मंसिर १८, २०७७, बिहीबार
               

दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका वर्षमा आवतजावतको तथ्याङ्क जोड÷घटाउमा उपत्यका छाड्ने खुद व्यक्ति झण्डै १० देखि १२ लाख हुने गरेकोमा यसपाली भने एक लाखको हाराहारीमा रहेको बताउँछन् ।

गत वर्ष कूल ३० लाखले उपत्यका छाडेका थिए भने १८ लाख भित्रिएका थिए । यसपाली दशैँमा भने तीन लाखले उपत्यका छाडे । झण्डै दुई लाख भित्रिएका छन् । कोभिड–१९ को महामारीका कारण यसरी यात्रु आवागमनमा प्रत्यक्ष प्रभावित भएका हुन् । दशैंँ सकिएपछि पनि उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढ्न सकेको छैन । यही १३ गते २४ हजार यात्रु भित्रिएका छन् भने २० हजार बाहिरिएको विवरणले पनि उक्त कुराको पुष्टि गर्छ । 

पछिल्लो समयमा उपत्यकामा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । मुलुकभर देखिएको कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेकाले पनि मानिस राजधानी आउन डराइरहेका जनस्वास्थ्य विज्ञको भनाइ छ । 

सङ्ख्यात्मक रुपमा विष्लेषण गर्दा यसवर्ष इतिहासमै पहिलो पटक मानिसको आवागमन न्यून भएको प्रहरीको दाबी छ । विसं २०७७ लाई छाड्दा २०७१ पछिको विवरणमा विसं २०७१ र २०७२ मा उपत्यकामा सबैभन्दा कम यात्रुको आवागमन भएको पाइन्छ । 

विसं २०७१ को दशैँमा ६५ हजार सवारी साधनमार्फत आठ लाख यात्रु बाहिरिएका र ५१ हजार सवारी साधानमार्फत पाँच लाख मानिस भित्रिएका थिए । यस्तै २०७२ सालमा ५९ हजार सवारी साधानमार्फत आठ लाख ३० हजार यात्रु बाहिरिएका र ५६ हजार सवारी साधनमार्फत पाँच लाख १६ हजार यात्रु भित्रिएका थिए । विसं २०७३ देखि २०७६ सम्म यात्रु भित्रिने र बाहिरिने अवस्था ह्वात्तै बढेको थियो । 

यसपाली भने सबै भन्दा कम यात्रुको चहलपहल देखियो । नयाँ संविधान निर्माण भई सङ्घीयता कार्यान्वयनको समयमा शान्ति प्रक्रिया टुङ्गोमा पुगेको र शान्ति÷सुरक्षा अब्बल बन्दै गएकाले वातावरण सहज हुँदा यात्रुलाई एक ठाउँबाट अर्काे स्थानमा जानआउन समस्या थिएन । तर यसपाली गत चैतबाट बढेको कोरोना महामारीले चाडबाडलाईसमेत नराम्ररी प्रभावित बनाएको तथ्याङ्कले देखाएको छ । 

प्रहरी प्रवक्ता कुबेर कडायत यसपालीको दशैँको बेलामा सवारीसाधन र यात्रुको आवातजावत कम हुँदा ठूला दुर्घटनासमेत नभएको बताउनुहुन्छ । बजारमासमेत चहलपहल कम हुँदा आपाराधिक घटनामा समेत कमि देखिएको उहाँको भनाइ छ ।

गतवर्ष र यसपालीका यात्रु आवागमन

यसपाली दशैँको समय कात्तिक १३ गतेसम्मको विवरणमा ५१ हजार ५९४ सवारी साधानमार्फत दुई लाख तीन हजार यात्रु काठमाडौँ भित्रिएका छन् । काठमाडौंबाट भने ५८ हजार सवारी साधनमा झण्डै तीन लाख यात्रु बाहिरिए । यो विगत वर्षको भन्दा अत्यन्तै न्यून आवागमन हो । विगतमा सवारीसाधनको सङ्ख्या बराबर यसपाली यात्रुको सङ्ख्या देखिएको छ ।

गत आर्थिक वर्ष २०७६–७७ को दशैँका अवधिमा तीन लाख ५९ हजार सवारीसाधनबाट ३० लाख मानिस काठमाडौँ छाडेर बाहिरिएका थिए । उक्त साल तीन लाख ३५ हजार सवारीमार्फत १८ लाख ३५ हजार मानिस भित्रिएका थिए । महाशाखा प्रमुख ढकालले कोभिड–१९ का कारण दशैँ लाग्नु अघि नै मानिस उपत्यका छाडिसकेको र दशैंँमा सङ्क्रमणको डरले पनि आवागमन नगरेको पाइएको बताए । कतिपय घर कोठामै बसेर दशैँ मनाइरहेका छन् । 

यसपाली कोरोनाकै कारण चाडबाडसमेत खल्लो भएको छ । गाउँमा रौनक देखिएको थिएन भने सकेसम्म मानिस आफन्तको हातबाट टीका थाप्नसमेत गएनन् । कतिपयले प्रविधिको प्रयोग गरी आशिर्वाद लिएका छन् । पर्यटन व्यवसायी रमेश सिलवाल यसपाली सावधानी अपनाएरै दशैँ मनाएको अनुभव सुनाउँछन् । 

हुन त नेपाल सरकारले नै जो जहाँ छौँ त्यहीँ बसेर दशैंँ मनाउन सार्वजनिक अपिल नै गरेको थियो । सामाजिक सञ्जालमा सर्वसाधारणले कोडिभ–१९ बाट जोगिएर दशैँ मनाउन अनुरोध गर्दै स्टयाटस सार्वजनिक गरेका थिए । अधिकांशले भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डको प्रयोग गर्दै दशैँ मनाएका भए पनि कतिपय सर्वसाधारण दशैँ मान्न घर पुगेका थिए । जसका कारण गाउँगाउँमा कोभिड–१९ को सङ्क्रमण बढ्ने आशङ्का कायमै छ ।  
 

यो पनि