चैत १६, २०८०, शुक्रबार
               

ओली–प्रचण्ड संवादहीनता तोड्न दोस्रो तहका नेता सक्रिय
यसकारण ओलीसँग सम्वादमा बस्न मानेनन् प्रचण्डले

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच संवादहीनता बढेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावबाट पार्टी र सरकारमा उत्पन्न समस्या समाधानमा मत बाझिएपछि दुईबीच एक साता बढी बित्दासमेत भेटघाट ठप्प भएको हो ।

दुई अध्यक्ष छलफलमा नबसेपछि पार्टीका दोस्रो तहका नेताहरु संवादको वातावरण बनाउन जुटेका छन् । नेकपा अध्यक्षद्धयको सम्वाद टुटेपछि प्रधानमन्त्री ओली निकट नेताहरु खुमलटार पुगिरहेका छन् । अर्थमन्त्रीसमेत रहेका पार्टी महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल मध्यस्तकर्ताको रुपमा छलफलमा जुटेका हुन् ।

गत २६ भदौमा सम्पन्न स्थायी समिति बैठकले आगामी २५ देखि २७ चैतसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही तयारीको लागि आवश्यक निर्णय लिन दुई अध्यक्षबीचको छलफल आवश्यक छ । तर महाधिवशेको तयारीको लागि छलफल गर्न बोलाइएको बैठकको विषयमा दुई अध्यक्षबीच पछिल्लो समय कुरै हुन पाएन ।

विवाद समाधानको विषयमा तथा विविध विषयमा ओली र प्रचण्डविच पछिल्लो पटक कात्तिक ४ गते छलफल भएको थियो ।

त्यसपछि दुई अध्यक्षबीच छलफल नहुँदा शनिबारदेखि  सुरु हुने भनिएको केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगित भएको छ । कोरोना भाइरसको बढ्दो महामारीका कारण बैठक सारिएको भनिए पनि त्यस विषयमा ओली र प्रचण्डबीच कुनै छलफल नभएकोले सारिएको नेकताका नेताहरु बताउँछन् । केन्द्रीय कमिटीको तेस्रो बैठक एक महिना पछि बस्ने गरी सारिएको छ ।

दुई अध्यक्षविच संवाद नभएपछि मध्यस्तताको सुरुवात महासचिव विष्णु पौडेलले गरेका थिए । उनले बुधबार बिहान खुमलटारस्थित निवासमा पुगेर प्रचण्डसँग परामर्श गरेका थिए । सोही छलफलपछि महासचिव पौडेलले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग थप परामर्श गरेर बैठक स्थगनको सूचना जारी गराएका थिए ।

विशेष गरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीमा अविश्वास प्रस्ताव आएपछि प्रचण्ड ओलीसँग सम्वादमा बस्न मानिरहेका छैनन् ।

प्रधानमन्त्री ओलीले आफू निटक नेताहरु निरन्तर पठाएपनि प्रचण्डले नमानेका खुमलटार स्रोतले जनाएको छ ।

खुमलटार स्रोतले भन्यो ‘ प्रधानमन्त्री ओलीसँग सम्वाद गर्न आग्रह गर्दै उहाँनिकट नेताहरु आइरहनुभएको छ, तर प्रचण्डले बालुवाटार नजाने जवाफ दिँदै आइरहनुभएको छ ।’

यस्तै, शुक्रबार प्रचण्डलाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगे । यसअघि बुधबार संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र बिहीबार प्रदेश ५ का मुख्यमन्त्री पोखरेल पुगेका थिए ।


कस्तो लाग्यो ?

यो पनि