बैशाख ०४, २०८१, मंगलबार
               

नेपाल प्रिमियर लिग १० वर्षका लागि भारतीय कम्पनीलाई ठेक्का दिने !

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनीलाई  दिने प्रस्ताव गरेको छ ।

क्यानको बुधबार सम्पन्न भर्चुअल साधारणसभामा एनपिएल आयोजना गर्नेबारे छलफल भएको थियो । क्यान पदाधिकारीको तर्फबाट एनपिएल आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनी सेभेन ३ स्पोर्टस् प्रालिलाई दिने प्रस्ताव पेश भएको छ ।

प्रस्तावअनुसार यो कम्पनीले पहिलो वर्ष करिब साढे २ करोड क्रिकेट संघलाई बुझाउनेछ । र, क्रमशः बढाएर १० वर्षमा करिब ४० करोड बुझाउनेछ ।

तर प्रस्तावित भारतीय कम्पनीले अहिलेसम्म ठूलो खेल प्रतियोगिता आयोजना गरेको रेकर्ड छैन । सन् २०१२ मा स्थापना भएको यो कम्पनीको चुक्तापुँजी एक करोड भारु मात्र छ । यस्तो कम्पनीले कसरी प्रतियोगिता सफलतापूर्वक आयोजना गर्छ भनेर बैठकमा प्रश्न उठेको एक सदस्यले जानकारी दिएका छन् ।

साथै पूर्वकप्तान एवं बारा प्रतिनिधि पवन अग्रवाल, प्रदेश ३ अध्यक्ष राजु बस्नेत लगायतले भने एनपिएल १० वर्षका लागि ठेक्कामा दिनु घातक हुने धारणा राखेका छन् ।

‘अहिलेका लागि २ करोड ठूलो रकम होला, १० वर्षमा नेपाल क्रिकेट धेरै माथि पुगिसक्छ’ क्रिकेट प्रशिक्षक समेत रहेका बस्नेतले भने, ‘ठेक्कामै दिँदा पनि टेण्डर गर्ने हो ४० को सट्टा ८० पनि आउन सक्छ ।’

बस्नेत, अग्रवाल लगायतको जोड क्रिकेट संघ आफैंले प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने थियो । ‘प्रतियोगिता आयोजनाको सबै जिम्मा अरुलाई दिएर रोयल्टी मात्र लिने हो भने नेपालमा भइरहेका अरु लिगभन्दा के फरक रह्यो छ ?’ अग्रवाल भन्छन्, ‘जोखिम लिएर भए पनि यो प्रतियोगिता क्यान आफैंले आयोजना गर्नुपर्छ । बरु इभेन्ट म्यानेजमेन्टका लागि कम्पनीहरु हायर गर्न सकिन्छ ।’

नेपाल प्रिमियर लिग आयोजना गर्नुपर्छ भन्नेमा साधारणसभाका प्रतिनिधिहरु एकमत रहेको क्रिकेट संघले जनाएको छ । बैठकले क्रिकेट संघको स्वामित्व रहने गरी एनपिएलका लागि सम्झौता अगाडि बढाउने जिम्मा केन्द्रीय कार्यसमितिलाई दिएको छ ।

यदि प्रस्तावअनुसार भारतीय कम्पनीलाई एपिएल आयोजनाको ठेक्का दिने निर्णय गर्दा पनि क्यानले राष्ट्रिय खेदकुद परिषद्मार्फत सरकारसँग अनुमति लिनुपर्छ ।


कस्तो लाग्यो ?

यो पनि