ढुक्क पनि । मेरो मनभित्र लुकेको ब्वाँसो त्यो दिन खित्का छोडेर हाँस्यो । अब मेलै ती वृद्धसँग डराउनु पर्ने छैन भनेर । मेरो मन पनि कपटी रहेछ, थाहा पाएँ । त्यसैले त होला, हरेक बिहान सूर्यसँगै हाम्रो दैलोमा उदाउने व्यक्तिको मृत्युको खबर सुन्दा पनि दुख लागेन ।

उसको मृत्युसँगै सुनेको अर्को वाक्यले अचम्ममा पनि परेँ । उसले पशुपतिको चन्दन बाँडेर बटुलेको एक/एक पैसा आफ्नै लुगाफाटा भित्रै गुम्साइ मात्र रहेको रहेछ । जुुुुुम्राकाे खाजा बनाएर । कागजको खोस्टो झैँ । उसले मेहनतले कमाएको पैसाको कुनै उपयोग गर्न पाएको रहेनछ । अनि बेइमानी गरेर कमाउनेहरू त झन् कसरी गर्दा हुन् कुन्नि ? 

मर्दा त रित्तै जानु पर्दो रहेछ, त्यो ज्ञान भने उसले छाडेर गयो । 

देश बनाउन छाडेर पैसा बटुल्न तँछाडमछाड गर्नेहरूका लागि त्यो व्यक्तिको मृत्यु एउटा उदाहरण बन्न सक्थ्यो । तर के गर्नु ? हामीमाथि अहिले शासन गर्ने मध्ये अधिकांशले काठमाडौँ देख्नुअघि नै ऊ यो लोकबाट बिदा भइसकेको थियो र’ पो ।

लाग्छ, कहिले काहीँ त्यहीँ आर्यघाट र सिंहदरबार छेउछाउ उसको सालिक बनोस् । अनि शिलालेखमा उसको कथा कोरियोस् । शायद उसको कथा पढेर मानिसको मनमा सधैँ उथल पुथल मच्चाउने लोभ–लालचमा केही कमी आउँथ्यो कि ।

०००

चाबहिल तिर घर हुनेका लागि बिहानै ढोकामा ‘अलख निरञ्जन’ का आवाज सुन्दा अचम्म लाग्दैन । तर, निकै डर लाग्थ्यो, मलाई भने । जब भगवान शंकरको नाममा भिक्षा माग्ने साधु मेरा घरको ढोकामा आउँथे, अनि म नजिकैका आफूभन्दा ठुलालाई च्यापेर बस्थेँ । कारण एउटै थियो । त्यस्ता साधुहरूले बच्चाहरू चोरेर लैजान्छन् र माग्ने बनाउँछन् भनेर मलाई तर्साउने बहाना तयार पारिएकै थियो नि । अनि मलाई मन नपर्ने जस्तै विद्यालयको गृहकार्य गर्नु, भात खानु, खेलेर साँझ नपर्दै घर फर्कनु जस्ता कार्य सजिलै गराउन पाइन्थ्यो पनि ।

वास्तवमा अहिले पनि पाहुना बनेर आउने काला, अजङका बाबाहरू देख्दा कता कता मनमा चिसो पस्ने गर्छ । अझ कनफट्टा बाबाहरू देख्दा त एउटा अनजान भयले सताइ हाल्छ । यो उमेरमा पनि मनलाई सम्हाल्न केही समय लागी नै हाल्छ । बढ्दो उमेरसँगै बच्चामा झैँ भयभीत हुन छाडियो होला तर, मनमा गडेको भय हराउन सहज हुँदैन रहेछ ।

दसैँको टिकाको दिन थियो, त्यो । म बाहिर जान तयार भएर घरको मूल ढोका खोल्दै थिएँ । एउटा कनफट्टा बाबा मेरै सामुन्ने उभिएको देखेँ । केही दान मागे । मैले उसलाई चाँडै बिदा गर्ने सोचले केही रुपैयाँ दिएँ । त्यसपछि उसले मलाई खल्तीबाट एक सय रुपैयाँ निकाल्न र आफ्नै हातमा राख्न आदेश दियो । मेरो राम्रो हुने लोभ पनि देखायो । नाइँ भन्न सकिन । हिचकिचाउँदै खुरुक्क झिकेर मुठ्ठी बन्द गरेँ । बाबाले के के मन्त्र फुके कुन्नि मेरो हातबाट सय रुपैयाँ गायब थियो । थियो त केवल एउटा सयपत्रीको फूल । उसले त्यो फूल पनि लुकाएर राख्न आदेश दियो । त्यो भने मानिएन । ऊ मलाई एक सय रुपैयाँ चुना लगाउँदै अर्को घर तिर हानियो, म त्यही फूल हेरेको हेर्‍यै भएँ । ट्वाँ परेर ।

लाग्छ, उसले ममाथि मायावी जादु गर्‍यो कि वा हिप्नोटाइज् । नत्र निमेषभरमा मेरो हातमा नोटको सट्टा फूल कसरी आउँथ्यो ? आजसम्म सोच्दै छु । मलाई झुक्काउन कि त्यही साधुले सके कि त मेरा नेताहरूले । तर जे भए पनि कमै भेटिन्छन्, यस्ता मायावीहरू । बेइमान नेताभन्दा त निकै कम ।

लाग्छ, मानिसले मनमा कोरेका हरेक बिम्ब सही हुँदैनन् । 

एक पटक रत्नपार्कबाट चाबहिल आउँदा त्यस्तै एक जना साधुले बच्चा देखेर मलाई काखमा राख्न खोजेका थिए । उसको नियत सही थियो नै होला । बसमा मानिसहरूको भीडमा मलाई सजिलो होस् भन्ने चाहना थियो जस्तो लाग्छ अहिले । ममीले पनि बसे हुन्छ भनिन् । म बस्न मानिन । अन्त्यमा त्यही साधुले ममीलाई बस्ने ठाउँ छाडेर आफू उभिए । मन कमलो रहेछ । मन भित्रका त्रासका विन्यासहरूले सजिलै कहाँ छाड्थ्यो र’ ।

मैले कमलो मन भएका साधुहरू पनि धेरै देखेको छु । तर, पनि मनमा गाडिएको भयसँग कसले सहजै पार पाउन सक्दो रहेछ र’ । जीवनमा मात्र एक पटक भेटेको खप्तड बाबाका समीप पुग्दा निकै आत्मीयता महसुस गरेको थिएँ । उनको नम्रताबाट निकै प्रभावित भएको थिएँ । उनको ज्ञानको सागरभित्र केही बेर तैरिन पाउँदा अथाह आनन्द महसुस गरेको थिएँ । त्यो बेला भने हराएको थियो, मनका डर । तर कमै भेटिन्छन्, पहिलो भेटमा नै मनमा बसाउन लायक पात्रहरू ।

०००

लाग्छ, मानिसले मनमा कोरेका हरेक बिम्ब सही हुँदैनन् । 

अहिले मलाई थाहा छ । मनमा मैले बनाएका वा अरूले मेरो मनमा बनाइ दिएका गलत बिम्ब कै कारण ती पशुपतिबाट चन्दन ल्याउने वृद्ध र पशुपतिनाथका भक्त साधुहरूसँग मैले वर्षौँ त्रसित भएर जीवन बिताएको रहेछु । बरु जोसँग भयभीत हुनुपर्ने हो, उनैसँग नजिक भएर बसेको रहेछु । तर, कसम खाएकै छु । ममाथि कपट गर्नेहरूसँग भिड्न मात्र भए पनि मेरो मनभित्रको ब्वाँसोलाई सधैँ जीवितै राख्नेछु ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि