बैशाख ०८, २०८१, शनिबार
               

नवलपरासीमा पिसिआर मेसिन जडान भएपछि परीक्षण सहज

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि नवलपरासीमा पहिलोपटक पिसिआर मेसिन भित्रिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी सङ्घीय सरकारले आज पिसिआर मेसिन हस्तान्तरण गरेको हो । 

जिल्लामा पिसिआर मेसिन नहुँदा चितवन, पोखरालगायतका स्थानमा लगेर कोभिड–१९ को परीक्षण गर्नुपर्ने अवस्थामा मेसिन भित्र्याइएको हो ।  मेसिन भित्र्याइएको भएपनि यसलाई जडान गरेर नियमित सञ्चालनमा ल्याउन एक महिना लाग्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । उक्त मेसिनका लागि स्थान र जनशक्ति व्यवस्थापन, मेसिनको गुणस्तर परीक्षणलगायत काम बाँकी रहेकालेले गर्दा पिसिआर मेसिन सञ्चालनका लागि कम्तिमा एक महिना लाग्ने चापागाईको भनाइ छ ।

जिल्लामा सङ्क्रमणको दर बढिरहेको अवस्थामा सङ्घीय सरकारका तर्फबाट उपलब्ध गराइएको पिसिआर मेसिन सांसद तिलक महतले अस्पतालका अध्यक्ष डा गोपाल खनाललाई हस्तान्तरण गरे । पिसिआर मेसिन आएपछि अब रिपोर्टका लागि धेरै दिन कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै सांसद महतले यसले कोभिड विरुद्धको लडाइलाई अझै सहज बनाउने बताए । कार्यक्रममा महतले जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै जिल्लामैै सबै सेवा उपलब्ध गराउनतर्फ आफूले सङ्घीय सरकारसँग पहल गरिरहेको बताए । 

नयाँ मेसिनले एक पटकमा ९० देखि १०० वटा नमूनाको परीक्षण गर्न सक्ने क्षमता रहेको अध्यक्ष खनालले बताए । उनका अनुसार सो मेसिनबाट दैनिक ४०० देखि ५०० नमुनाको परिक्षण गर्न सकिनेछ । हाल नवलपरासीपूर्वमा सङ्क्रमितको सङ्ख्या एक हजार २९९ पुगेको छ । सङ्क्रमितमध्ये ८५० जना निको भएका छन् भने १० जनाको मृत्यु भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि