बैशाख १२, २०८१, बुधबार
               

वैध मत मात्र गणना गरिए आफूले सजिलै जित्ने ट्रम्पको दाबी, बाइडेनको यस्तो आग्रह

एजेन्सी
कात्तिक २१, २०७७

ADVERTISEMENT

अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन् ।

ट्रम्पभन्दा अघि बाइडेनले सम्बोधन गर्दै मानिसहरूलाई संयमित हुन आह्वान गरे।

'लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ', उनले भने, 'तर प्रक्रियाले काम गरिरहेको छ ।'

प्रत्येक मतको गणना हुनुपर्ने उको तर्क छ । उनले भने, 'अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन् ।'

मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई 'कुनै शङ्का नरहेको' पनि बाइडेनले बताए ।

त्यसपछि ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली गरिएको आरोप फेरि लगाए ।

मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत्‌ पहिलो पटक उनले धारणा सार्वजनिक गरेका हुन् ।

ट्रम्पले भने, 'यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु ।'

हुलाकमार्फत्‌ गरिएको मतदान एकतर्फी भएको दाबी पनि उनले गरेका छन् ।

मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको सङ्ज्ञा दिए ।

यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सिबिएस टेलिभिजनसँग कुरा गर्दै बाइडेनले विजयी भएको घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए ।

ट्रम्पका छोराको ट्विट

राष्ट्रपति ट्रम्पका छोराले एउटा ट्विट गर्दै चुनावलाई लिएर 'पूर्ण युद्धमा जान' आफ्ना बुवालाई आग्रह गरेका छन् ।

उनको त्यो ट्विटलाई सामाजिक सञ्जाल ट्विटरले दिग्भ्रमित बनाउने खालको कुरा भनेको छ ।

जितका लागि महत्त्वपूर्ण मानिएका राज्यहरूमा मतगणना जारी रहँदा बाइडेनले ट्रम्पविरुद्ध अग्रता बढाउँदै लगेका छन् ।

निकै महत्त्वपूर्ण रहेको पेन्सल्भेनियामा ट्रम्पको अग्रता साँघुरिँदै गएको छ ।

पचास मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडेनले २५३ इलेक्टरल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन् ।

यो पनि