मंसिर १७, २०७७, बुधबार
               

इतिहासका डोब र लोकतन्त्रको यात्रा

टंक कार्की
कात्तिक २७, २०७७

जंगबहादुरले आफ्नो शेषपछि श्री ३ को श्रीपेच कसले कसरी लगाउने भनेर आफ्ना १७ भाइको रोल क्रम मिलाई दिए । सिको भने उनले पनि राजतन्त्रकै विरासतको गरे । मात्र फरक के थियो भने राजतन्त्रमा उत्तराधिकार राजाको छोरामा सर्थ्यो भने उनले भाइहरूमा सर्ने थिति बाँधी दिए । दुइटैको साझा मान्यता चाहिँ राज्य पारिवारिक बपौती हो अनि रैतीको महत्त्व कर/तिरो तिर्नमा मात्र सीमित छ,  बस् ।

तर भइदियो के भने १७ भाइ कसैमा पालो पर्खिने धैर्यता देखिएन । छिटो गद्दीमा आसीन हुन भित्रभित्रै तरबारमा धार लाउँदै बस्ने र मौका पाउँना साथै गर्धन छिनाउन थाले । सबैका टाउकामाथि डोमिकल्सको तरबार झुन्डेको झुन्डै छ । काल गतिले मर्न पनि न पाउने । कसलाई कता डाँडा कटाइएको छ, को कता लखेटिएको छन् । सत्ताको लुछाचुँडी र उछलकुद मै बित्यो १०४ वर्ष, एउटा सानो घेराभित्र ।

राणा गए । राजा खोपीबाट बाहिर निस्के । अब उनलाई देखिने मात्र भएर पुगेन, बोलिने र सुनिने पनि हुनु पर्‍यो । (यसको गवाहीपछि ज्ञानेन्द्र शाहले शब्दसः दिएका हुन् ।) त्यसको निम्ति उनीहरूलाई श्रीपेच पहिरिएर मात्रै पुगेन । उनीहरू छत्रे टोपीमा सैनिक वर्दीमा ठाँटबाँटसहित सजिन पनि पछि पर्दैनथे । सोझासाझा जनता त्यसै छुलुमुतु ।

किशुनजीलाई ७ दिन पनि मौका दिइएन, बिरामी मनमोहनलाई २ दिन पर्खिएन । अहिले नेकपाभित्रको रडाको यही इतिहासको निरन्तरता हो ।

राजा पनि गए । नागरिक सर्वोच्चताको शासन आयो । केही राणाबाट सिके, केही राजाबाट । थोरै डेन्टिङ पेन्टिङ गरेर । रोल क्रममा आफ्ना आफन्ती, आफ्ना गुटका, आफ्ना जजमानका मानिस भर्ती गरियो । विमति राख्यो कि सिध्याई हाल्यो, आफ्नै साथी भाइको मुलोच्छेदन गरी हाल्यो । उता विमति राख्नेहरूमा पनि अलिक दिन अर्कालाई कुर्सीमा सन्चोले बस्न दिने उदारता पनि छैन । किशुनजीलाई ७ दिन पनि मौका दिइएन, बिरामी मनमोहनलाई २ दिन पर्खिएन । अहिले नेकपाभित्रको रडाको यही इतिहासको निरन्तरता हो ।

अहिलेकाले लगाएको फूलको मालाको भारी, अघिपछि हिँड्ने सुरक्षाकर्मीको स्कर्टिङ अनि हुँदाहुँदा तलतल पिर्कामा भए पनि उभिएर लिइने सलामी, आफ्नै सहकर्मीलाई यसलाई लाउन खान पनि आउँदैन भनेर होच्याउने कुराले केको सङ्केत गर्छन् ? दमित सामन्ती शानमात्र । आफू कुलिन घरानामा दरिन गरिने उठबस, खानपिन र भविष्यको निम्ति जोहो गर्न अपनाइएका तरिकाहरूसित आफैँले पैरवी गर्दै आएको सामाजिक मिसनले कसरी मेल खान्छ ? राजनीति नै यही हो भनेर बुझाउन खोजिँदै छ अहिले । संसार कहाँबाट कहाँ पुगी सक्यो ! हामी कहाँको कहाँ छौँ !

लोकतन्त्रलाई ट्र्याकमा ल्याउन हामीले अझै लामो यात्रा गर्नु पर्ने छ । त्यसो त लोकतन्त्र आफैँमा लामो उकाली ओरालीको गह्रुगो यात्रा न हो ।

नेकपा केन्द्रीय सदस्य कार्की चीनका लागि नेपालका पूर्वराजदूत हुन् ।

कस्तो लाग्यो ?

यो पनि