चैत १६, २०८०, शुक्रबार
               

कोरोनाका कारण काठमाडौं उपत्यका भित्रिने र छाड्नेको संख्या ह्वात्तै घट्यो

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । विगतका वर्षमा दशैँमा उपत्यका छाड्ने र भित्रिने यात्रुको संख्या बिशौं लाख हुन्थ्यो । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैंमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका वर्षहरूमा आवतजावतको तथ्याङ्क जोड, घटाउमा उपत्यका छाड्ने व्यक्ति झण्डै १६ देखि २० लाख हुने गरेकोमा यसपाली भने न्यून रहेको बताउँछन् ।

गत वर्ष कूल ३० लाखले उपत्यका छाडेका थिए भने १८ लाख भित्रिएका थिए । यसपाली दशैंमा भने तीन लाखले उपत्यका छाडे । झण्डै दुई लाख भित्रिएका छन् । कोभिड–१९ को महामारीका कारण यसरी यात्रु आवागमनमा प्रत्यक्ष प्रभावित भएका हुन् । दशैं सकिएपछि पनि उपत्यका भित्रिने यात्रुको संख्या बढ्न सकेको छैन । कात्तिक १३ गते २४ हजार यात्रु भित्रिएका छन् भने २० हजार बाहिरिएको विवरणले पनि उक्त कुराको पुष्टि गर्छ ।

पछिल्लो समयमा उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम छ । मुलुकभर देखिएको कूल संक्रमित मध्ये आधाभन्दा बढी उपत्यकामा रहेकाले पनि मानिस राजधानी आउन डराइरहेका जनस्वास्थ्य विज्ञको भनाइ छ ।

संख्यात्मक रुपमा विष्लेषण गर्दा यसवर्ष इतिहासमै पहिलो पटक मानिसको आवागमन न्यून भएको प्रहरीको दाबी छ । विसं २०७७ लाई छाड्दा २०७१ पछिको विवरणमा विसं २०७१ र २०७२ मा उपत्यकामा सबैभन्दा कम यात्रुको आवागमन भएको पाइन्छ ।

विसं २०७१ को दशैंमा ६५ हजार सवारी साधनमार्फत आठ लाख यात्रु बाहिरिएका र ५१ हजार सवारी साधानमार्फत पाँच लाख मानिस भित्रिएका थिए । यस्तै २०७२ सालमा ५९ हजार सवारी साधानमार्फत आठ लाख ३० हजार यात्रु बाहिरिएका र ५६ हजार सवारी साधनमार्फत पाँच लाख १६ हजार यात्रु भित्रिएका थिए । विसं २०७३ देखि २०७६ सम्म यात्रु भित्रिने र बाहिरिने अवस्था ह्वात्तै बढेको थियो ।

यसपाली भने सबै भन्दा कम यात्रुको चहलपहल देखियो । नयाँ संविधान निर्माण भई सङ्घीयता कार्यान्वयनको समयमा शान्ति प्रक्रिया टुङ्गोमा पुगेको र शान्ति/सुरक्षा अब्बल बन्दै गएकाले वातावरण सहज हुँदा यात्रुलाई एक ठाउँबाट अर्को स्थानमा जानआउन समस्या थिएन । तर यसपाली गत चैतबाट बढेको कोरोना महामारीले चाडबाडलाईसमेत नराम्ररी प्रभावित बनाएको तथ्याङ्कले देखाएको छ ।

प्रहरी प्रवक्ता कुबेर कडायत यसपालीको दशैंको बेलामा सवारीसाधन र यात्रुको आवातजावत कम हुँदा ठूला दुर्घटनासमेत नभएको बताउँछन् । बजारमासमेत चहलपहल कम हुँदा आपराधिक घटनामा समेत कमि देखिएको उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि