कात्तिक ०७, २०७७, शुक्रबार
               

नेपालगन्जको दसैँ

म नेपालगन्ज हुँदाको आफ्नो दसैँ सम्झिरहेछु । काठमाडौंमा दसैँ मनाउन थालेको निकै भयो । त्यसैले बाल्यकालमा नेपालगन्जमा मनाएका दसैँको धमिलो धमिलो सम्झना मात्र बाँकी छ । कतिपय प्रसंगहरू सम्झनाको ‘डेस्कटप’बाट ‘डिलिट’ भैसकेका छन् । तिनीहरू कतै ‘रिसाइकल बीन’मा गएर बसेका होलान् । कुन स्थिति, परिस्थिति र प्रसंगमा ती झल्याँस्स ताजा भएर आउँछन्, हाललाई थाहा छैन । तर पनि केही सम्झनाहरू अक्रमवद्ध किसिमले यतिबेला मस्तिष्कमा सल्बलाइरहेका छन् । तिनै सम्झनाहरूबाट यतिबेला बनिरहेको छ यो स्मृतिको कोलाज ।

समयमै टेलरमास्टरले लुगा नसिइदेला भन्ने डर लागिरहन्थ्यो । त्यसैले म बेलाबेलामा त्रिभुवन चोक गएर टेलरमास्टरलाई आफ्नो अनुहार देखाउँथे । ङिच्च हाँस्थे र भन्थे- ‘अस्सलाम वालेकुम ।’ सायद ऊ प्रभावित हुन्थ्यो र भन्थ्यो- ‘लुगा पर्सि तयार हुन्छ ।’

हामी दसैँलाई दुई–तीन महिना अघिदेखि पर्खन थाल्थ्यौँ । बुबाले स्थानीय मंगलप्रसाद माध्यमिक विधालयको हेडमास्टरीको कामबाट थकित भएर साँझ घर फर्कनु हुन्थ्यो र हामी चारजना सन्तानहरू उहाँको अनुहारतिर टुलुटुलु हेर्न थाल्थ्यौँ । हामीलाई त्यतिबेला लाग्थ्यो, बुबाले हामीहरूको हात समात्नु होस् र तत्कालै हामीलाई लुगा सिलाउन त्रिभुवन चोकतिर लैजानुहोस् । तर बुबाको क्यालेन्डरमा दसैँ अलिक ढिलो शुरु हुन्थ्यो । मलाई अहिले लाग्छ, बुबाले त्यतिबेला समयमा तलब पाउनु हुन्नथ्यो । तर हाम्रो धैर्यताको सीमा नाघ्न पाउँदैनथ्यो । घटस्थापनाको दुईचार दिनअघि नै बुबाले त्यस्तो घोषणा गर्नुहुन्थ्यो र भन्नु हुन्थ्यो- ‘हिँड, त्रिभुवन चौक जाऊँ । लुगा सिलाउन ।’

मलाई आज पनि लाग्छ, मेरो बाल्यकालको दसैँको त्यही नै सबैभन्दा सुन्दर क्षण हुन्थ्यो । सायद दुवै छोरालाई कुनै भेदभाव नगर्ने पितासुलभ मनोविज्ञानले काम गरेको हुनुपर्छ त्यतिबेला, त्यसैले दसैँमा बुबाले प्रायः म र मेरो भाइलाई एउटै खालको लुगा सिलाइदिनु हुन्थ्यो । बल्ल बल्ल आएको यो क्षण, हामी किन गुनासो गर्थ्यौँ र ?

हामीलाई समयमै टेलरमास्टरले लुगा नसिइदेला भन्ने डर लागिरहन्थ्यो । त्यसैले म बेलाबेलामा त्रिभुवन चोक गएर टेलरमास्टरलाई आफ्नो अनुहार देखाउँथे । ङिच्च हाँस्थे र भन्थे- ‘अस्सलाम वालेकुम ।’ सायद ऊ प्रभावित हुन्थ्यो र भन्थ्यो- ‘लुगा पर्सि तयार हुन्छ ।’

तिनताक हामीसित दुईजोर लुगा हुन्थ्यो । एउटा अघिल्लो वर्षको दसैँको र अर्को यसपालिको । प्रायः दुई जोर लुगामा हाम्रो वर्ष बित्थ्यो । तर हामी यसैमा खुसी थियौँ । दसैँमा झण्डै एकहात मोहताको ‘बेल्बटम’ पाइन्ट लगाउनु हाम्रा लागि गजबकै खुुुसीको कुरा हुन्थ्यो । त्यो खुसी अहिले जति राम्रो र जति थरिको लुगा लगाउँदा पनि पाइँदैन ।

दसैँभरि बिहानैदेखि बागेश्वरी मन्दिरको लाउडस्पिकरबाट सुरेश वाडेकर र यशुदासका भजनहरू आउन थाल्थे । घटस्थापनाको दिनदेखि नै घरमा आमाको व्यस्तता बढ्थ्यो । बिहान चारै बजे उहाँ बागेश्वरी मन्दिर जानु हुन्थ्यो । कहिलेकाँही हामी पनि आमाका पछि लाग्थ्यौँ । एकाबिहानै मन्दिरमा भक्तजनहरूको घुइँचो लागिसकेको हुन्थ्यो । मन्दिरबाट फर्कँदा आमाले जिलेवी किनिदिनु हुन्थ्यो । वास्तवमा हामी आमाको पछि लाग्ने कारणै त्यही थियो ।

मधेशको दसैँ न हो । दसहराभरि रामलीला हुने नै भयो । महेन्द्रपार्कमा हरेक दिन साँझपख रामलीला मन्चन हुन्थ्यो । भारततिरबाटै झिकाइएको हुन्थ्यो रामलीला टोली । राम, सीता र लक्ष्मणलाई देख्दा साह्रै श्रद्धा जाग्थ्यो । कतिपय दर्शकहरू त उनीहरूका चरणस्पर्श पनि गर्दथे ।

दशहरा शुरु भएपछि बाटामा ठाउँठाउँमा दुर्गामाताका मूर्तिहरू स्थापित गरिएका हुन्थे । कति सजीव लाग्थे ती मूर्तिहरू । भट्टी टोलमा त्यस्तो मूर्ति बनाउने एउटा कलाकार बस्थ्यो । सायद दसैँकै लागि इन्डियाबाट आएको पनि हुनसक्थ्यो । मूर्तिको निर्माण प्रक्रिया मैले त्यहीँ देख्थेँ । बिना श्रृंगार, बिना पोशाकको मूर्ति देख्दा कुरीकुरी पनि लाग्थ्यो । दसहरामा बाटाबाटामा स्थापित गरिएका दुर्गामुर्ति सँगै बनाइएको पन्डालमा रातभरि भजन किर्तन हुन्थ्यो । इन्डियातिरबाट आएका भजन मण्डलीबीच लगातार भजन गाउने प्रतिस्पर्धा पनि हुन्थ्यो । मलाई लाग्छ, मेरो बाल्यकालको त्यो स्वर्णिम कार्यकालमै हिट भएका हिन्दी फिल्मको गीतकै लयमा भजनको प्यारोडी गाउने चलनको शुरुवात भएको हो ।

मधेशको दसैँ न हो । दसहराभरि रामलीला हुने नै भयो । महेन्द्रपार्कमा हरेक दिन साँझपख रामलीला मन्चन हुन्थ्यो । भारततिरबाटै झिकाइएको हुन्थ्यो रामलीला टोली । राम, सीता र लक्ष्मणलाई देख्दा साह्रै श्रद्धा जाग्थ्यो । कतिपय दर्शकहरू त उनीहरूका चरणस्पर्श पनि गर्दथे । नेपालगन्जमा हाम्रा नातागोता निकै कम थिए । त्यसैले टिका लगाउने काम दुई तीन घण्टामा सकिन्थ्यो । त्यसपछि म रामलीला मैदानतिर दौडिहाल्थेँ । रामलीला स्थलमा बिहानैदेखि गाउँगाउँबाट दर्शकहरू ओइरिएर आउँथे । लोकल मिठाइ, पकौडी र बतासाका अस्थायी दुकानहरू स्थापित हुन्थे रामलीला मैदान वरिपरि । लभभग एकदुई बजेतिर लंका दहन र रावणवधको दृश्य मन्चित हुन्थ्यो । हनुमान बनेको कलाकारले पुच्छरमा आगो लगाएर रंगीचंगी कागज र बाँसद्धारा निर्मित बनाइएको सानो लंका जलाउँथ्यो ।  एक–दुईपल्ट मैले हनुमानको पुच्छर समातेको पनि छु । निकैबेरसम्म रथमा बसेका रामलक्ष्मण र रावणबीच घमासान लडाइँ हुन्थ्यो । ताली र होहल्ला गजबले मच्चिन्थ्यो । अन्तिम दृश्यमा रावण बनेको कलाकार कतै बेपत्ता हुन्थ्यो र त्यसपछि रामलक्ष्मणको रथका अगाडि ल्याइन्थ्यो चालिस–पचास फिट अग्लो कागजको रावण । त्यसमा अरु सानासाना टाउका पनि गाँसिएका हुन्थे । मुख र आँखामा रातो कागज टाँसिएको हुन्थ्यो । कति डरलाग्दो देखिन्थ्यो त्यो रावण । एकैछिनपछि राम र लक्ष्मणले वाणको टुप्पोमा आगो सल्काउन थाल्थे । र नजिकै उभिएको त्यो अजंगको रावणको निर्जीव पुतलातिर बहादुरीसाथ ती वाणहरू प्रहार गर्थे । राम र लक्ष्मणको निशाना प्रायः गलत लाग्थ्यो । त्यसैले कतिपय वाणहरू रावणलाईं नलागेर दर्शकतिर खस्थे । भागाभाग हुन्थ्यो । रामलीला सकिएपछि मैदानमा दर्जनौँ चुँडिएका चप्पलहरू देखिन्थे ।

अन्ततः रावणको त्यो अजंगको पुतला सल्किन्थ्यो । पुतलाको भित्रीभागमा राखिएका सयौँ पटकाहरू पड्किन थाल्थे । रामलक्ष्मणको जयजयकार मच्चिन्थ्यो । भीषण आगो बल्थ्यो र अनि बल्दाबल्दैको रावण लाचार भएर ढल्थ्यो । दर्शकहरू रावणको शरीरमा जल्न बाँकी कागजहरू लिन दौडादौड गर्थे । त्यो कागजको जन्तर बनाएर लगाएमा फलिफाप हुन्छ भन्ने मधेशतिर धारणा थियो । एकपटक म पनि एउटा सानो टुक्रा हात पार्न सफल भएको थिएँ । तिहारपछि स्कूल खुलेपछि मैले धेरैलाई त्यो कागजको टुक्रो देखाएको थिएँ । साथीहरू जिल्ल परे । तिनीहरूको नजरमा केही दिन म एउटा बहादुर बालक भएको थिएँ, जसले हजारौँको भीँडमा पसेर त्यो कागजको टुक्रा लिन सफल भएको थियो ।

