मंसिर १७, २०७७, बुधबार
               

राजनीतिको हिलोमा डुब्‍ने छुट छैन यहाँलाई, महामहिमज्यू !

चेतन पाण्डे
मंसिर ०४, २०७७

बिहीबारदेखि नै सुरु भएको छठ पर्वको मुख्य विशेषता मध्ये एक हो, डुब्न लागेको सूर्यको आराधना ।

हामी नेपालीको अहिलेको बाध्यता पनि यस्तै छ । आफ्नै कारण डुब्न लागेको सूर्यको हामी आराधना गर्दै छौँ । प्रभुहरू हो ! गरिबीले आक्रान्त यो मुलुकका बारेमा पनि यसो समय निकालेर केही सोच्ने कि, केही गर्ने कि ?

सधैँ आफ्नै वरिपरि भइरहेका रुवाबासीलाई शान्त बनाउन नै चलखेल गर्नु पर्ने समस्याले ग्रस्त सत्तारुढ दलबाट अब मुलुकको भलो हुन्छ भनेर पत्याउन छाडिएको छ । अहिले त सत्ताका लागि लुछाचुँडी गर्न अति उत्तम व्यवस्था पनि जनताले सुनको थालमा पस्किएर दिएकै छन्, दलहरूलाई । त्यसमाथि आफैँले उत्पादन गरेका काल विषमा डुबुल्की मार्दै डुब्‍नै लागेको सूर्यलाई अर्घ दिएर प्राण दान दिने कसम मुलुक कै राष्ट्रपतिले खाएपछि त बन्न नसक्ने कुरो पनि बन्न थालेका छन् ।

जनताले चाहेको मुलुक यो कदापि होइन । कहाँ चाहेका थिए र’ २–४ जनाको मुट्ठीमा सारा मुलुकको भविष्यलाई बन्धक बनाउन । अनि कहाँ चाहेका थिए र समृद्धिको नाममा नव सामन्तवादको उदय गराउन ।

अक्षरमा पढ्न र मुखले प्रशंसा गर्न त लायक कै छ, यो शासन व्यवस्था । तर, यथार्थमा ‘बाँदरको हातमा नरिवल’ बनिरहेको छ, यही व्यवस्था ।

झन्डै १७ हजार कोख उजाडिएपछि पो आएको हो, यो व्यवस्था । इतिहास मै पहिलो पटक गणतन्त्रको अभ्यास गरिरहेको छ, यो देश । अनि पहिलो पटक नै सङ्घीयता र स्थानीय सरकारको अवधारणामा चलिरहेको छ, यो देश । 

अक्षरमा पढ्न र मुखले प्रशंसा गर्न त लायक कै छ, यो शासन व्यवस्था । तर, यथार्थमा ‘बाँदरको हातमा नरिवल’ बनिरहेको छ, यही व्यवस्था । 

जनताको काम व्यवस्था परिवर्तनका लागि लड्नु थियो । उनीहरूले लडे । कसैले जङ्गलदेखि बस्तीसम्म त कसैले सडकमा । जुन मोर्चामा सके, त्यहीँ भिडे । यो व्यवस्था ल्याउन कतिले प्राण कै आहुति दिए त कतिले आफूलाई अपाङ बनाए । अनि सुम्पिए आफ्ना सपनाका चाबी नयाँ व्यवस्थामा पुरानै शासकहरूलाई ।

भनाइ छ, देश असल शासन व्यवस्थाले मात्र बन्दैन, असल शासक भए व्यवस्था जतिसुकै खराब भए पनि मुलुक समृद्ध बन्छ ।

सामन्तवादलाई फालेर साम्यवादलाई गन्तव्य बनाएको धाक लगाउनेहरू अहिले नयाँ सामन्ती संस्कारको अभ्यासमा जुटे झैँ देखिएका छन् । एउटा सिंहासनलाई सङ्ग्रहालयमा सजाएको यो मुलुकले अहिले धेरै सिंहासन निर्माण गर्नु परिरहेको छ ।

राजा सुन्ने र बोल्ने भए भनेर सहनै नसकेकाहरू अहिले राष्ट्रपतिले दलगत किचलोमा हात हाल्दा पनि मुखमा बुझो कोचेर रमिते नै बनिरहेका छन् । हिजोसम्म देशका विषयमा मात्र डाँको छाड्ने भनिएका नागरिक समाज समेत दल विशेषको किचलो मिलाउन अग्रसर हुन थालेको छ । विज्ञप्ति निकालेरै गुटमा बाँडिएका नेताहरूलाई मिल्न आदेश दिन थालेका छन् । यस्तै कारणहरूले अगाडि चल्नु पर्ने हाम्रा पाइला पछाडि सर्दै छन् ।

यो व्यवस्थाले राष्ट्रपतिको हात मुख बाँधेको छ । राष्ट्रपति बनेपछि कोठा मै बसेर राजनीतिक घटनाक्रमहरू नियाल्न त पाइएला तर, चासो राख्न पाइन्न । विडम्बना अहिले हामी सही बाटोमा छैनौँ । हाम्रो संविधानका भावना र जनताका चाहनामाथि खेलबाड हुँदै छ । हामीले हिजो जुन बाटो त्यागेका थियौँ, आज त्योभन्दा खराब बाटोमा हिँड्न बाध्य पारिएको छ । जनताका भविष्य औँसीको अँध्यारो बनेको छ । 

जुन सामन्ती संस्कारको विरोधमा हजारौँको बलि चढाइयो, आज त्यसैसँग मिल्दोजुल्दो शासन व्यवस्थाको अभ्यास भइरहेको छ । जुन पूर्णतः हाम्रै संविधानले निषेध गरेको छ । हिजो राजाले समेत गर्न हिचकिचाउने कार्य, आज राष्ट्रपतिबाट भइरहेको छ ।

महामहिमलाई राजनीतिका दाउपेचबाट बाहिर निस्कने चाहना नै थिएन भने राष्ट्रपति बन्न हतारो पनि गर्नु हुँदैन थियो । धुम्रबराही वा बालुवाटार तिर चासो देखाउने रहरलाई शीतल निवासको प्रवेशसँगै तिलाञ्जली दिन सक्नु पर्थ्यो । अहिले राष्ट्रपतिबाट नेकपाको किचलोमा जसरी हात हाल्ने काम भइरहेको छ, त्यो संवैधानिक नैतिकताले गर्नै मिल्दैन । यस्ता कार्यले शीतल निवासमाथि जनताको आस्था हराएर जाने छ । अनि राष्ट्रपति परिसर अमुक पार्टीको क्रिडास्थल मात्र बन्ने छ । जब पार्टीको नेता बन्ने चाहना ज्युँदै थियो भने यहाँले राष्ट्रपति बनेर ठुलो गल्ती गर्नु भएको रहेछ, महामहिमज्यू !

महामहिम ज्यू ! यहाँ त सुन्न र बोल्न पनि थाल्नु भएको छ, समाचार छपाएर । यहाँका कार्यले यो व्यवस्थालाई असफलता तिर लैजाँदै छ, ख्याल गर्नुस् ! यो व्यवस्थाको असफलता चाहनेहरू अहिले मुस्कुराइ रहेका होलान् । अनि राजतन्त्र फालेको एक दशक पनि बित्न नपाउँदै मुलुकको पहिलो महिला राष्ट्रपति बन्न सफल गरिमालाई यस्ता आला काँचा हर्कतले नै यहाँको अपरिपक्व राजनीतिक चेतको पनि खुलासा गर्दै जाने छ । जसका कारण इतिहासले नै यहाँलाई असफल राष्ट्रपतिको पगरी लगाइदिने छ, सम्माननीय राष्ट्रपतिज्यू !

‘सुन्ने र बोल्ने’ राष्ट्राध्यक्ष नै चाहिएको भए राजतन्त्रको सट्टा राष्ट्रपति व्यवस्था अब्बल मान्न सकिन्थ्यो । त्यो अवस्थामा हरेक ५ वर्षमा जनताले आफ्नो भाका बोल्ने राष्ट्रपति छान्न पाउने थिए । ‘बोल्न र सुन्न’ नसक्ने अभिभावकको आवश्यकता ठानेर मात्र गणतान्त्रिक व्यवस्थामा पनि राष्ट्रपतिको आवश्यकता महसुस गरिएको हो । बोल्ने, सुन्ने अनि काम गर्ने जिम्मा यो व्यवस्थाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई दिएको छ । यही नेपालको संविधानले यहाँलाई खोपीको देउता बनेर बस्ने आदेश पनि दिएकै छ । 

कुनै पनि जनता निरन्तर मुलुकको मानमर्दन भएको हेरेर बस्न सक्दैनन् । मुलुकको समृद्धिको प्रतीक्षामा अन्धकार मात्र व्यहोर्ने अब कहिलेसम्म ? जब मुलुकका अभिभावक नै बाटो बिराउँछन्, तब त्यो मुलुकको विकास असम्भव छ । समृद्धि असम्भव छ ।

सम्माननीय राष्ट्रपतिज्यू ! यहाँ कै पार्टीबाट काठमाडौँ महानगरका मेयर बनेका व्यक्ति आफ्नो बेइज्जत हुने भयले जनताको गाँस चुँड्न प्रहरी खटाउँछन् । यो महानगरमा भोकै भौँतारि रहेकाहरूको मुखसम्म पुगेको गाँस चटक्क लुछ्दा उनीहरूको भोको आत्माले कति सराप्दो हो ? अनि उनीहरूले सराप्दा निस्कने आँसुको भेललाई रोक्ने साहस कसरी र कसले गर्न सक्छ होला र’ खै ? 

सुन्ने नै आँट छ भने मुखमा पुगेको गाँस निल्न नपाउँदै टुँडिखेलबाट लखेटिएका र उनीहरू जस्तै भोकले छटपटिइरहेका जनताको पेटबाट निस्कने आवाजलाई सुन्नुस् । बोल्ने नै हिम्मत छ भने भने ती भोका जनताहरूको लागि बोल्नुस्, मुलुकको समृद्धिका लागि बोल्नुस् । महामहिमज्यू ! न कि यहाँको पार्टीको कचिङ्गलमा ।

सक्नु हुन्छ भने बरु त्यो सम्मानित संस्थामा उछिट्टिएका ती हिलाका बाछिटाहरूलाई धुने प्रयास गर्नुस् । शीतल निवासलाई हरेक जनताको आस्थाको केन्द्र बनाउनुस् ।

यहाँहरू जुन आस्थाको फेरो समातेर मुलुकको सर्वोच्च पदसम्म पुग्नु भयो, त्यो नैतिकताको धरातललाई चटक्क नबिर्सनुस् । साम्यवादको फेरलाई सामन्ती संस्कारको रङ्गमा नढाल्नुस् । नत्र विवश बन्ने छन्, जनता । फेरि एक पटक आफूलाई धोका दिनेहरू विरुद्ध सङ्घर्ष गर्न ।

अन्त्यमा, महामहिम ज्यू ! अब पार्टीगत राजनीति गर्ने नैतिकता यहाँले गुमाइसक्नु भएको छ । पार्टीगत राजनीतिको हिलोमा आफूलाई डुबाएर राष्ट्रपति जस्तो गरिमामय संस्थाको साखलाई धुमिल नबनाउनुस् । सक्नु हुन्छ भने बरु त्यो सम्मानित संस्थामा उछिट्टिएका ती हिलाका बाछिटाहरूलाई धुने प्रयास गर्नुस् । शीतल निवासलाई हरेक जनताको आस्थाको केन्द्र बनाउनुस् । सक्नु हुँदैन भने राजीनामा दिएर भंगालतिरै सर्नुस्, जहाँ यहाँको आफ्नै महल छ । तर, त्यहाँ पनि यहाँलाई राजनीति गर्ने छुट मिल्ने छैन । यहाँहरूले नै सङ्घर्ष गरेर बनाउनु भएको संविधानको पालना गर्ने हो भने यहाँको राजनीतिक जीवनले त्यही दिन मृत्यु वरण गरिसकेको छ, जुन दिन यहाँले राष्ट्रपतिका रूपमा शीतल निवास प्रवेश गर्नु भयो । 

राष्ट्रपति कुनै दल वा व्यक्ति विशेषको हुनै सक्दैन । उ त सारा जनताको बन्न सक्नु पर्छ । नसक्नेले त्यो गरिमामय पदमा आसीन हुने चाहना गर्नु पनि धोका हो । राष्ट्रमाथि, जनतामाथि र संविधानको भावनामाथि ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि