बैशाख ०७, २०८१, शुक्रबार
               

भालेको आक्रमणबाट प्रहरीको मृत्यु

एजेन्सी
कात्तिक १३, २०७७

ADVERTISEMENT

फिलिपिन्स । एउटा लडाकु भालेले आक्रमण गर्दा फिलिपिन्समा एकजना प्रहरीको ज्यानै गएको छ । अवैध रूपमा भाले जुधाइहेको ठाँउमा छापा मार्न पुगेका प्रहरीमाथि नै लडाकु भाले जाइलागेको थियो । 

उत्तरी फिलिपिन्सको समार प्रान्तस्थित मदुग्याङ्ग गाउँमा अवैध रुपमा भाले जुधाइरहेका बेला छापा मार्न पुगेका प्रहरी अधिकारी क्रिस्टियन बोलोकको ज्यान गएको हो ।

उनले जुधिरहेको एउटा भालेलाई समात्न खोजेका थिए । प्रान्तका गभर्नर एड्विन ओङ्गचुआनका अनुसार लडाकु भालेको खुट्टामा धारिलो ब्लेड लगाइएको थियो । भालेले बोलोकमाथि आक्रमण गर्दा उनको खुट्टाको एउटा नसा काटिन पुग्यो । 

त्यसपछि त्यहाँ पुगेका अन्य प्रहरीले ती अधिकृतको रगत रोक्न कपडाले खुट्टाको घाउमा बेरेका थिए । तर रगत बग्ने क्रम रोकिएन, अत्यधिक रक्तश्रावका कारण उनको ज्यान गएको हो । त्यो क्षेत्रका प्रान्तीय प्रहरी प्रमुख कोलोनेल अर्नेल अपुदका अनुसार भालेको आक्रमणपछि अत्यधिक रक्तश्रावले ती प्रहरीको ज्यान गएको पुष्टि भएको छ । 

प्रहरीले अवैध रुपमा भाले जुधाउन जुटेका तीन जनालाई पनि पक्राउ गरेको छ । त्यस क्रममा ७ वटा भाले प्रहरीले नियन्त्रणमा लिएको छ । फिलिपिन्समा भाले जुधाइ अत्यधिक चर्चित खेल हो । त्यहाँ यस्ता खेललाई सरकारले अवैध घोषणा गरिदिएको छ ।


कस्तो लाग्यो ?

यो पनि