चैत १५, २०८०, बिहीबार
               

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल मैदानमै गएर हेर्न पाइने

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । बंगलादेश फुटबल फेडेरेसन (बिएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीच यही कात्तिक २८ र मंसिर २ गते ढाकाको बंगबन्ध नेशनल स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमै दर्शकलाई मैदान प्रवेश गर्ने निर्णय बीएफएफले गरेको हो ।

विश्वभर फैलिरहेको कोरोना महामारिकाको दक्षिण एसियाली देशहरुका दर्शकसहित खेल हुन सकेको छैन । तर बिएफएफले फिफा र एएफसीको गाइडलाइन्स अनुसार मैदानमा दर्शक प्रवेश गराउने जनाएको छ । यद्यपि मैदानमा कति संख्यामा दर्शक प्रवेश गराउने भन्ने एकिन गरिएको छैन । यस्तै बिएफएफले खेलको टिकट मूल्यसमेत तोकेको छ । जसमा भिआइपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ १०० टाका तोकिएको छ । रंगशाला प्रवेश गर्ने हरेक दर्शकले फिफा र एएफसीको गाइडलाइन्स पालना गर्नुपर्नेछ ।

दुई मैत्रीपूर्ण खेललाई बिएफएफले ‘मुजिब बोर्शो फिफा इन्टरनेसनल फुटबल सिरिज २०२० : बंगलादेश भर्सेस नेपाल’ नाम दिएको छ । मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुनेछ ।

यस्तै, फिफा र एएफसीको अनुमति अनुसार बंगलादेश राष्ट्रिय फुटबल टिमले कतारको दुई क्लबसंग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । त्यसबारे थप जानकारी पछि सार्वजनिक हुने जनाइएको छ ।

बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दा नेपालको ध्यान बाँकी विश्वकप छनोटको खेल र फिफा वरीयतातर्फ हुनेछ । बंगलादेशले पनि त्यसैमा ध्यान दिएको छ । फिफा विश्वकप छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले एक खेल मात्र जितेको छ ।

नेपालले सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा पछिल्लो पटक बंगलादेशसँग खेलेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई २-० ले हराएको थियो । त्यसपछि राष्ट्रिय टिमले पहिलो पटक बंगलादेशसँग खेल्न लागेको हो ।


कस्तो लाग्यो ?

यो पनि