बैशाख ०८, २०८१, शनिबार
               

चक्रपथ विस्तार गर्न भन्दै भत्काइयो गोंगबुको आकाशेपुल

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

काठमाडौं । गोंगबुको आकाशे पुल (ओभरहेड ब्रिज) सडक विस्तारका लागि भत्काइएको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारका लागि यो पुल भत्काइएको सडक विभागले जनाएको छ ।

तत्कालीन सरकारले ९ मसिर ०६७ मा कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दियो । तर, दुवै पुलले एक दशकको पनि आयु पाएनन् ।

यसअघि १३ करोड खर्च भएको कलंकीको पुल पनि पाँच वर्ष नपुग्दै भत्काएको थियो । साढे सात करोडमा निर्मित गोंगबुको आकाशे पुल पनि ८ वर्षमै भत्काइयो ।

करिब २७ दशमलव दुई किलोमिटर लम्बाइको चक्रपथ चीनको सहयोगमा आठ लेनमा विस्तार हुँदैछ । कलंकी पुल यसअघि नै भत्काएर यसअघि नै अन्डरपास बनाइसकिएको छ ।

चक्रपथ विस्तारका कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डका अवरोध हटाउन बनेको नयाँ कार्यतालिका अनुरुप यो पुल भत्काइएको हो ।

यो आकाशे पुल सचिवस्तरीय निर्णयबाट निर्माण भएका थियो । काठमाडौं महानगरपालिकाले सार्वजनिक-निजी साझेदारी मोडेलमा दुवै पुल निर्माण गर्न इनोभेटिभ प्रालीलाई जिम्मा दिएको थियो । इनोभेटिभले १८ वर्ष सञ्चालन गर्न पाउने महानगरको निर्णयअनुसार दुवै पुल निर्माण गरेको थियो ।

यो कम्पनी पुरानो बसपार्कमा काठमाडौं टावर बनाउने जिम्मा लिएर अलपत्र पारेका मनोज भेटवालको कम्पनी हो । दुवै आकाशेपुल निर्माणबाट लागतसमेत उठ्न नसकेको इनोभेटिभको दावी छ ।

गुरुयोजना अभावमा काठमाडौंका सडकमा निर्मित संरचना केही वर्ष नबित्दै भत्काउनुपर्ने स्थिति देखिने गरेको पूर्वाधार विज्ञहरु बताउँछन् ।

काठमाडौंकको सडक तथा सार्वजनिक यातायातको एकीकृत गुरुयोजना नबन्दा करोडौंमा बनेका संरचना भत्काउनुपर्ने अवस्था विगतदेखि नै चल्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि