बैशाख ०७, २०८१, शुक्रबार
               

कोरोनाका कारण मर्नेकाे संख्या ९२० कि १०९७ ?

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण मृत्यु हुनेकाे संख्या  एकरुपता नभएपछि स्वास्थ्य मन्त्रालयले समिति बनाई अनुसन्धान सुरु गरेकाे छ । पछिल्लो समय सबै प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मृतककाे संख्यामा १७७ जना फरक देखिन्छ । 

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९२० जनाको मृत्यु भएको छ तर प्रदेशकाे संख्या १ हजार ९७ छ । यता सेनाले व्यवस्थापन गरेकाे शवकाे संख्या १७ सय नाघिसकेकाे छ । सबै संक्रमितकाे शव सेनाले व्यवस्थापन गर्दै आएकाे छ । 

सामाजिक विकास मन्त्रालय प्रदेश १ ले शुक्रबारसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार १८५ जनाको मृत्यु भएकाे छ तर स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने मृतककाे संख्या ११५ जना छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म त्यहाँ १८५ जनाको ज्यान गइसकेको छ भने स्वास्थ्यको तथ्यांकमा मृतक संख्या १५७ मात्रै छ  ।

त्यस्तै सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका अनुसार कुल मृतक संख्या ४४४ छ भने स्वास्थ्य मन्त्रालयले ४४७ रहेको जनाएको छ । गण्डकी प्रदेश सरकारका अनुसार त्यहाँ शुक्रबारसम्ममा ७५ जनाको मृत्यु भएको छ । स्वास्थ्यको तथ्यांकमा भने त्यहाँ ४८ जना मात्रै छन् । सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका अनुसार बिहीबारसम्ममा त्यहाँ मृत्यु भएकाको संख्या १७० छ भने स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म नै गरेर १२६ जनाको मात्रै ज्यान गएको उल्लेख गरेको छ ।

यस्तै कर्णाली प्रदेश सरकारका अनुसार त्यहाँ हालसम्म १५ जनाको ज्यान गएको छ । स्वास्थ्यको तथ्यांकमा भने मृतक संख्या १० मात्रै छ । सुदूरपश्चिम सरकारले शुक्रबारसम्म २३ जनाको मृत्यु भएको उल्लेख गरे पनि स्वास्थ्य मन्त्रालयले १७ जनाको मात्रै ज्यान गएको जनाएको छ ।

यसरी सबै प्रदेशका तथ्यांक र स्वास्थ्य मन्त्रलयकाे तथ्यांकबीच ठूलो भिन्नता देखिएपछि त्यसलाई मिलाउन समिति नै बनाएर अनुसन्धान गरिरहेको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि