बैशाख १३, २०८१, बिहीबार
               

शास्त्र, नेता र धन-सम्पत्तिको कुरा

निरज कोइराला
मंसिर ०९, २०७७

ADVERTISEMENT

मानिस सृष्टिकै उत्कृष्ट प्राणी । मानिससँग क्षमतामात्र छैन, अनेकन् विशेषता पनि छन् । कोही दानी हुन्छन् त कोही कन्जुस । कसैले मित्रभाव राख्छन् त कोही वैरभाव । यस्तै यस्तै धेरै छन् विशेषता । त्यस्तै कोही धनी मानिस छन् त कोही गरिब । कोही दयालु र कोही निर्दयी स्वभावका मानिस छन् ।

धन र सम्मान दुवै खोज्ने नेता भएको भए पनि नेपालले फड्को मारिसक्ने थियो । तर यहाँ अधिकतम नेताको अनुहारमा सर्वत्र लोभ, लालच र अहंकारको लप्का पोतिएको छ ।  

मानिसको स्वभाव फरक फरक भएजस्तै नेपाली नेताको स्वभाव पनि स्वाभाविक रूपमै फरक फरक छ । हाल विश्वभर ७ दशमलव ८ बिलियन मानिस छन् । नीति शास्त्रअनुसार ती तीन प्रकारका छन् । शास्त्रअनुसार संसारमा तीन प्रकारका मान्छेले मात्र जन्म लिन्छन् । एकले धन मात्र खोज्छ । अर्कोले धन र सम्मान दुवै खोज्छ । तेस्रोले मात्र सम्मानको इच्छा राख्छ । नीति शास्त्रमा भनिएको छ ।

अधमा धनमिच्छन्ति धनं मानञ्च मध्यमाः ।
उत्तमा मानच्छिन्ति मानो हि महतां धनम् ।। 

सत्तामा नेपालका राजनीतिक नेताहरू जुनसुकै विचारधाराका आउन् । शासन सत्तामा हुँदा प्रायजसोले धनमात्र खोज्ने गरेका छन् । जतिधेरै कमायाे, उत्तिकै लोभलालच बढ्ने गरेको छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपुग के होला र ? तर उनी आर्जनको मामिलामा निकै विवादमा परेका छन् । यति ग्रुपदेखि औषधि खरिदसम्ममा उनको नाम मुछिएको छ । खासमा ओली र अरू समकालीन नेताले तेस्रो प्रकारको अर्थात् सम्मानमात्र पाउने मानव हुन खोजेको भए त्यो सम्भव थियो । यसले व्यक्ति, समाज र देशको भलो हुने थियो । 

ल माथि भनेझैँ दोस्रो मानव अर्थात् धन र सम्मान दुवै खोज्ने नेता भएको भए पनि नेपालले फड्को मारिसक्ने थियो । तर यहाँ अधिकतम नेताको अनुहारमा सर्वत्र लोभ, लालच र अहंकारको लप्का पोतिएको छ ।  

शास्त्रअनुसार निम्नस्तरको सोच भएका मानिस सदा सर्वदा धनको नै पछि लाग्छन् । तर हाम्रो समाजमा धनको पछि दौडिरहनेहरू नै सर्वथा 'महान्' ठहरिएका छन् । धेरैजसो धन प्राप्तिका लागि जस्तोसुकै कार्य गर्न पनि पछि हट्दैनन् । यिनीहरूलाई मात्र सम्पत्ति भए पुग्छ । यस्ता व्यक्तिहरूलाई शास्त्रले अधमको संज्ञा दिएको छ । 

यही प्रस‌ंगलाई हाम्रो समाजसँग जोडेर हेर्ने हो भने प्रशस्त उदाहरणहरू पाउन सकिन्छ । सम्पत्तिको नै पछि लागेर घर, समाज, राष्ट्रसँग बेइमान गरेका खबरहरू अझै ताजा नै छन् । चाहे त्यो ३३ किलो सुन काण्डमा मुछिएको उच्च तहका प्रहरी अधिकारी र निजामती कर्मचारी हुन् वा वाइडबडी काण्ड नै किन नहोस् । यहाँ मात्र सम्पत्तिलाई प्रधान मानिएको छ ।

समाजमा मान्छे यतिसम्म अधम भएका छन् कि अहिलेको यो कोरोना भाइरस महामारीको विषम परिस्थितिलाई पनि बदनियतपूर्ण अवसर बनाउने गरिएको छ । कालोबजारी होस् वा जनस्वास्थ्यको ख्याल गर्न छोडेर महामारीलाई धन कमाउने अवसर मानेर स्वास्थ्य सामग्री खरिदको घोटाला । यी सबै अधम हुन् । मानिस सम्मान होइन धनको पछि लागेका उदाहरण हुन् । यहाँ मात्र पैसा कमाउनु परेको छ । पैसा भएपछि मान, सम्मान र प्रतिष्ठा खरिद गर्न सकिने भ्रम वा सतही यथार्थले काम गरेको छ । 

मध्यम सोच भएका मानवहरू को सोच अधमहरूको भन्दा केही माथि उठेको हुन्छ । यी व्यक्तिहरू धन र सम्मान दुबैलाई सँगसँगै लाने गर्छन् । यस्ता व्यक्तिलाई समाजमा बाँच्नु पनि छ । त्यसैले उनीहरू धनका साथै आफ्नो मान, इज्जतको पनि ख्याल राखी समाजमा त्यस्तै किसिमका कार्य गर्ने गर्छन् । यस्तो चरित्र भएको मानवलाई मध्यम भनेर शास्त्रले तोकिदिएको छ ।

यिनीहरू मान इज्जतलाई मात्रै पनि सर्वेसर्वा मान्दैनन् । जीवनमा सम्पत्ति कमाउनुलाई मात्रै पनि ठुलो ठान्दैनन् । आफ्नो आवश्यकताअनुसार दुबैलाई उचित प्रयोगमा ल्याउँछन् । जसले गर्दा उनीहरूको जीवन सार्थक हुने गर्छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले दस वर्ष पुरानो कपडा लगाएको सन्दर्भमा भनेकी थिइन- 'मेरो मिसन जर्मन जनताको सेवा हो । उनीहरूबाट लिइएको करबाट मोडल हुने होइन ।' तर गरिब नेपाल देशका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई अझै सुविधा पुगेको छैन । विपद्का बेला पनि सांसदलाई दसैँ भत्ता चाहिएको छ । 

संसारमा केही यस्ता व्यक्ति पनि हुने गर्छन् । जो आफ्नो मान, सम्मान, इज्जत, प्रतिष्ठालाई नै सर्वोपरि ठान्ने गर्छन् । उनीहरूलाई आत्मज्ञान हुने गर्छ । धन, सम्पत्ति यी सब क्षणभरका लागि हुन् । यी सब नाशवान् हुन् । आफूसँग सधैँ रहिरहने भनेको समाजमा कमाएको मान, सम्मान मात्रै हो । यस्ता व्यक्तिहरू जतिसुकै सम्पत्तिको लोभमोह देखाए पनि त्यसमा आशक्ति राख्दैनन् । संसारमा यस्ता व्यक्तिहरू भलै कम होलान् तर शास्त्रले ती व्यक्तिलाई उत्तम मानिसको संज्ञामा राखेको छ । 

हाम्रो समाजमा यस्ता सोच भएका व्यक्ति पनि छन् । जो पैसा भनेको आफूलाई आवश्यक पर्ने जति छ त्यो बाहेक अरू कागजको खोस्टा ठान्छन् । आफ्नो कमाइको सारा हिस्सा गरिब, दीनदुःखी, असहायको लागि दान दिन्छन् । हामीले कयौँ यस्ता समाचार सुनेका छौँ, पढेका छौँ । जग्गाजमिन, धनदौलत अनाथाश्रम, वृद्धाश्रममा दान गरी मान र सम्मानका साथ बाचिरहेका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केलले दस वर्ष पुरानो कपडा लगाएको सन्दर्भमा भनेकी थिइन- 'मेरो मिसन जर्मन जनताको सेवा हो । उनीहरूबाट लिइएको करबाट मोडल हुने होइन ।' तर गरिब नेपाल देशका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई अझै सुविधा पुगेको छैन । विपद्का बेला पनि सांसदलाई दसैँ भत्ता चाहिएको छ । 

उत्तम कोटीका मानव पनि नेपालमा एकाध भेटिन्छन् । डाक्टर गोविन्द केसीलाई नै लिन सकिन्छ । डा. केसीले आफ्नो पारिश्रमिकको हिस्सा कुनाकाप्चामा रहेका गरिब, दीनदुःखी कै सेवामा खर्च गर्छन् । उनी आफ्नै खर्चमा देशका कुनाकाप्चामा गएर उपचारार्थ खटिन्छन् । यो सब उनले मान, सम्मान र प्रतिष्ठाका लागि गरेका हुन् । पैसा उनको लागि फगत एक कागजको खोस्टो मात्र हो, यसको अलावा अरू केही होइन ।

हामी बाल्यकालदेखि युवावस्थासम्म आइपुग्दा पैसालाई नै सर्वेसर्वा मानिसक्छौँ । जीवनको अन्त्यसम्ममा पनि पैसाको नै पछि भागिरहन्छौ । सम्पत्ति जोड्नुलाई आफ्नो जीवनको एक मात्र लक्ष्य बनाउँछौँ । धन कमाउन जस्तोसुकै काम गर्न पनि तयार हुन्छौँ । हाम्रो संस्कार पनि यस्तै छ । हामीलाई सानैमा आशिष् दिँदा मान्यजनले भन्ने गर्नु हुन्छ, ठुलो मान्छे बन, न कि असल मान्छे बन । तर कस्तो कार्य गरेर ठुलो बन्ने भनेर कहिल्यै भनिँदैन । असल व्यक्ति स्वतः ठुलो व्यक्तिमा चिनिन्छ तर ठुलो व्यक्ति असल हुन्छ भन्नेमा विश्वस्त हुन सकिँदैन । हामीले दिने संस्कारमा पनि कहीँ कतै कमीकमजोरी छ । 

यो सबलाई मूल्याङ्कन गर्दा समाजमा असल र ठुला मान्छेमा हुने ज्ञानबिचको फरकमा नै कमी देखिन्छ । अब हामी कुन ओहोदामा जीवन जिउन चाहन्छौँ, त्यो हाम्रै हातमा निर्भर गर्छ । अवश्य पनि उत्तम संज्ञाका साथ बाँच्न चाहने कि निम्न कोटीको छनोट आआफ्नै हो । पैसालाई नै सर्वेसर्वा नठानी, पैसाको नै लागि अनैतिक कार्य नगरी, समाजमा आफ्नो मान र सम्मानको पनि ख्याल गरी नैतिकवान् भएर जीवन जिउन चाहिँ मानव जीवनको सार्थकता हो ।

लेखक धर्म संस्कृति र पूर्वीय दर्शनमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि