बैशाख ०८, २०८१, शनिबार
               

रअ प्रमुख भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतको रुपमा नेपाल आएका हुन् : पोखरेल

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

काठमाडौं । उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा वार्ताका लागि नेपाल आएका बताएका छन् । 

मंगलबार ६ बुँदे वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा गोयल नेपाल आएको बताउँदै काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गरी आवश्यक पत्राचार र  पहल गरेको पनि जानकारी दिएका छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित गरेका छलफलका टिपोट परराष्ट्र मन्त्रालयमा सुरक्षित रहेको बताए । भेटमा उनले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल–भारत सम्बन्ध र खासगरी सीमा समस्याको समाधानमा केन्द्रित रहेको बताएका छन् । 

यसका अलवा पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र गोयलको भेटलाई अतिरञ्जित गरिएको उनको भनाइ थियो । उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ?  यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिँदैछन् – ती मानिसहरू ? कारणहरू राम्ररी बुझिएको छैन । अहिले धेरै कुरा किन गर्ने ! उहाँहरूले वास्तविकता नबुझी  पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ ।’

राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमानमा आँच पुग्ने कुनै पनि कुरासित सम्झौता हुनै नसक्ने भन्दै पोखरेलले  यिनै कुरालाई शीरमा राखी राष्ट्रको दीर्घकालीन हितमा लाग्ने कुरामा कहीं कतैबाट पनि वर्तमान सरकारले आँच पुग्न नदिने बताएका छन् । 

यो पनि