बैशाख १२, २०८१, बुधबार
               

पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप, गाउँपालिका पार्टी सचिवको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो ।

झडपमा गम्भीर घाइते भएका चौरसियालाई नारायणी अस्पतालबाट थप उपचारको लागि पानीटंकीस्थित न्यूरो हस्पिटल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यसैबीच, अर्का एक जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते उत्तम तिवारीको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्ष (पूर्वएमाले र पूर्वमाओवादी) बीच झडप हुँदा दर्जनौँ व्यक्ति घाइते भएका थिए । 

कार्यक्रम स्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद हुँदा उग्ररुप लिएको थियो । सो क्रममा दर्जनौँ कार्यकर्ता घाइते भएको नेकपा पर्साले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले परसौनीभाठा बस्ने मुकेश चौरिसयाको उपचारको क्रममा मृत्यू भएको जानकारी दिए । दुई जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको छ ।

प्रहरीले पक्राउ गरेका मध्ये नेकपाका नेता राजुकुमार गुप्तालाई बिहिबार राति नै रिहा छाडिदिएको थियो भने अन्य सात जनालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कार्यलय पर्साले जिल्ला कमिटी सदस्य तथा विन्दावासिनी गाउँपालिका कमिटिका सचिव चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेको छ । 

शुक्रबार जिल्ला कमिटी पर्साले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, मुकेस चौरासियालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि