बैशाख १२, २०८१, बुधबार
               

दुर्गमका नारी

कविता खत्री
कात्तिक २३, २०७७

ADVERTISEMENT

कस्तो विज्ञान र प्रविधिको विकास हुँदै छ यहाँ ? सृष्टिका बीज उम्रिन पाएको छैन । नारीको नाममा आधुनिक विज्ञानका उपकरणहरू एबोर्सन गर्न उद्यत छन् । के हाम्रो समाजमा छोरीको आवश्यकता नहुने नै हो त ? छोरीबिना यो सृष्टि सम्भव हुन्छ होला र ? के छोराको मात्र जन्म दिएमा यो सृष्टि चल्ने नै हो त ?

जतिनै बुझ्ने परिवार भए पनि उनीहरूको मनोभावमा हुन्छ, बरु सुस्त मनस्थितिको भए पनि एउटा छोरो त होस् । अरू बेला काम नलागे पनि मर्नेबेला पानी खुवाउँछ र मरेपछि क्रिया गर्छ रे !

एक अबोध नारी त्यो हो, जुन जन्मिएदेखि नै भेदभावको जीवनयापन बाध्य छिन् । कि त जन्मनै नपाई बीज निमोठिन्छ, निमोठ्न नसकिएकै कोखबाट जन्म लिएको उसको भाइ अब्लल स्तरको शिक्षा पाउँछ । त्यही कोखबाट जन्मिएकी छोरी भने साधारण स्कुलमा जान बाध्य हुन्छिन् । यो त आफू समाजका बुद्धिजीवी हुँ भन्ने कै घरमा कायम छ । जब उसको विद्यालयस्तरको पढाइ सकिन्छ सके केटो खोजेर बिहे गरिदिइन्छ । कोहीकोहीले घरबाट जानआउ गर्न भ्याउने क्याम्पस पढ्नसम्म पाउँछन् । त्यो पनि घर काज सम्हालेर । दुर्भाग्य अधिकांशत त्यहीँ कोखबाट जन्मिएको दाजुभाइ काठमाडौं वा अन्य सहरका महँगो क्याम्पसमा भर्ना हुन पाउँछन् । अनेकन अवसरको नजिक पुग्न पाउँछन् ।

तर दुर्गमका छोरीको नियति त्यस्तो हुन्न । जसले बिहान बेलुका घाँसको भारी बोक्नु पर्छ । घरको चुलोचौका सम्हाल्नु पर्छ । अनि बचेखुचेको समयमा पढ्नु पर्छ । यसो गरेपछि नतिजामा प्रभाव परिहाल्ने भो । तर परिवारका सदस्यहरूले जोडस्वरले भन्ने गर्दछन्- घरबाट टाढा रहेर पढेको तेरो दाजु (वा भाइ)ले राम्रो अंक ल्यायो । घरमै बसेर नि तेरो रिजल्ट राम्रो भएन । अब कसले बुझ्छ उसको बाध्यता ? ठुला–ठुला भाषणहरू छाँटे पनि हाम्रो समाजमा छोरा र छोरीलाई हेर्ने दृष्टिकोण फरक हुन सकेको छैन । 

जतिनै बुझ्ने परिवार भए पनि उनीहरूको मनोभावमा हुन्छ, बरु सुस्त मनस्थिति भए पनि एउटा छोरो त होस् । अरू बेला काम नलागे पनि मर्नेबेला पानी खुवाउँछ र मरेपछि क्रिया गर्छ रे ! के त्यो छोरीले त्यति काम गर्न नसक्ने नै हुन् त ? हाम्रो समाजमा छोरीहरू कति पिल्सिएर बसेका छन्, त्यो पिडा कसले बुझिदिने ? खै त समानता ?

जुन छोरी १२/१३ वर्षपछि रजस्वला हुन्छिन् अनि ऊ बस्नको लागि कतै गोठ खोजिन्छ । कतै दिदी, फुपू आदि इत्यादिको घर खोजिन्छ । त्यतिबेला राख्ने गोठको खाँचो थियो कि, उनलाई पौष्टिक आहार अनि हेरचाह र सुरक्षाको ? खै त यो कुरा कसले बुझ्छ ? अनि जब उनी १८-२० वर्ष कि हुन्छिन्, उनको कलकलाउँदो यौवन बल्ल फक्रन सुरु हुन्छ, केही गर्न सक्छु भन्दै आफ्नो भविष्यको चित्र कोर्न सुरु गर्छिन् तब उनलाई गिद्धे नजर लगाउने गिद्धरूपीहरूको नजर लाग्न सुरु हुन्छ ।उनका परिवारले पनि उनलाई उच्चशिक्षा हासिल गराउनतिर नभएर बिहे गराइदिनतिर ध्यान दिन्छन् । यतिसम्म भन्न भ्याउँछन् कि पढाउनलाई अब हामी सक्दैनौँ खर्च धान्न अब जे गर्नुपर्छ बिहेपछि उसैले गर्छ रे ! यो कस्तो विडम्बना ? आफ्नो जन्म दिएका बुबाआमाले आफूलाई बोझसरह सम्झिएपछि त्यो पराइ मान्छेले चाहिँ उच्च शिक्षा लिने बाटो प्रदान गर्छ त ? आफ्नी छोरीले उच्च शिक्षा हासिल गर्दै ठुलो पोस्टमा पुगेको, असल काम गरी नाम राख्न सफल भएको होइन कि एउटा असल ज्वाइँ र छिट्टै नातिनातिना जन्माएको हेर्न चाहने बिचित्रको छ हाम्रो समाज । के छोरी भएर यो समाजमा जन्म लिनुको मुख्य उद्देश्य छोराछोरी जन्माउने, तिनैका स्याहार सुसार गर्ने, अर्कैको घरको चुलो चौका गर्ने, अरुकै बाआमाको स्याहार गर्ने र रातपरेपछि श्रीमानको प्यारी बन्ने यतिमै सीमित हो त ?

उमेर बढ्दै जाँदा मेकअपले मात्र धान्दैन असली रूप देखिन थाल्छ तर । ज्ञान र सीपले आजीवन सुन्दरता दिन्छ । हाम्रो समाजमा बाहिरी सुन्दरताभन्दा पनि बौद्धिकता र विवेकले सजिएकी नारीको खाँचो छ ।

नारीलाई स्वावलम्बी बन्न सक्ने अधिकार छैन र ? आफ्नी छोरीले एउटा असल ज्वाइँ पाउनु मात्र ठुलो कुरा हो र ? छोरी स्वावलम्बी र सक्षम बनाउन सके सुहाउँदो ज्वाइँ त पछि पनि पाइहाल्छन् नि ! होइन र ? किशोरी अवस्थामै धनी केटा राम्रो घरपरिवार खोज्नतिर लागेपछि छोरी कसरी सक्षम हुन्छिन् ?

सबैले बुझ्न आवश्यक छ कि आफ्नी छोरी भोलिका दिनमा कुनै क्षेत्रमा जाँदा काम गर्न सकुन् । त्यो किसिमको ज्ञान प्रदान गराउनमा प्रेरित हुनु आवश्यक छ । त्यसपछि उनको लागि विवाह गर्ने मान्छे त्यहीअनुसारको अवश्य भेटिन्छ । हाम्रो समाज अझै पनि असल, धनी केटा खोजेर आफ्नी छोरी जिम्मा लगाउँदा छोरीको भविष्य उज्ज्वल हुन्छ भन्ने सोचमा पिल्सिएको छ । सक्षम नबनाई बिहे गराइदिँदा जुनसुकै आवश्यकता र रहरहरूको लागि अरूको भर पर्नुपर्दा सधैँ परजीवी भई बाँच्नुपर्दा उनलाई के मनमा शान्ति हुन्छ होला र ? उनले धनी केटाको साथ पाउँदा बाबुआमा त खुसी हुनुहोला त र ? उनी आफ्नो माइतीमा आउँदा त खुसी व्यक्त गर्लिन् तर के साँच्चै उनी मनदेखि प्रसन्न हुन्छिन् ?

एकपटक सबै नारीले सोचौँ त । सधैँ श्रीमानको दासी बनेर उनको कमाइमा मात्र निर्भर बनेर होइन अब त आफ्नै कमाइमा रमाउनको लागि आजैका दिनदेखि आफ्नो मेहनत अगाडि बढाऔँ । जसको लागि उनको सपनामा बिहेको पर्खाल अभिभावकले पनि नलाऔँ ।

हरेक नारीले आफैँले आफ्नो खुट्टामा उभिन सक्ने सामर्थ्य राख्नु आवश्यकता हो । आफ्नो ज्ञानको विकास गरौँ । आफ्नो अध्ययनमा निरन्तरता दिऔँ । हामी आफैँले हो आफ्नो भविष्य बनाउने । सयौँ जनाले तँ यस्तो गर्न यो सक्छस्, यो सक्दैनस् भनेको भरमा केही हुनेवाला छैन । जब हामी आफैँले केही गर्न सुरु गर्दैनौँ । आफ्नो लागि आफैँ सोचौँ दिदीबहिनी हो । अरूको भरमा नपरौँ । जसरी हाम्रा आमा, हजुरआमा सधैँ बा-हजुरबाहरूकै भरमा परे । हाम्रा आमाहरूको जमानामा छोरीले पढे मास्टरसँगै पोइल जान्छन् भन्थे रे ! कम्तीमा हामी त्यो अवस्थामा त छैनौँ नि । त्यसकारण बेलैमा सोचौँ ।

फजुल खर्च नगरी बचत गरौँ र आफ्नो अध्ययन, ज्ञान र सीपको विकास गरौँ । हामी भौतिक सुन्दरताको पछि नलागौँ । त्यो त क्षणिक हो । उमेर बढ्दै जाँदा मेकअपले मात्र धान्दैन असली रूप देखिन थाल्छ तर । ज्ञान र सीपले आजीवन सुन्दरता दिन्छ । हाम्रो समाजमा बाहिरी सुन्दरताभन्दा पनि बौद्धिकता र विवेकले सजिएकी नारीको खाँचो छ । 

अब हामीले नै समाजको छोराछोरीबीच गरिने भेदभावको फोहोरी जालो पन्छाउनु छ । त्यसको लागि हामीजस्तै नारीको खाँचो छ । आफ्नो भविष्यको मार्ग आफैँ बनाउन अध्ययनशील, लगनशील, इमानदार, मेहनती र कर्तव्यनिष्ठ बन्नुपर्छ । 

रामेछाप निवासी खत्री सामाजिक न्याय र समानताको पक्षमा रूचि राख्छिन् ।

कस्तो लाग्यो ?

यो पनि