बैशाख ०८, २०८१, शनिबार
               

यस्तो छ धन्वन्तरि जयन्तीको महिमा

निरज कोइराला
कात्तिक २८, २०७७

ADVERTISEMENT

कार्तिक त्रयोदशी अर्थात् यमपञ्चकको पहिलो दिन । नेपाली समाजमा यस दिन काग तिहारलाई पूजा गरी काग तिहार मनाउने चलन छ । हामीहरू कतिलाई थाहा नहुन पनि सक्छ, यस दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्मदिन पनि पर्ने गर्छ । 

धन्वन्तरिलाई हिन्दु धर्म अनुसार देवताहरूको वैद्य (चिकित्सक) को रूपमा लिइन्छ । धन्वन्तरि यस्तो चिकित्सक थिए, जसले देव पद प्राप्त गरेका थिए । हिन्दु धर्मको मान्यता अनुसार धन्वन्तरिलाई भगवान् विष्णुको अवतार मानिन्छ ।

सुर र असुरको भीषण युद्धको बेला समुद्र मन्थनको  गरेपश्चात् धन्वन्तरिको पृथ्वीलोकमा अवतरण भएको थियो । शरद पूर्णिमाको दिनमा चन्द्रमा, कार्तिक द्वादशीको दिनमा कामधेनु गाई, त्रयोदशीमा धन्वन्तरि, चतुर्दशीमा काली माता र अमावास्यको दिनमा भगवती लक्ष्मीको जन्म भएको कथा सुन्न पाउँछौँ । यही दिनमा धन्वन्तरिले आयुर्वेदको प्रादुर्भाव गरेका थिए । 

धन्वन्तरिलाई मनपर्ने प्रिय धातु पित्तल हो । त्यसैले यस दिनमा पित्तल आदि भाडा किन्नाले लाभदायी हुने अथवा शुभफल मिल्ने धार्मिक विश्वास रहेको छ । 

धन्वन्तरिलाई भगवान् विष्णुको अवतार भनिन्छ । जसको चार हात हुन्छ । माथिल्लो दुई हातमा शंख र अर्कोमा चक्रधारण गरेको हुन्छ भने बाँकी रहेको दुई हातमा एकमा जडीबुटी वा औषधी तथा अर्कोमा अमृत कलश लिएको हुन्छ ।

धन्वन्तरिलाई मनपर्ने प्रिय धातु पित्तल हो । त्यसैले यस दिनमा पित्तल आदि भाडा किन्नाले लाभदायी हुने अथवा शुभफल मिल्ने धार्मिक विश्वास रहेको छ । 

धन्वन्तरिलाई आयुर्वेदको पनि चिकित्सा गर्न सक्षम आरोग्य, वैद्यको देवता भनिन्छ । धन्वन्तरिले नै अमृतमय औषधीको खोज गरेका थिए ।यिनकै वंशमा दिवोदास जस्ता विद्वान्को जन्म भएको थियो ।

जसले विश्वमा पहिलो शल्य चिकित्सा विद्यालयको काशीमा स्थापना गरेका थिए । जुन विद्यालयको प्रधानाचार्य सुश्रुतलाई बनाइएको थियो । सुश्रुतलाई विश्वको पहिलो सर्जनको रूपमा चिनिन्छ । सुश्रुतले नै आयुर्वेद सम्बन्धी ग्रन्थ सुश्रुतसंहिता लेखेका थिए । 

हामी सबै तिहारको पूर्वसन्ध्यामा रमाइरहेका बेलामा धन्वन्तरिले दिएका ज्ञानलाई बिर्सँदै जानु आजको विडम्बना बनेको छ । हामीलाई स्वस्थ रहनका लागि अचुक ग्रन्थ दिएका धन्वन्तरिलाई हामी बिर्सँदै छौँ । न त हामीले धन्वन्तरिलाई नै स्मरण गर्न सकेका छौँ न त यिनले दिएका ज्ञानलाई नै आत्मसात् गर्न सकेका छौँ ।

आऔँ काग तिहार सँगसँगै भगवान् धन्वन्तरिलाई पूजा गरी धन्वन्तरिसँग प्रार्थना गरौँ कि समस्त विश्वलाई नै निरोगी तुल्याई अहिले भइरहेको यस कोभिड–१९ विरुद्धको खोप निर्माणमा शीघ्र सफलता मिलोस् र समग्र मानव समाजलाई रोग विहीन गरी दीर्घायु प्रदान गरुन् । शुभकामना ।

लेखक धर्म संस्कृति र पूर्वीय दर्शनमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि