बैशाख १३, २०८१, बिहीबार
               

स्थानीयले विरोध गरेपछि खुल्लामञ्चमा खाना खुवाउन बन्द गर्ने निर्णय गरिएको हो : वडाध्यक्ष खड्गी

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

लकडाउन खुलिसकेको छ । काम गरेर कसैले पेट पाल्न सक्ने अवस्था  छ। अव काम नगर्ने, खान पाइन्छ भनेर दिनभर सुतेर खानमा लाइन लाग्न गएर हुन्छ र ?  

काठमाडौंको खुलामञ्चमा खाना खुवाउने अभियानमा काठमाडौं महानगरपालिकाले रोक लगाएपछि नागरिक स्तरबाट चर्को आलोचना भएको छ । कोरोना महामारी नियन्त्रणको लागि गरिएको लकडाउनयता अभियन्ताहरूले खुल्लामञ्चमा विपन्नहरूलाई खाना खुवाउँदै आएका थिए । तर, महानगरले भने खुलामञ्चमा खाना खुवाउँदा आफ्नो बेइज्जत भएको तर्क गरेको छ । र, खाना खुवाउने भए पार्टी प्यालेसहरूमा जान आग्रह गरेको छ ।

भोकै रहेका आफ्ना नागरिकको पेट भर्नु राज्यको दायित्व हो । तर विषम परिस्थितिमा परोपकारी काम गरेर महानगरपालिकाको इज्जत धानिदिनेहरूलाई धन्यवाद दिनुपर्नेमा उल्टै लखेट्न खोजिएको छ ।

सेवा भावले गरेको यो अभियानलाई महानगरपालिकाले किन रोक्न भन्यो ? खुल्लामञ्च क्षेत्र रहेको काठमाडौं महानगरपालिका वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीसँग गरिएको कुराकानीको सम्पादित अंश :

खुल्ला मञ्चमा अभियन्ताहरूले विपन्नहरूलाई खाना खुवाउँदै आएका थिए । यसमा तपाईँहरूको कुनै लगानी थिए । सहयोग पनि मागेका थिएनन् । तर तपाइँहरूले खाने ठाउँ मात्रै पनि किन नदिने निर्णय गर्नुभएको ?  

हो । खुल्लामञ्च, पुरानो बसपार्क क्षेत्रमा सार्वजनिक रुपमा खाना नखुवाउन मैले नै मेयर सापलाई अनुरोध गरेको हुँ । सोही आधारमा महानगरपालिकाले यस्तो निर्णय लिएको हो । सेवा भावले गरेको अभियानलाई महानगरपालिकाले कुनै प्रतिषोधले रोकेको होइन । पहिला लकडाउनदेखि खुलामञ्चमा स्वतःस्फूर्त रुपमा अभियन्ताहरूले खाना खुवाउँदै आएका थिए । त्यति बेला भिडभाड थिएन । अहिले लकडाउन खुल्यो । भिडभाड बढ्यो । बस (सार्वजनिक सवारी साधनहरु) सञ्चालन भए । यात्रुहरू बढे । खाना खान आउनेहरू समेत बढेका छन् । पहिला लकडाउनमा साँच्चै खान नपाउनेहरू पनि आउँथे । तर अहिले खान पाउनेहरू समेत आएका छन् । बिहान-बेलुका खान पाएपछि काम नगर्ने, तर सित्तैमा खान आउने पनि छन् । रक्सी पिएर खाना खान आउनेहरू पनि छन् । दिनभर काम गर्ने तर खान यहाँ आउने पनि छन् । अहिले धेरै बसहरु चलेका छन् । सङ्क्रमण फैलिएको समयमा झन् धेरै मानिस ल्याएर खाना खुवाउँदा अर्को सङ्क्रमणको खतरा भएकोले बन्द गर्न भनिएको हो ।

जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई, काठमाडौंका विभिन्न स्थानमा परोपकारी मन भएकाहरूले खाना खुवाइरहेका छन् । विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो सहरको इज्जत धानिदिएकोमा त उहाँहरूलाई उल्टै धन्यवाद दिनुपर्ने होइन ? किन लखेट्नुपर्याे ?

पहिला लकडाउनमा सडक सुनसान थियो । समस्यामा परेकाले खान पाउन् भन्ने सबैको भावना र चाहना थियो । मानवीय हिसाबले त्यति बेला त्यो सही पनि थियो, आवश्यक पनि थियो । तर, अहिले पनि जारी छ । खाना खुवाउँदा महानगरपालिकासँग कुनै समन्वय भएन । अनुमति पनि लिइएन । अनि अहिले खाना खुवाउनको लागि महानगरले यत्तिकै बन्द गरेको होइन । लकडाउन खुले लगतै स्थानीयबासीहरुले गुनासो गर्दै आएका थिए । उनीहरूको भनाई थियो ‘धेरै भिडभाड गरेर खाना खुवाउँदा झन् सङ्क्रमण फैलन्छ । यस्तो गुनासो लिएर वडाबासीहरू लगातार वडा कार्यालयमा आउन थालेपछि, अझ धेरै स्थानीय महानगरमै गुनासो लिएर जान थालेपछि हामीले उहाँहरूको माग सम्बोधन गर्न त्यहाँ खाना नखुवाउन निर्देशन दिएकाहौं ।  लामो तथा छोटो दुरीमा चल्ने बसहरु पनि त्यही छ, यात्रुहरू आवत-जावत त्यहीबाट गर्छन् । सार्वजनिक रुपमा खाना खान आउनेहरू त्यही भिडमा हुन्छन् । अनि अर्को कुरा त्यहीँ खाना खाने दिसा-पिसाब पनि त्यहीँ गर्दिने समस्या भयो । त्यो रोक्नको लागी हामीले यस्तो निर्णय लिएका हौँ । 

सरसफाइ गर्ने काम त काठमाडों महानगरको हो नि ? आफ्नो सहर आफै सफा गर्न सक्दैन महानगरले ?

सरसफाइको लागि हामीले नियमित रुपमा कर्मचारी पठाइरहेका छौँ । त्यहाँ कार्यरत समिति मात्राका कुचीकारहरूले समेत त्यहाँको सफाइ धान्न नसक्ने अवस्थामा पुगे । दैनिक दुई–तीन सय जनाले खाएका र केहीले त्यही गरेका फोहोर सफा गर्न हाम्रा कुचीकारले भ्याएनन् । उनीहरूको सफाइ गर्नुपर्ने क्षेत्र अरू पनि हुन्छ । यसले गर्दा पनि समस्या भयो ।

वडाध्यक्ष भाइराम खड्गी

खुल्ला मञ्चमा खाना खुवाउँदा महानगरको इज्जत गयो त्यसैले रोकेको भनेर मेयेर ज्यूले भन्नुभएको छ । तपाईँले भने धुलो-धुँवा र फोहोरको समस्या भएकोले खाना खान नदिने निर्णय गरेको भन्नुभएको छ । खासमा ठोस कारण चाहिँ के हो ?

मेयय ज्यूले बाहिर जे भन्नुभएको भए पनि, समस्या मैले अघि नै भनिसके । यो मेरो वडा क्षेत्रभित्रको समस्या हो । बसपार्क छ, मान्छेको बाक्लो आवतजावत छ । भीड लगाएर खाना खुवाउँदा सङ्क्रमण बढ्न सक्छ । धुँवा धुलो हुने त्यो ठाउँमा खाना खुवाउनु उपयुक्त छैन । यो कुरालाई बाहिरबाट देख्दा पनि राम्रो भएन, विकल्प खोज्नुपर्छ भनेर मेयर ज्यूले भन्नुभएको होला । यो काम अशोभनीय भयो भनेर वडावासीहरूले, महानगर बासीहरूले पनि भनेकाले यस्तो निर्णय लिइएको हो ।

शौचालय तथा पानीको व्यवस्था भएको ठाउँमा खाना खुवाउन मिल्दैन र ? किन खुल्ला मञ्चमै खुवाउनुपर्ने ? सुरक्षित,सफा ठाउँमा खुवाउनुहुँदैन र ?

तर तपाईँहरूको यो निर्णयको सर्वत्र विरोध भएको छ नि ?

खुल्लामञ्चमै खुवाउनुपर्छ भन्ने छैन नी ! अनि धेरै मान्छे भएका, आवत-जावत गर्ने ठाउँमा भन्दा भिड कम भएको ठाउँमा खुवाउनु हुँदैन ? बस स्टप नभएको ठाउँमा, किनमेल र बजारको घुइँचो अलिक कम भएको ठाउँमा खुवाउन सकिन्न र ? शौचालय तथा पानीको व्यवस्था भएको ठाउँमा खाना खुवाउन मिल्दैन र ? किन खुल्ला मञ्चमै खुवाउनुपर्ने ? अन्त सुरक्षित, सफा ठाउँमा खुवाउनुहुँदैन र ?

अब साँच्चै खान नपाउनेहरू त भोकै हुने भए नि त ? सरकारले एकतातिर कोही भोको बस्नु नपर्ने भनेर प्रचार गर्ने, यता खाने ठाउँ मात्रै पनि नदिने ? यो दोहोरो चरित्र होइन ? 

अब लकडाउन खुलिसकेको छ । अर्थतन्त्र चलायमान भैसकेको छ । कसैले केही मजदुरी गर्न चाह्यो भने पाइने अवस्था  छ । काम गरेर कसैले पेट पाल्न सक्ने अवस्था  छ । अब काम नगर्ने, खान पाइन्छ भनेर दिनभर सुतेर खानमा लाइन लाग्न गएर हुन्छ र ? 

खान नपाउनेहरू सार्वजनिक स्थलमा भेटिन्छन् । त्यहाँ खाना खुवाउन नदिएपछि सामाजिक अभियान्ताहरुले उनीहरूलाई कसरी भेट्छन् । अनि यहाँहरूले भनेजस्तो पार्टी प्यालेस व्यवस्था गरिदिन सक्नुहुन्छ ?

सार्वजनिक ठाउँ अनुकूलको ठाउँमा खुवाउँदा भइहाल्छ नि । त्यहाँ महँगो भएमा महानगरसँग समन्वय गर्न सकिन्छ र सकेको सहयोग हामीले गर्नेछौँ । खाना खुवाउने नाममा अव्यवस्थित ढङ्गले काम पनि नहोस् भन्ने मात्र हाम्रो भनाइ हो । लकडाउनमा हामीले १० औँ हजारलाई खाना खुवाएकै थियौँ । समस्यामा परेकाहरूलाई वडाहरूबाट राहत दिएकै थियौं । हामी चाहिँ मानव सेवाको विरुद्धमा छौंं र ?


कस्तो लाग्यो ?

यो पनि