मंसिर १७, २०७७, बुधबार
               

यमपञ्चकका पाँच दिनको महत्त्व

निरज कोइराला
कात्तिक २७, २०७७

हाम्रो देशमा प्रचलित पर्वहरू मध्येको तिहार पनि एक हो । तिहारलाई दीपावली पनि भन्ने गरिन्छ । यस पर्वमा मानिसहरू घर लिप्ने, सरसफाइ गर्ने जस्ता कार्यहरू गर्ने गर्छन् । यो पर्व पहाड, तराई र उपत्यकामा आ–आफ्नो तरिकाले मनाउने गर्दछन् । 

कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्लपक्षको द्वितीयासम्म मनाइने यो पर्व नेपालीहरू ले निकै उत्सवका साथ हेर्ने गर्छन् । पाँच दिन चल्ने भएका कारणले नै यसलाई यमपञ्चक भनिएको हो । 

यमपञ्चकको पहिलो दिन अर्थात् त्रयोदशी तिथि । यस दिन हिन्दु नेपालीहरू यमको दूत, प्रिय भक्तको प्रतीकको रूपमा रहेको कागको अर्चना गर्ने गर्छन् । बिहानै प्रातःकालमा उठेर आफ्नो नित्यकर्म सकी कागलाई मीठो मीठो मिष्टान्न खान दिएर यो पर्व मनाउँछन् । कागलाई समाचार संवाहकको रूपमा पनि लिने गरिन्छ । त्यसको भोलिपल्ट चतुर्दशीमा घरको सुरक्षार्थ खटिने, वफादारको प्रतीक मानेर कुकुरको पूजा गर्छन् । पछिल्लो समयमा कुकुरलाई वफादारको रूपमा मात्रै नभई अपराधको अनुसन्धान गर्नमा पनि उल्लेख्य भूमिका निर्वाह गर्ने पशुको रूपमा लिने गरिन्छ । 

सप्तरङ्गी टीकाको रङ्ग जस्तै दिदीभाइ र दाजुबहिनीको सम्बन्ध सधैँ गाढा रहिरहने, सयपत्री फूलका रङ्ग जस्तै कहिल्यै उडेर नजाने र मखमली फूल झैँ कहिल्यै नओइलिने प्रतीकको रूपमा लिने गरेको छ । 

यमपञ्चकको सन्दर्भमा अमावास्य (औँसी) तिथिको विशेष महत्त्व रहेको छ । यस दिन मानिसहरू पूर्वाह्न बिहानीको समयमा लक्ष्मी रुपी गाईको पूजा अर्चना गरी वन्दना गरिन्छ । त्यसै दिनको सन्ध्या कालमा लक्ष्मीको मूर्ति स्थापना गरेको स्थानमा धनराशि राखी दीप प्रज्वलनसहित शुद्ध भावनाले लक्ष्मी माताको आराधना गर्छन् । जसले गर्दा ऋणबाट मुक्त भई धन र समृद्धि बढ्ने जनविश्वास रहेको छ । औँसीको कालो रातको अन्धकारबाट उज्यालोतर्फ लैजाने प्रतीकको रूपमा त्यस दीप बत्ती बाली चारैतिर उज्यालो छर्ने गरिन्छ । विशेषतः यसै दिनदेखि नेपाली समाजमा लोकगाथा, वीरगाथा अर्थात् द्यौसीभैलो खेल्ने चलन पनि रहिआएको छ ।

कार्तिकशुक्ल प्रतिपदाको दिनमा गोवर्धन पर्वतको पूजा गरिन्छ । नेपाल एउटा कृषिप्रधान देश हो । नेपालले कृषिबाट धेरै उपलब्धि हासिल गर्न सक्छ । त्यसैले प्राचीन काल देखि नै कृषि कर्ममा सहयोग गर्ने वृषभ अर्थात् गोरुको पूजा गर्ने गरिन्छ । कुनै ठाउँ विशेषहरूमा गोरुलगायत हलोको पनि पूजा गर्ने चलन छ । यसै दिन गोठमा गई गोबरबाट पर्वतको निर्माण गरी फूल अक्षता चढाइ, धूप दीप नैवेद्य समर्पण गरी माला अर्पण गरिन्छ । 

यमपञ्चकको पाँचौँ दिन अर्थात् अन्तिम दिन कार्तिकशुक्ल द्वितीया हो । यस दिन दिदीबहिनीले दीप, कलश र गणेशको पूजा गरी दाजुभाइको दीर्घायु, सुख, समृद्धि र आरोग्यको कामना गर्दछन् । निधारमा सप्तरङ्गी टीका गलामा सयपत्री, मखमली फूलको माला लगाउने चलन छ । यिनीहरूको पनि छुट्टै महत्त्व रहेको पाइन्छ । सप्तरङ्गी टीकाको रङ्ग जस्तै दिदीभाइ र दाजुबहिनीको सम्बन्ध सधैँ गाढा रहिरहने, सयपत्री फूलका रङ्ग जस्तै कहिल्यै उडेर नजाने र मखमली फूल झैँ कहिल्यै नओइलिने प्रतीकको रूपमा लिने गरेको छ । 

यमपञ्चकको सन्दर्भमा एउटा प्रचलित धार्मिक कथा पनि रहेको पाइन्छ । मृत्युका राजा यमराज यमलोकमा बस्थे भने उसकी बहिनी यमुना पृथ्वी लोकमा बस्थिन् । यी दुईबीचमा धेरै समयसम्म पनि भेट नभएकाले यमुनाले दाइ यमराजलाई पृथ्वीलोकमा भेट्न बोलाइन् । सो समयमा यमपञ्चक परेको थियो । उक्त धार्मिक कथाअनुसार यमलाई आफ्नी प्यारी बहिनी यमुनाले प्रार्थना गर्छिन् र भन्छिन् “हे ! मेरो दाइ हजुर प्रत्येक वर्ष पाँच दिन सबै कार्य छोडेर मेरो  घरमा आएर बस्नुहोस्” यमुनाको यस्तो प्रार्थना सुनिसके पश्चात् यमले बहिनीको त्यस प्रार्थनालाई स्विकारी वर्षको पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म बहिनीको घरमा गई बसेको कथा पुराणमा उल्लेख गरिएको पाइन्छ । यसै कथालाई आधार मानेर यो पाँच दिनमा कसैको घरमा पनि कोहीले मृत्युवरण गर्न नपर्ने र कथमकदाचित् मृत्यु भइहाले पनि नर्कमा जान नपर्ने धार्मिक जनविश्वास रहेको छ । 

तिहार हाम्रो जीवनमा खुसीयाली ल्याउने पर्व हो । यसको धार्मिक र ऐतिहासिक महत्त्व त छ नै, यो बाहेक पनि यसले सामाजिक महत्त्वमा पनि ठुलो भूमिका खेलेको देखिन्छ । विभिन्न कारणले घर छोडेर गएका आफन्तजनहरू यसै पर्वलाई अवसर मानेर आफ्नो घर फर्कने गर्छन् । वर्षौँदेखि छुटिएका आफन्त, साथीभाइहरू सँग मिल्ने, रमाइलो गर्ने अवसर प्रदान गर्छ । जसले गर्दा समाजमा मेलमिलापको भावना सधैँ रहिरहन्छ । 

लेखक धर्म संस्कृति र पूर्वीय दर्शनमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि