बैशाख १३, २०८१, बिहीबार
               

जर्जियाको पुनः गणनामा १२ हजार ६७० बढी मतले ट्रम्प पछि परे, नतिजा बाइडेनकै पक्षमा

एजेन्सी
मंसिर ०६, २०७७

ADVERTISEMENT

परम्परागत रुपमा रिपब्लिकनको पकड रहँदै आएको जर्जिया राज्यमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जितले औपचारिकता पाएको छ ।

राज्यका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्परर्गले दोहोर्‍याएर गरिएको मतगणनापछि पनि बाइडेन नै विजयी भएको घोषणा गरेका हुन् । जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार ६७० मतले हराएका हुन् । राज्यको कानुनअनुसार गरिएको अडिटपछि बाइडेनको जित निश्चित भएको हो ।

राफेनस्परर्गले शुक्रबार राज्यमा आफ्नो पार्टी पराजित हुँदा निराश भएको तर नम्बरले झुट नबोल्ने बताए । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा सत्ता सम्हाल्ने तयारी गरेका छन् ।

बाइडेन विजयी भए पनि ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् । उनले बिना कुनै ठोस प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

उनका सहयोगीहरुले तीन राज्यमा चुनावको नतिजालाई चुनौति दिँदै दायर गरेका मुद्दा खारेज भएका बेला जर्जियाको नतिजा औपचारिक रुपमा बाइडेन तर्फ गएको हो ।

बाइडेनले अहिलेसम्म कुल मतमा ट्रम्पलाई ५९ लाख मतले पछि पारेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ र ट्रम्पले २३२ मत पाएका छन् ।

चार वर्ष पहिले ३०६ इलेक्टोरल कलेज मत पाएर तर पपुलर मतमा झण्डै ३० लाखले पछि पर्दा ट्रम्पले आफ्नो जितलाई ‘ल्याण्डस्लाइड’ को शंज्ञा दिएका थिए ।

ट्रम्पले मिसिगनका सांसदहरुलाई ह्वाइट हाउसमा बोलाएर चुनावको नतिजा प्रभावित पार्न खोजेको आरोप पनि लागेको छ । ट्रम्पले नतिजा प्रमाणिकरण गर्ने अन्तिम दिनमै मिसिगनका सांसदलाई ह्वाइटहाउसमा झिकाएका हुन् ।

ह्वाइट हाउस प्रवक्ता केली म्याकनेनीले भने ट्रम्पले सांसदहरुसँग त्यस्तो खालको कुनै बसह नगरेको दाबी गरेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि