बैशाख ०८, २०८१, शनिबार
               

शौचालयको ‘समुद्घाटन’मा मन्त्रीको ‘गरिमामय’ उपस्थिति

श्यामसुन्दर पुडासैनी
कात्तिक २७, २०७७

ADVERTISEMENT

नेपालको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ लेखिँदै आएकोमा मन्त्रिपरिषद्को ११ असोजको बैठकले ‘नेपाल’ मात्रै लेख्ने निर्णय गर्याे । यसमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका पूर्वमाओवादी धारका नेताहरुले चर्काे विरोध जनाइरहेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने आफ्नै पार्टीको सरकारको निर्णय मुलुकलाई प्रतिगमनतर्फ लैजाने चेष्टा भएको आरोप पूर्वमाओवादी धारका नेताहरुले लगाउँदै आएका छन् । ‘सरकारको नियत नै संघीय गणतन्त्र हटाउनु नै हो कि ?’ भन्ने आशंका उनीहरुको छ ।

नेपाली जनताको वर्षौंदेखि संघर्ष, त्याग र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई केपी शर्मा ओली सरकारले कुल्चन खोजेको बताउँदै सो निर्णय फिर्ता नभए आन्दोलन गर्ने समेत केहीले चेतावनी दिएका छन् ।

हो, गणतन्त्र र संघीयता जनताको बलिदानले स्थापित राजनीतिक उपलब्धि हुन । यसलाई नकार्न नसकिएला । तर यति ठूलो उपलब्धि भनिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका संघीय सरकारले प्रभावकारिता पक्कै पनि ठूलो हुनुपर्ने हो ।

प्रदेश सरकारका मन्त्रीहरु संघीयता कार्यान्वयन गर्न दौडधुपमा व्यस्त हुनुपर्ने हो । अभ्यासको क्रममा रहेको संघीय प्रणालीलाई सफलतापूर्वक संञ्चालन गर्नुपर्ने चुनौतीको पहाडमाथि रहेका प्रदेश सरकारका मन्त्रीहरुको दिनचर्या र कामका केही उदाहरण हेरौँ र मनन गरौँ,– के नेपालमा संघीयता यसैको लागि हो त ?

प्रदेश सरकार र प्रदेश मन्त्रीहरुको काम, कर्तव्य, पदीय दायित्व र मर्यादा यही हो त ?

रिबन काटेर समृद्धिको सपना 

गणतन्त्र र संघीयतको लागि भन्दै एक दशक लामो सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा माओवादीका नेता हुन् शालिकराम जमकट्टेल । हाल नेकपाका नेता उनी बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् ।

प्रदेशका आफ्नै शासन र प्रशासनको अधिकार छ । अभ्यासको क्रममा रहेको संघीय प्रणालीलाई सफलतापूर्वक सञ्चालन गर्नुपर्ने ठूलो चुनौती छ । जमकट्टेल कानुनमन्त्री हुन् । नेपालमा संघीयताको सुरुवाती चरणमा रहेकाले पनि संवैधानिक मूल मर्म र भावना अनुसार प्रदेश चलाउन थुप्रै कानुन बनाउनुपर्ने छ ।

यसले पनि कानुनमन्त्रीको व्यस्तता अझ बढेको होला । मुलुकमा तीव्र गतिमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणमा संघ र स्थानीय सरकारलाई जोड्ने पुलको रुपमा काम गर्न प्रदेश सरकारको महत्वपूर्ण भूमिका छ ।

उनी आन्तरिक मामिलामन्त्री भएकाले यसमा ठूलो तथा महत्वपूर्ण भूमिका उनैको हुनेछ । मन्त्रालयका कामहरु पनि प्रशस्त होलान् । धेरैलाई यस्तो लाग्न सक्छ ।

तर, बुधबार एक उद्घाटनमा रिबन काट्न सहभागी भएका उनै मन्त्री जमकट्टेललाई देखेपछि आम नागरिक अचम्मित भए । जिल्ला प्रहरी कार्यालय नुवाकोटको शौचालयको उद्धघाटन गर्न उनै आन्तरिक मामिला तथा कानुनमन्त्री जमकट्टेल गएका थिए । 

शौचालय उद्घाटन र मन्त्रीको के सम्बन्ध त ? उनी आन्तरिक मामिलामन्त्री हुन् । प्रहरी कार्यालय उनी मातहत पर्छ । अनि त आन्तरिक मामिला मन्त्रीसित सोझै सम्बन्ध गाँसिहालियो नि ! 