स्कूलमा मेरा धेरै साथीहरू कर्मचारीका छोराहरू थिए । दसैँ विदा सुरु हुनासाथ तिनीहरूले नेपालगन्ज छाडिसकेका हुन्थे । साथीहरूको सानो समूह बाँकी रहन्थ्यो । सुवर्ण, दिनेश, सुनिल, जय, विजय, निर्मल र राजेन्द्र । हामी प्रायः यति बाँकी रहन्थ्यौँ । जय र विजय त फूलपाती लागेपछि बर्दियाको आफ्नो गाउँतिर लाग्थे । त्यसपछि दसैँको रौनक केही कम भएको हो कि जस्तो लाग्थ्यो । घरमा तास खेल्न मनाही थियो । त्यसैले कुनै बहानामा म साइकल चलाएर बाँके बगिया पुग्थेँ । सुवर्ण र दिनेशको घरमा । दिनभरि त्यहीँ तास खेल्थेँ । प्रायः हार्थेँ । एक साल जितेको थिएँ । सायद चालिस पचास रुपियाँ । त्यो पैसाले मैले ‘चिल्डेन्स नलेज बैँक’को चार खण्ड किनेको थिएँ । एउटा ‘हण्ड्रेड वन म्याजिक ट्रिक्स’ भन्ने किताब पनि किनेको थिएँ । त्यसपछि म सानोतिनो जादूगर पनि भएँ । म बोक्रै नताछी केराको गुदीलाई टुक्रा टुक्रा पार्न सक्थेँ । हाते रुमालमा सलाईको काँटी बेर्थेँ । काँटी भाँच्न लगाउँथे र तत्काल काँटी जस्ताको तस्तै देखाइदिन्थे । त्यसमा बक्सामा राखिएको मानिस कसरी दुई टुक्रा पारेर काटिन्छ र हात्ति कसरी गायब पार्न सकिन्छ भनेर पनि सिकाइएको थियो । म बाहेक ती जादू अरुले नसिकुन् भनेर मैले धेरै समयसम्म त्यो किताब लुकाएर राखेको थिएँ ।

अष्टमीमा घरमा कुलदेवतालाई बोको बली दिने चलन थियो । बली दिने बोको हामीकहाँ कहिलेकाहीँ महिना दिनअघि नै पनि आइसकेको हुन्थ्यो । हामीलाई बोकोको लागि घाँस खोज्ने चटारो हुन्थ्यो । सायद दाना बढी खाएर अपच भएर होला कहिलेकाहीँ बोकोलाई छेरपाटी लाग्थ्यो । हामी डराउँथ्यौँ । अष्टमीसम्म बोको मरी हाल्ने पो हो कि ! त्यसपछि बुबाले भेटनरीबाट औषधि किनेर ल्याएको र बोकाको मुख बलजफ्ती खोलेर औषधि ख्वाएको पनि अलिअलि सम्झना छ ।

बलीकै प्रसंग । बोकोलाई मार हान्न बुबाले पढाउने स्कूलको राधे भन्ने पियन आउँथ्यो । बुबाले त्यतिन्जेल पूजामा बसिसकेको हुनुहुन्थ्यो । बोको छिनाउने क्रममा एक साल बोकोको टाउकोतिर डोरी समातिदिने कोही भएन । मैले समात्नु पर्यो । होस हवासै हरायो । मैले काम्दै बोकोतिर नफर्किएर हात पछाडि लगेर बोकोेको दाम्लो समातेँ । राधेले खुकुरी उज्यायो । ठीक मार हान्ने बेलामा मेरो हातबाट दाम्लो फुत्कियो । गर्दनमा हान्नु पर्ने खुकुरी अन्तै लाग्यो । बोको छट्पटाउन थाल्यो । टाढा बसेर हेरिरहेको भाइ तर्सिएर रुन थाल्यो । मैले कुलेलम ठोकेँ । राधेले चार पाँच पटकमा बल्ल बल्ल बोकोको गर्दन छिनालेछ । पूजाकोठाबाट बुबाले पनि बोकोको आर्तनाद सुन्नु भएछ । बुबालाई नरमाइलो लागेछ । अपसगुन हुन्छ भन्ने डर पनि भयो । त्यसपछि बुबाले घोषणा गर्नु भयो, अबदेखि बोकाको बली नदिने । हामीले दसैँमा पनि हलाल गरेको मासु खान थाल्यौँ । बुबाले कुलदेवतालाई कुविन्डोको बली दिन थाल्नु भयो । परम्परा जसरी निर्वाह गरे पनि हुनेरहेछ ।

अष्टमीको दिन बागेश्वरी मन्दिर रगतको आहाल बनेको हुन्थ्यो । सयौँको संख्यामा बोकाहरू बली दिइन्थ्यो । म मार हानेको दृश्य हेर्न सक्दैनथे । तर मेरो एउटा साथी भने बिहानैदेखि बडेमानको खुकुरी लिएर बागेश्वरी मन्दिरमा बसेको हुन्थ्यो । उसले दर्जनौँ बोकालाई ढालेको भन्ने हल्ला सुनिन्थ्यो । मेरो स्मृतिले धोका दिएको होइन भने, दर्जनौँ बोकालाई मार हालेर ढाल्ने त्यो बहादुर साथी अहिले नेपाली रंगमंचको नामूद अभिनेता भैसकेको छ । एकताली हल्ला चल्यो । साथीले मार त हान्यो । तर निशाना गलत भयो । बोको ढाडबाट छिनियो ।

दसैँभरिमा मलाई मन नपर्ने अष्टमी । बुबाले त्यो दिन बिहानैदेखि पूजा थाल्नु हुन्थ्यो । त्यो पूजा दिउँसो दुई तीन बजेसम्म चल्थ्यो । त्यतिन्जेल आमाले मासुका विविध परिकारहरू पकाइसक्नुुहुन्थ्यो । हामी भोकले रन्थनिसकेका हुन्थ्यौँ । तर समस्या, पूजा नसकी खान पाइँदैनथ्यो । हामी दिनभरि नै भोकै बस्नु पर्थ्यो । म भने कहिलेकाहीँ कुनै बहानामा घरबाट निस्कन्थेँ र त्रिभुवन चौकको मिठाइपसलमा पसेर टन्न दही र जिलेवी खान्थेँ । घरमा चारपाँच बजेतिर बल्ल खान पाइन्थ्यो । त्यतिन्जेल आज त एक किलो मासु नखाइ छाड्दिन जस्तो लाग्थ्यो । के सकिन्थ्यो ? अलिकति खाँदैमा अमन भैहाल्थ्यो । तर एउटा कुरा भन्नै पर्छ । श्रीमती रिसाए पनि । आमाले पकाएको जस्तो मीठो मासु मैले त्यसपछि कैले पनि खान पाएको छैन । आमाको हातले पकाएको सबै कुरा मीठो । सायद बाल्यकालमा खाएका खानेकुराका स्वादहरू आजीवन जिब्रोमा बसिरहन्छन् । कसले भन्छ, जिब्रोमा मेमोरी पावर हुँदैन ? जे होस्, त्यो दिन हामीलाई बुबाले बोकाको राजखानी पनि खान दिनुहुन्थ्यो । नारीहरूका लागि त्यो निषिद्ध थियो । त्यो दिन हामीलाई पुरुष भएर जन्मिएकोमा गजपको गर्व महसूस हुन्थ्यो ।

केटाकेटीमा मनाएको दसैँको स्मृति कति सुन्दर ? कस्तो विडम्बना ? कम्प्युटरको यो युगमा पनि हामी ती स्मृतिहरूलाई विगतबाट ‘कट’ गरेर वर्तमानमा ‘पेस्ट’ गर्न सक्दैनौँ । विल गेटस् दाइसित आशा राखेको छु । निकट भविष्यमा केही चमत्कार गरी पो हाल्छन् कि ?

दसैँमा म खोप्पी पनि खूब खेल्थेँ । हाम्रो घरनेरकै जय र विजयको घरमा गएर । हाम्रो टोलमा तिनताक एकजना दादा थिए । नाम त तिनको ईश्वर थियो, तर हाम्रा लागि ती दानवभन्दा कम थिएनन् । टोलभरि उनको आतंक थियो । हामीहरू खोप्पी खेल्दा कताकताबाट उनी पनि आइपुग्थे । हामीले भाग्न पाउँदैनथ्यौँ । उनीसित खोप्पी खेल्नै पर्दथ्यो । हामी नहारुन्जेल उनीसित खोप्पी खेलिरहनु पर्थ्यो । दसैँमा मलाई त्यतिबेला त्यो क्षण सबैभन्दा नरमाइलो लाग्थ्यो । हामी त्यो दादासित भरिसक्के जोगिन्थ्यौँ । तर त्यो दादा अचेल भलादमी भैसक्नु भएको छ । अचेल हामी कोही पनि उहाँसित डराउँदैनौँ । कहिलेकाहीँ भेट हुन्छ । भेटेपिच्छे भन्नुहुन्छ- ‘कुन सिनेमा बनाउँदैछौ ? मलाई नखेलाउने ? तर हिरोइनको रेप गर्ने सिन दिनु पर्छ । नभए बाउको रोल भए पनि हुन्छ । तर हिरोइनलाई अँगालो मार्ने सिन हुनैपर्छ ।’

टिकाको दिन बिहान बुबाले हामी सबै छोराछोरीलाई नयाँ नोटहरू दिनु हुन्थ्यो । एकएक, दुईदुई र केही पाँचपाँचका नोटहरू । कसैलाई टिका लगाएर दिनका लागि । तर मैले कसैलाई दिन्नथेँ । नेपालगन्जमा हामी दाजुभाइले कसैबाट दक्षिणा पाउँदैनथ्यौँ । दिदी र बहिनीले दक्षिणा गन्दा त्यतिबेला काठमाडौंमा मामाघर जाऊँजाऊँ लाग्थ्यो । त्यसैले बुबाले दिएका नोटहरू मैले जोगाएर नराखी सुखै थिएन । त्यही पैसाले त पूर्णिमाका दिनसम्म दिनेशको घरमा गएर तास खेल्नु पर्थ्यो ।

दसैँ र तिहारबीचमा एक महिना स्कूल विदा हुन्थ्यो । होमवर्क पनि टन्नै हुन्थ्यो । तिहार लाग्नलाग्न थालेपछि होमवर्कको चिन्ताले सताउँथ्यो । होमवर्क प्रायः अधुरो हुन्थ्यो । अधुरो होमवर्क देखाउँदा शिक्षकबाट पिटाइखाइने डर प्रशस्त हुन्थ्यो । तर पनि म स्कूल खुलेको दिन स्कूल अवस्य जान्थेँ । पढ्ने रहरले हैन, साथीहरूलाई दसैँको लुगा देखाउन । एकदुई दिन स्कूलमा खासै पढाइ हुँदैनथ्यो । टाढा गएका विधार्थीहरू केही दिन ढिलो नेपालगन्ज फर्किने भएकोले स्कूलमा सरहरूले खासै पढाउँदैनथे । होमवर्क पनि हेर्दैनथे । तर तेस्रो चौथो दिनपछि त मैले नभागी सुखै पाउँदैनथेँ । दसैँको केही पैसा अझै बाँकी हुन्थ्यो । त्यही पैसाले लक्ष्मी चित्र मन्दिरमा थर्ड क्लासमा बसेर मेटनी सो सिनेमा हेर्थेँ । सिनेमा सकिएपछि पनि एकछिन बजारतिरै बरालिन्थेँ । ठीक स्कूल छुट्ने समय मिलाएर म घर फर्किन्थे । प्राय जोगिन्थेँ । तर कहिलेकाहीँ झूठ समातिन्थ्यो । बुबालेबाट चुटाइ खान्थे ।

केटाकेटीमा मनाएको दसैँको स्मृति कति सुन्दर ? कस्तो विडम्बना ? कम्प्युटरको यो युगमा पनि हामी ती स्मृतिहरूलाई विगतबाट ‘कट’ गरेर वर्तमानमा ‘पेस्ट’ गर्न सक्दैनौँ । विल गेटस् दाइसित आशा राखेको छु । निकट भविष्यमा केही चमत्कार गरी पो हाल्छन् कि ?

पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रमा पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने गर्दछन् । उलार, लू, घामकिरी र सल्लीपिर उनका चर्चित उपन्यास हुन् ।

कस्तो लाग्यो ?

यो पनि