बैशाख ०८, २०८१, शनिबार
               

बसन्तपुरको दसैँघरमा राखियो जमरा (तस्बिरसहित)

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । हिन्दु धर्मालम्बीको ठूलो पर्व दसैँ आजबाट सुरु भएको छ । 

दसैँको पहिलो दिन काठमाडौंको बसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ ।

काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा रहेको हनुमानढोका दरबार (दसैँघर )मा परापूर्वकाल देखि जमरा राखिदैँ आइएको छ ।

बिहान ११:४६ को शुभसाइतमा जौ छरेर हनुमानढोका दरबारमा जमरा राखिएको हो ।

घटस्थापनाको क्रममा नेपाली सेनाको टोलीले मंगल धुन बजाउनुका साथै बढाइँ गरेको थियो ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा जौ रोपिन्छ ।

जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । 

महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

कात्तिक १० गते देवी बिसर्जनको साइत बिहान १०:११ बजे रहेको र टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०:१९ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि