चैत १६, २०८०, शुक्रबार
               

छठ पर्व र यसमा दिने अर्घ्यको महत्त्व

निरज कोइराला
मंसिर ०५, २०७७

ADVERTISEMENT

कार्तिक शुक्ल चतुर्थीदेखि छठको महापर्व चलिरहेको छ । आज यसको तेस्रो अर्थात् मुख्य दिन हो । छठ पूजा कार्तिक महिनाको शुक्लपक्ष अन्तर्गत षष्ठी तिथिमा मनाइने गरिन्छ । यसै दिनलाई तराईतिर सूर्य षष्ठीको नामबाट पनि चिनिन्छ । यो पर्व दीपावलीको ६ दिनपछि मनाइने गरिन्छ ।

खासगरी नेपालको तराई क्षेत्रको पर्सा, धनुषा, सर्लाही, महोत्तरी, सिरहा, सप्तरी, रौतहट, सुनसरीलगायतका जिल्लाहरूमा धूमधामका साथ मनाइने गरिएको छ । यो पर्वले काठमाडौं र नेपालका अन्य भागमा पनि विशेष महत्त्व पाउन थालेको छ ।

छठ पूजामा सूर्यनारायण र षष्ठी माताको विशेष प्रकारले पूजा गर्ने चलन रहेको छ । नेपाली हिन्दु समाजमा मान्यता छ कि सूर्यनारायण मात्रै एउटा यस्तो देवता हुन्, जो प्रत्यक्ष छन् । यिनै प्रत्यक्ष देवता सूर्यदेवको छठ पूजा अन्तर्गत पूजा आराधना गरिन्छ । छठको तेस्रो दिन आज षष्ठी नै विशेष दिन हो । यो दिन पूर्व निर्धारित जलाशय पूजा स्थल (घाट)मा गई सायंकालमा बाँसबाट निर्मित आकर्षक टोकरीमा गहुँ, चामलको पीठोबाट बनाइएको पुरी ठेकुवा, पुडिकिया जस्ता मिष्टान्न परिकार, केही फलफूल प्रसाद र पूजा सामग्री राखी अस्ताउन लागेको सूर्यदेवलाई अर्घ्य दिएर विधिवत् रूपमा पूजा  गरिन्छ । सन्ध्याकालमा सूर्यनारायण आफ्नी पत्नी प्रत्यूषाको साथमा रहने हुँदा यो समयमा अर्घ्य दिनाले लाभ मिल्ने विश्वास रहेको छ । भनिन्छ, सायंकालमा सूर्यको आराधना गर्नाले जीवनमा सम्पन्नता प्राप्त गर्न सकिन्छ । अर्घ्य दिइसकेपछि ब्रतालुले षष्ठी माताको पनि पूजा गरेर रात्रिमा माताको भजन कीर्तन, लोक नृत्य, सांस्कृतिक कार्यक्रम गरी छठ ब्रतको कथा सुन्छन् । 

त्यसको भोलिपल्ट अर्थात् सप्तमीको दिनमा बिहान सूर्योदय पहिले नै नदी ,घाटमा गएर उदाउँदो सूर्यनारायणलाई अर्घ्य दिइन्छ । सप्तमीको उषाकालमा सूर्यदेवलाई अर्घ्य दिएपछि काँचो दूधको सर्बत र प्रसाद खाएर ब्रतको समापन गरिन्छ । जसलाई स्थानीय भाषामा पारण भन्ने गरिन्छ । बिहानीपखको अर्घ्य सूर्यकी पत्नी उषालाई दिएको हो । प्रातः कालमा दिएको उषा अर्घ्यले सबै प्रकारका मनोकामना पूरा हुने विश्वास छ । 

सन्तान नहुने महिलाले सन्तान प्राप्तिका लागि र सन्तान हुने महिलाले आफ्ना सन्तानको दीर्घायु र परिवारको सुख, शान्तिको लागि बस्ने गर्दछन् । छठी मातालाई ब्रह्माजीको मानस पुत्री पनि भन्ने गरिन्छ । 

लेखक धर्म संस्कृति र पूर्वीय दर्शनमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि