मंसिर १७, २०७७, बुधबार
               

मृतक परिवारलाई साढे ३ लाख सहयोग

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

लमजुङ । बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय मृतक सन्तबहादुर विकका परिवारलाई गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । गत असोज ५ गते साँझ चट्याङ लागेर मृत्यु भएका विकको परिवारलाई राहतस्वरुप आज प्रदेश सरकारले ५० हजार आर्थिक सहयोग गरेको हो ।

उक्त रकम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, वडाध्यक्ष भोजबहादुर रिमाल र स्थानीयवासीको उपस्थितिमा प्रदेश सरकारका तर्फबाट प्रदेशसभा सदस्य धनञ्जय दवाडीले मृतक विककी श्रीमतीलाई घरमै पुगेर हस्तान्तरण गरे । सो रकम हस्तान्तरण गर्दै दवाडीले भने, “प्रदेश सरकारले राहत हस्तान्तरण गर्न ढिलो भए पनि यस रकमले परिवारलाई केही सहयोग पुगोस् भनेर प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो ।” प्रदेश सरकारले यस्ता विपद्बाट घटनाबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप ५० हजार उपलब्ध गराउने व्यवस्था रहेको उनको भनाइ छ ।
 
राहतस्वरुप रकम पाएपछि मृतकको परिवारले खुशी व्यक्त गरेको थियो । मृतककी श्रीमती सन्तकुमारीले भनिन्, “हाम्रो परिवारमा यत्रो ठूलो बज्रपात आइपर्‍यो, यस्तो बेलामा स्थानीय सरकारदेखि तीन वटै सरकारले साथ दिँदा मन केही हलुङ्गो भयो ।” विकको मृत्युपश्चात् सङ्घीय सरकारका तर्फबाट जिल्ला प्रशासन कार्यालयले दुई लाख र  नगरपालिकाले एक लाख राहतस्वरुप तत्कालै उपलब्ध गराएको थियो ।

यो पनि