यसैले प्रहरी कार्याल परिसरमा बनेको संरचना भएकाले उद्घाटनमा मन्त्री जमकट्टेल गएका रहेछन् ।

बाग्मती प्रदेश सरकारको साँढे ३ करोड बजेटमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा भान्छा कोठा र शौचालय भवनको निर्माण भएको हो । उद्घाटन गर्न नुवाकोट प्रहरी प्रहरीले प्रदेश कानुनमन्त्रीलाई नै डाक्न आवश्यक ठान्यो । मन्त्री जमकट्टेल पनि फुर्सदमा थिए, अनि गइदिए । 


मन्त्री नै अतिथि भएपछि शौचालय र भान्छा उद्घाटन पनि तामझामका साथ ठूलै थियो । सोही कार्यक्रममा अर्काे दुई प्रदेश सांसद र विदुर नगरपालिकाका मेयरलाई पनि आमन्त्रण गरिएको थियो ।

मन्त्री, सांसद तथा मेयरको स्वागतका लागि पुष्पगुच्छा र रिबन काट्नका लागि कैँची बोकेर प्रहरी कर्मचारीहरु तम्तयार थिए । 

मन्त्री आइपुगे ।

उनको स्वागतका लागि प्रहरी कार्यालय भन्दा ३ सय मिटर तल मुख्य सडकमै पञ्चकन्या र खादा तयार थियो ।

प्रहरी कर्मचारी तथा नेकपाका कार्यकताहरु भारतबाट आयात फूलको माला हातमा लिएर स्वागतका लागि तयार थिए । 

मन्त्री जमकट्टेल गाडीबाट ओर्लने बित्तिकै उनका गलाले नथाम्ने गरी माला पहिराइयो ।

अगाडि–पछाडि प्रहरीको स्कटीङमा प्रहरी कार्यालय परिसरमा मन्त्रीलाई लगियो ।

मन्त्रीको साथमा थिए, नेकपा बाग्मती प्रदेश प्रमुख सचेतक केशवराज पाण्डे, नेकपा नुवाकोट अध्यक्ष एवं बाग्मती प्रदेश सभा सदस्य हिरानाथ खतिवडा, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित थिए । कोरोनाको कहरकाबीच ‘चर्पी उद्घाटनमा मन्त्रीको गरिमामय उपस्थिति  हुने’ भन्दै धेरैलाई प्रहरीले आमन्त्रण गरेको थियो ।

औपचारिक कार्यक्रम सुरु भयो ।

परम्परा अनुसार पानसमा दियो बाले मन्त्रीले । 

हावा चल्ने ठाउँमा दियो बाल्न गाह्रै हुन्छ । मन्त्री आफैले हातले छेकेर लाइटर सल्काए र दियो जलाए ।

अब पालो, नवनिर्मित शौचालयको उद्घाटन गर्ने ।

धान दिबससमा उपस्थित अतिथीले धान रोपेर उद्घाटन गर्दै आएका छन् । केही वर्षअघि राष्ट्रपतिले लिफ्टको उद्घाटन लिफ्ट चढेर गरेकी थिइन् । पिङको उद्घाटन पिङ खेलेर गरेका समाचार आएका छन् । शौचालय उद्घाटन पनि कतै त्यस्तै त होइन भन्ने कार्यक्रममा सहभागीले सोच्दै थिए ।

धन्न त्यसो होइन रहेछ । यस्तोमा चाहिँ मन्त्रीले रिबन मात्रै काटे पुग्ने रहेछ ।

मन्त्रीलाई रिबन काट्न नयाँ शौचालयतर्फ लगियो ।

हातमा कैंची लिएर मन्त्रीले रातो रिबन काटे । दर्शक दीर्घाबाट परर.. ताली बज्यो ।

त्यो रोचक दृश्य देखेर कार्यक्रमा सहभागीहरु छक्क पर्दै थिए । उनीहरु आपसमा कानेखुशी गर्दै थिए । ‘सामान्य संरचना उद्घाटन गर्न भिआइपी आउँदा हुने इन्धनको खर्च, यातायातको खर्च, कार्यकर्ताको सवारीसाधनको खर्च, भिआइपीको भ्रमण खर्च कार्यक्रममा हुने अनावश्यक तामझाम सिँगार–पटार, कार्यक्रममा लाग्ने अनावश्यक खर्च वापतको कति रकम विदेशिएको छ ? यस्तोे तडक–भडकमा गरिने खर्चलाई मात्र कम गर्ने हो भने अर्काे संरचना बन्ने पैसा जोगिन्थ्यो कि ?’

मन्त्रीको मुख्य काम राष्ट्रिय नीति निर्माण गर्ने, राष्ट्रिय रुपमा देखिएका समस्याको समाधानका लागि नीतिगत उपाय खोज्ने हो । नीतिनियम प्रभावकारी भए नभएको अनुगमन र मूल्याकंन गर्ने मन्त्रीको दायित्व हो ।

आफ्ना काममा राम्रो परिणाम निकाली सरकारलाई सफल बनाउन जुटनुपर्ने मन्त्रीहरु निजी स्वार्थमा केन्द्रित बनेको आरोप सत्ता पक्षकै नेता कार्यकर्ताले लगाउने गरेका छन् ।

संघीय सरकारकै कतिपय मन्त्री गुमनाम छन् । यता प्रदेशका मन्त्रीहरु के गर्दैछन्, कसैलाई थाहा छैन । न तिनको काम छ न नाम छ । उनीहरू काममा भन्दा सस्तो लोकप्रियतामा रमाउन थालेका छन् । संविधानअनुसार काम गर्नुभन्दा हल्काफुल्का कार्यक्रममै यसैगरी उनीहरुले समय बिताउँदै आएका छन् ।

रिबन काट्ने रहर

नेपाल प्रहरीमा काबिल अधिकृतको छवि बनाएका प्रहरी उपरीक्षक (एसपी) हुन् तुलबहादुर कार्की । नुवाकोट मुलुकको संघीय राजधानी तथा प्रमुख प्रशासनिक केन्द्र काठमाडौँसंग जोडिएको जिल्ला हो ।

यसैले पनि गुण्डागर्दी, सङ्गठित अपराध, आर्थिक लेनदेन, महिला हिंसाआदि अपराधहरू धेरै भइरहन्छन् । यस्ता अपराधका ग्राफ कहिले घट्ने त कहिले बढ्दै गएको देखिन्छ ।

नुवाकोट प्रहरीको कमाण्ड एसपी कार्कीले सम्हालेपछि यस्ता अपराधका ग्राफ घटेको छ । उनलाई नजिकबाट चिन्नेहरु भन्छन् ‘एसपी कार्की चर्चा, प्रचारभन्दा काममा बढी विश्वास गर्छन् ।’

उसो भए चर्पी उद्घाटनमा उनले मन्त्रीदेखि सासंदसम्मको लावालस्कर किन बोलाए त ?

बाग्मती प्रदेश सरकारको साँढे ३ करोड बजेटमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा भान्छा कोठा र शौचालय भवनको निर्माण भएको हो । अहिले प्रदेश सरकारले विनियोजित बजेटबाट ४७ वटा प्रहरी कार्यालयका भवनहरु निर्माण भैरहेको छ । यस्तै, यसै आर्थिक वर्षमा समेत थप ३६ वटा भवन निर्माणको प्रकृया सुरु भएको छ । 

नुवाकोट प्रहरीको भान्छा तथा शौचालय पनि प्रदेश सरकारको बजेटबाट बनेको हुनाले माथिबाटै उद्घाटनको तयारी गर्न भनिएको स्रोतले बताएको छ । शौचालय उद्घाटन गर्न मन्त्री आफैँले चाहेको र आमन्त्रण गर्न निर्देशन दिएपछि एसपी कार्की स्वीकार्न बाध्य भए ।

उनले मन्त्रीको चाहना पूरा गरिदिएका रहेछन् । कोरोनाबाट बच्न सामाजिक दूरी कायम गर्नु पहिलो सुरक्षा उपाय हो । २५ जनाभन्दा बढी भेला हुन नदिने नियम कार्यान्वयन गर्ने प्रमुख निकायमा उनै मन्त्री रहेका छन् । तर मन्त्रीका रहरको अगाडि प्रहरीको के लाग्दो रहेछ र ! 

तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय नुवाकोटको फेसबुक

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि