बैशाख ०८, २०८१, शनिबार
               

कर्णाली विवादबारे कुनै सहमति भएको छैन : प्रचण्ड

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा देखिएको पार्टी विवाद समाधानको लागि कुनै सहमति नभएको प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णालीको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच चार बुँदे सहमति भएको धारणा सार्वजनिक गरेलगत्तै प्रचण्डले त्यस्तो कुनै सहमति नभएको प्रष्ट पारेका हुन् ।

प्रचण्डका तर्फबाट उनका प्रेस संयोजक विष्णु सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै आज बिहानको छलफलमा कुनै सहमति नभएको प्रष्ट पारेका हुन् ।

‘प्रधानमन्त्री ओलीसँग चार बुँदे सहमति भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र बिहान अध्यक्षले आफ्ना कुरा राखेर हिँड्नुभएको हो,’ सापकोटाले बताएका छन् ।

प्रचण्डले बिहानको छलफलमा संसदीय दलमा देखा परेको समस्या समाधान गर्न त्यहीँको पार्टी कमिटी र सरकारलाई दिन प्रस्ताव गरेका थिए । तर, त्यसमा ओलीले कुनै प्रतिक्रिया नदिएपछि छलफल सकिएको थियो ।

यसअघि ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच ‘कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने र प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको बताएका थिए ।

साथै उनले  ‘मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने’ सहमति भएको जानकारी दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि