बैशाख १२, २०८१, बुधबार
               

देहरादुनबाट विद्यार्थी फिर्ता गर्ने सहमति तर अभिभावकलाई नै जानकारी छैन

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

काठमाडौं । दसैं टीकाका दिन देहरादुनमा निर्घात कुटिएका नेपाली विद्यार्थीहरूलाई नेपाल फर्काउने सहमति भएको छ ।
हरिद्वारस्थित शाक्य एकेडेमी र नेपाली समाजका प्रतिनिधिहरूबीच बिहीबार एक हप्तामा विद्यार्थी फिर्ता गर्ने सहमति भएको हो ।

एकेडेमीका तर्फबाट प्रिन्सिपल छिरिङ छोदेनले नेपाली समाजका प्रतिनिधिहरूसँग फर्कने चाहने विद्यार्थीलाई नेपाल–भारत सीमानासम्म ल्याउने सहमति गरेका हुन् । ५१ जना नेपाली विद्यार्थी कुटिएको विषयमा छोदेनले माफी समेत मागेका छन् । दोषीलाई आवश्यक कारवाही गर्ने समेत छोदेनले विज्ञप्तीमार्फत प्रतिबद्धता जनाएका छन् ।

नेपाल फर्कन लिखित माग गरेको निहुँमा शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले नेपाली विद्यार्थीमाथि कुटपीट गरेका विद्यार्थीका अभिभावकहरूले बताएका छन् ।

उनीहरूका अनुसार लामाले फलामको रड प्रहार गर्दा ४२ विद्यार्थी घाइते भएका छन् । कुटिएकामध्ये पाँच विद्यार्थी महेन्द्रनगर आइपुगेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

विद्यार्थी उद्धारको व्यवस्था गर्न माग राखेर सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट लगायतका जिल्लाबाट अभिभावकहरू काठमाडौं आइपुगेका छन् । उनीहरू प्रहरी, परराष्ट्र मन्त्रालय र शाक्य एकेडेमीको बौद्धस्थित सम्पर्क कार्यालयमा दौडधुप गरिरहेका छन् ।

देहरादुनमा भएको भनिएको सहमतिबारे आफूहरूलाई कुनै जानकारी नभएको सिन्धुपाल्चोकका ग्याल्जेन शेर्पाले बताए । उनी भन्छन्, ‘छोराहरूको कसरी उद्धार गर्न सकिन्छ भनेर विभिन्य अफिसमा धाइरहेका छौं, सहमतिबारे जानकारी छैन ।’

रामेछापका टेन्डी शेर्पा नेपाली समाजका प्रतिनिधिसँग आफूहरूको सम्पर्क नभएको बताउँछन् । ‘अरु ठाउँका अभिभावकसँग कुराकानी भएको भए थाहा भएन तर हामीसँग कुनै छलफल भएको छैन’ शेर्पा भन्छन् ।


कस्तो लाग्यो ?

यो पनि