बैशाख १४, २०८१, शुक्रबार
               

भाइपूजा र टीका कसरी लगाउने ? शास्त्रले के भन्छ ?

निरज कोइराला
कात्तिक ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । यमपञ्चकको विशेष र अन्तिम दिन सोमबार कार्तिक शुक्लद्वितीया हो । यस दिन दिदीबहिनीले दीप, कलश र गणेशको पूजा गरी दाजुभाइको दीर्घायु, सुख, समृद्धि र आरोग्यको कामना गर्दछन् । हामीले देख्ने गरेका छौँ स्थान अनुसार भाइपूजा भिन्नभिन्न तरिकाले गर्ने गरेका छन् । कयौँलाई भाइपूजा कसरी गर्ने भन्ने शंका उपशंका हुन सक्छ । भाइ पूजा कै लागि भनेर शास्त्रमा विशेष पूजाको उल्लेख गरिएको छ ।

शास्त्रमा उल्लेख गरिए अनुसारको भाइपूजा

कार्तिक शुक्लद्वितीयको दिन प्रातः समयमा उठेर आफ्नो शौचस्नानादि नित्यकर्म सक्नुपर्दछ । त्यसपछि पूजा गर्ने सम्पूर्ण सामग्री आफ्नो समीप ल्याएर भाइपूजा गर्ने स्थानमा आई शुद्ध आसनमा बसेर कर्मपात्र निर्माणसहित प्रतिज्ञा सङ्कल्प गर्नु पर्ने बताइएको छ । नियमानुसार दीप, कलश, गणेशको पूजा गरी यमको प्राणप्रतिष्ठा गर्नको निमित्त सानो पीठको निर्माण गर्नुपर्ने विधि उल्लेख गरिएको छ । प्राणप्रतिष्ठा गरिएको पीठमा आह्वानम्, आसनम्, पाद्यमादि षोडशोपचारले यमको पूजा गर्नु पर्छ । यमको पूजा गरिसके पश्चात् यमको दूतलाई गर्दै प्रार्थना गर्दै स्मरण गर्नु पर्छ । यमको दूतपछि यमको बहिनी, सूर्यकी छोरी, लोककी माता हजुरलाई मेरो नमस्कार छ भनी यमुनाको प्रार्थना गर्ने र उनकी सहयोगीलाई पनि स्मरण गर्दै प्रार्थना गर्नु पर्ने विधि शास्त्रमा बताइएको छ ।

यमको पूजा सकी नवग्रहसहित पाञ्चायन देवताको जे उपलब्ध छ, त्यसैबाट पूजा गर्नुपर्छ । त्यसपछि धूप,दीप, नैवेद्य चढाउनु पर्छ । यति गरिसके पछि मार्कण्डेयसहित बलि, व्यास, हनुमान, विभीषण, कृपा, दौण र परशुरामलाई सम्झी प्रार्थना गर्नुपर्छ । अष्टचिरञ्जीवीको प्रार्थना गरिसकेपश्चात् पुनः यमुनाको स्तुति गर्नुपर्ने उल्लेख गरिएको छ ।

यम र यमुनाको पूजा गरिसकेपछि भाइपूजा गर्नुपर्छ । त्यसका लागि पहिले आफ्नो दाजुभाइको दीर्घायु, धन, निर्भय, निरोग्य, सुख, शान्ति, समृद्धि र आरोग्य प्राप्त होस् भनी प्रार्थना गर्नुपर्ने शास्त्रोक्ति रहेको छ । लोकानुसार भाइको जीवन रक्षार्थ ढोकामा ओखर फुटाई यम आगमनको निषेधार्थ यमको बाटो छेकिन्छ  । यसरी फुटाइएको ओखरले भाइमा कुनै बाधा अड्चन नआउने जनविश्वास रहेको छ । यसै गरी यमराजको प्रतीकको रूपमा रहेको बिमिरोको पूजा गरिन्छ । दाइ र भाइ बसेको स्थानमा पानी,तेल र दुबाले सात घेरो हालेर रेखा कोरिन्छ । त्यसै गरी दिदीबहिनीले दाजुभाइको निधारमा सेतो शान्ति , रातो मङ्गल ,हरियो सद्बुद्धि , पहेँलो दीर्घजीवी, निलो निरोगिता, सुन्तला धैर्यता र प्याजी निर्भयको प्रतीक  सप्तरङ्गी टीका लगाइदिने प्रावधान छ । टीका लगाइसके पश्चात् सगुन स्वरूप दाजुभाइलाई दही खुवाइदिने चलन रहेको छ । दाजुभाइको स्वास्थ्यको ख्याल राखी फलफूल, मिष्टान्न, रोटीको विभिन्न परिकार दिइन्छ ।

दाजुभाइले पनि लक्ष्मी , सरस्वती ब्राह्मीको स्वरूप मानी दिदीबहिनीको पूजा गर्छन् । आयु, लक्ष्मी, धनधान्य निरोगिता दिने तिमी जस्ती देवीको सदासर्वदा पूजा गर्छु भन्दै स्तुति गान गर्नुपर्ने शास्त्रले तोकेको छ । दाजुभाइले पनि सप्तरङ्गी टीका लगाइदिएर दिदीबहिनीलाई दक्षिणा, वस्त्र दान गरी तृप्त पार्नुपर्ने बताइएको छ । यसरी सबैको पूजा गरी अन्त्यमा पुनः यमको स्तुति गर्दै अर्घ्य चढाई हामीले गरेको पूजामा केही गल्ती भएको भएमा क्षमायाचनासहित भाइपूजा सम्पन्न गर्ने विधि रहेको छ ।

लेखक धर्म संस्कृति र पूर्वीय दर्शनमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि