बैशाख ०४, २०८१, मंगलबार
               

राजा वीरेन्द्रसँग त्यो जम्काभेट

चेतन पाण्डे
असोज २८, २०७७

ADVERTISEMENT

म जन्मँदा पञ्चायती व्यवस्था उत्कर्षमा थियो । राजाको इशारामा चल्ने व्यवस्था । राजाको रजगजको व्यवस्था । राजसी ठाँटको व्यवस्था । सामन्ती व्यवस्था । अनि निरंकुस एकदलीय व्यवस्था । धेरै उपनाम पाएको थियो र छ, तत्कालीन पञ्चायती व्यवस्थाले । 

त्यो व्यवस्थाका कतिपय कुराहरू अहिले पनि मन पर्छन् तर कहिल्यै मन परेन, दलहरू माथिको प्रतिबन्ध । विरोधी माथिको दमन । तर राजालाई सत्ता च्युत गरे पनि उनले स्वतन्त्र र सम्मानित भएर बाँच्न, बोल्न र बस्न पाउन पर्छ भन्ने मान्यताको भने सधैँ पक्षधर रहेँ । अहिले पनि छु । मन पर्दैनन् मलाई, राजाको पक्षमा बोल्नेलाई हेयको नजरले हेर्ने गणतान्त्रिक व्यवस्थाका नक्कली हिमायतीहरू । अनि राजाको पक्षमा उग्र नारा लगाउने राजावादी चाप्लुसेहरु पनि ।

मैले पहिलो पटक राजा वीरेन्द्रलाई कालो पुलको सडक जाम हुँदा प्रत्यक्ष देख्न पाएँ । देख्न मात्र के उनको आवाज पनि सुन्न पनि पाएँ । त्यो बेलाभन्दा अगाडि पनि देख्न पाउँथे होला तर, जुरेन साइत ।

कुनै बेला लाग्थ्यो, राजा भनेको छुट्टै ग्रहबाट आएका प्राणी होलान् । सोचले उन्नत । लाग्थ्यो, राजा कहिल्यै बिरामी पर्दैनन् । कहिल्यै मर्दैनन् । पञ्चतन्त्रका कथामा उल्लेख हुने जस्ता । तर, व्यर्थ रहेछ मेरा सब सोच । राजालाई पनि गोलीले छेड्दो रहेछ । साधारण मानिस झैँ प्राण पनि उड्दो रहेछ । लोभ, लालच अनि षडयन्त्र दरबारको खोपी–खोपीमा लुकेका हुने रहेछन् ।

मैले पहिलो पटक राजा वीरेन्द्रलाई कालो पुलको सडक जाम हुँदा प्रत्यक्ष देख्न पाएँ । देख्न मात्र के उनको आवाज पनि सुन्न पनि पाएँ । त्यो बेलाभन्दा अगाडि पनि देख्न पाउँथे होला तर, जुरेन साइत ।

म भानुभक्त मेमोरियल माध्यमिक विद्यालयमा पढ्थेँ । राजा वीरेन्द्रको मध्यमाञ्चल विकास क्षेत्रको भ्रमणका क्रममा हाम्रो स्कुल पनि आउने कार्यक्रम थियो ।

राजा आउने दिन स्कुल पढ्दा कहिल्यै नलगाएको टाई र कालो टोपी लगाएर आउन उर्दी जारी ग¥यो, विद्यालय प्रशासनले । स्कुल ड्रेसमा कहिल्यै उल्लेख नगरिएको थप पोसाक । राजालाई नजिकबाट देख्न पाउने लोभ र मास्टरको पिटाइको डरले त्यो पनि लगाइयो । हामी सानै भएकाले इलास्टिकमा हुक भएको टाई लगाउन दिइएको थियो । बच्चाहरूलाई लगाउन सजिलो हुन्छ भनेर होला । दिइएको त के नै थियो र ! स्कुलले बेचेको थियो । मलाई मन परेन त्यो टाई । मेरो चाहना त बाबाले अफिस जाने बेला चट्ट नट कसेर लगाउने झैँ टाई गर्धनमा भिर्ने थियो । पुरा भएन त्यो चाहना, त्यस बेला ।

त्यो व्यवस्था गज्जब कै थियो । सबैले भन्थे राजालाई चाकडी मन पर्दैन तर सबै राजभक्त थिए । राजा कै गुणगानमा व्यस्त देखिन्थे । रेडियोबाट पनि राष्ट्रिय गानका नाममा राजाका भजन बज्थे । पछिल्लो शाहीकाल पनि झन्डै त्यस्तै बन्यो । अहिले काँग्रेस र कम्युनिस्ट भनेर चिनिनेहरू समेत त्यति बेला कडा राजावादी बनेका थिए । राज्यका हरेक संयन्त्र राजभक्त बनेका थिए । जसरी अहिले राज्यका सबै तन्त्र काँग्रेस र कम्युनिस्टमा विभाजित भएका छन् । खासमा हामी सबै वादभन्दा माथि रहेको अवसरवादका पुजारी रहेछौँ । थाहा पाइयो । अझै धेरै थाहा पाउन बाँकी नै छ । 

त्यो दिन पनि स्कुल पुग्दा सारा परिसर ढकमक्क फूलेका फूलका गमलाले सजिएका थिए । पहिलो पटक देख्नेलाई त भ्रम पनि पर्थ्यो होला, वर्षौँदेखि ती गमलाहरू त्यहाँ त्यसरी नै सजिएका होलान् भनेर । तर, ती सबै देखावटी थिए । राजाको स्वागतमा ओछ्याइएको रेड कार्पेट झैँ ।

सुनिएको थियो, कुनै बेला राजा पोखरा वा आसपास पुग्दा बेमौसममा रूखभरि सुन्तला फलाइएका थिए रे । वास्तवमा धागोले रुखमा उनिएका रहेछन्, ती सुन्तलाका दानाहरू । राजाले टिप्न खोज्दा थाहा पाइहालेछन् । कुरा साँचो वा झूटो जे भए पनि, चाकडीले पराकाष्ठा नाघेको युग थियो, त्यो । दामभन्दा चाकडी र चाप्लुसीको नजरानाले भाउ पाउने समय थियो, त्यो ।

राजा स्कुल घुम्न आउने दिन । हामीलाई अनुशासित भएर कक्षामा बस्न लगाइयो । राजाले कक्षा–कक्षा घुम्ने छन् भन्दै । केही सोधिहाले स्मार्ट भएर जवाफ दिनु भन्ने अर्को उर्दी पनि थियो । हामीले कक्षामा चुपचाप बसेर घण्टौँ प्रतीक्षा गर्‍यौँ । हामीले हल्ला गर्दा स्कुल कै इज्जत जाला भन्ने डरले । राजा वीरेन्द्र आउन त आएछन् तर, स्कुलमा नजर घुमाएर मात्र फर्केछन् । हामी त हिस्स बुढी खिस्स दाँत । त्यो नयाँ टोपी र टाइले फेरि कहिल्यै यो शरीरमा सजिने मौका पाएन । दोहराए न राजा आए नतै रानी । बस्, रेडियो मात्र गीत मात्र बज्थ्यो...

‘चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो...।’

वीरेन्द्रप्रति हाम्रो विद्यालयले देखाएको चाकडीको पराकाष्ठाले एउटा पाठ भने पढायो, कालान्तरमा । यस्तै चाकडी चाप्लुसी कै कारण व्यवस्था अलोकप्रिय बन्दो रहेछ । जसरी अहिले फेरि त्यही दरबारिया चाकडी प्रथाले मौलाउने अवसर पाइरहेको छ, त्यसले यो व्यवस्थाका जगलाई पनि कमजोर बनाउने नै छ । आज पनि राष्ट्रपतिको सवारी नै चल्छ । जसरी हिजो राजाको सवारी चल्थ्यो । ‘आउने’ र ‘जाने’ शब्द नारायणहिटीबाट शीतल निवास र बालुवाटार सरेको दरबारलाई पनि अपाच्य बन्न थालेको छ । जनताका  बोलीचालीका शब्द त हेपाहा शब्द झैँ बन्न पुगेको छ, शासकका लागि । शायद हाम्रो मुलुकमा हरेक दशक आन्दोलनको तीव्र हावा यस्तै कारणले त चल्दैन ? भन्ने पनि लाग्न थालेको छ ।

०००

सिफलको कालो पुलमा त्यस दिन बाटो खनिएको रहेछ ।

ज्ञानेश्वरको ओरालो सकिने बित्तिकै एउटा सार्कीको (हिजोआज यो शब्द पनि निषेध छ क्यार ! राजा शब्द झैँ) पसल थियो । हामी उनलाई नामभन्दा पनि उनकै कामको आधारमा सम्बोधन गर्थ्यौँ । आज पनि मानिसहरू काम अनुसार नै सम्बोधन गरिन्छ नै । जस्तै, राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, प्रधानन्यायधिसज्यू अझ सम्माननीय थपेर । मानिसलाई उसको काम अनुसार सम्बोधन गर्दा सानो भइन्छ जस्तो मलाई लाग्दैन । जब काम नै जात बन्छ भने त झनै गर्वको कुरो हुनुपर्छ जस्तो पो लाग्छ ।

दसैँ ताका नै थियो । ममीले त्यहाँ मेरा लागि नयाँ जुत्ता बनाउन अर्डर दिएकी थिइन् । त्यो बेला आज जस्तो रेडिमेड जुत्ता लगाउन भाग्य कै साथ र सहयोग चाहिन्थ्यो । कहाँ थियो र’ ठुला–ठुला मलहरू । जे थियो, नयाँ सडक वरिपरि नै थियो । जे किन्नु पर्थ्यो, त्यतै धाउनु पर्थ्यो । ममी पनि निकै बाठी ! कालो जुत्ता बनाउन लगाएपछि त दर्शै बित्थ्यो नै अनि स्कुलमा पनि लगाउन काम लाग्थ्यो नि । वाह रे मेरी आमा ! तर, जुत्ता भने मैले धेरै अगाडिदेखि लगाउन खोजेको बुट झैँ बन्दै थियो । बुटको साइडबाट सर्रर्र्... जिपर लगाउन मिल्ने । अब म पनि दाइहरू जस्तै बुट लगाउने श्रेणीमा उक्लिँदै थिएँ । प्रमोसन हुँदै थियो मेरो । त्यसमै दङदास थिएँ ।

म त्यहीँ त्यो कालो बुट फिनिसिङ भइरहेको हेरेर बसिरहेको थिएँ । कति बेला काम सकिएला र लिएर जाउँला भन्ने पर्खाइ । हतार थियो, घरमा गएर लगाइहाल्ने । त्यही नै बेला केही पर चिटिक्क परेको शानदार कार रोकिएको देखेँ । मनमा कौतूहल बढ्यो । कारको नजिक जाने रहर पलायो । दौडिँदै पुगे । कारभित्र त किताबमा राजा–रानी भनेर फोटो छापिएका दुई व्यक्ति पो रहेछन् । राजा वीरेन्द्र र रानी ऐश्वर्य ।

कारको नजिक जाने उत्सुकता बढ्यो । वास्तवमा भन्नु पर्दा म बच्चैदेखि आफूलाई अन्यभन्दा फरक मान्थेँ । राजा–रानीले त मलाई विशेष ध्यान दिन्छन् जस्तो लागेको थियो । तर, म गलत भएँ । निकै बेर टोलाएर हेरिरहेँ । बिस्तारै मानिसहरूको भीड पनि बढ्दै थियो । जसमा अधिकांश हात जोडेरै उभिएका थिए । सुरक्षाकर्मीले कसैलाई टाढा जना हप्की दप्की पनि गरी रहेका थिएनन् । जसरी हिजोआज बिना अर्थ गर्छन् । सबैको नजर राजा–रानी मै केन्द्रित थियो । मेरो जुत्ता फिनिसिङ गर्न छाडेर त्यो दाइ पनि त्यही आइपुगेका रहेछन् । एक छिन त रिस पनि उठ्यो । मैले फेरि केही बेर कुर्नु पर्ने भयो भनेर ।

राजा एक पटक म तिर हेरेर मुसुक्क हाँसे पनि । शायद आफ्ना सबै जनतालाई अभिवादन गरेको हुनुपर्छ । मलाई त मसँगै मुस्कुराए जस्तो लाग्यो । म पनि मुस्कुराएँ । केही नजिकै गएँ । कसैले रोकेन । फेरि मुस्कुराए । नजिकै गएर गाडिभित्र हेरेँ । कारभित्र राजा र रानी मात्र थिए । कारको डेकोरेसन भव्य थियो । राजाले त्यस बेला भने म तिरै हेरेर मुस्कुराए अनि सोधे ‘राम्रो लाग्यो ?’ मैले चुपचाप ‘लाग्यो’ भनेर मौन सहमतिमा टाउको मात्रै हल्लाएँ । मुखबाट आवाज नै निस्किएन । तर पक्का छ, आजकाल त्यो भन्दा निकै राम्रा गाडी चलन चल्तीमा छ । त्यही समयतिर फाटेका र सेफ्टिपिनले जोडेका चप्पल लगाएर व्यवस्था परिवर्तनको लडाइँमा अग्रपङ्क्तिमा होमिएकाहरूसँग नै अहिले प्रशस्त छन्, बिलासी गाडीहरू । राजा वीरेन्द्रको भन्दा पनि बिलासी । 

कालखण्ड बनेको पञ्चायती व्यवस्था र त्यसपछि बहुदलीय व्यवस्थामा प्रयोग भएका बिलासी गाडीहरू त अहिले सिंहदरबार परिसरमा कवाडीको भाउमा बिक्न तयारी अवस्थामा छन् । केही लाख खर्च गरेर बन्ने करोडौँका ती गाडीहरूको दुर्दशा देख्दा कसैको मन पनि खिन्न नहुँदो रहेछ । आखिर नयाँ गाडी र हेलिकप्टर किन्न जनताले पसिना बगाएको रकम करका नाममा राज्यलाई बुझाएकै छन्, क्यारे ।

०००

तत्कालीन युवराज दीपेन्द्रसँग पनि केही हिमचिम भयो । भानुभक्तमा नै पढ्दा स्काउटको अन्तर्राष्ट्रिय मेला जाम्बोरीमा जान पाइयो । त्यो पनि नेपालले नै आयोजना भएको हुनाले । कीर्तिपुरमा हप्ता दिनभन्दा बढी बसिएको थियो ।

त्यस बेला काठमाडौँ जिल्लाको नेतृत्व दीपेन्द्र शाहले नै गरेका थिए । भविष्यको राजाले नेतृत्व गरेको टोलीबाट मैले पनि मार्चपास्ट गरेको थिएँ । हाम्रो बसाइ टिनको टहरामा ओछ्याइएको परालमा थियो । राजाका जेठा छोरा दीपेन्द्रको हाम्रो टहरा नजिकैको टेन्टमा । विदेशी सहभागी र नेपाली छात्राका लागि भने कोठाहरू कै व्यवस्था थियो ।

हुन त मृत्युले राजालाई पनि छाड्दैन रहेछ । नारायणहिटी हत्याकाण्डबाट पुष्टि भयो । राजालाई पनि कुनै न कुनै दिन, भाग्यले साथ छाड्दो रहेछ । नारायणहिटीबाट नागार्जुन सरेका राजा हेरे पुग्छ ।

तत्कालीन शाहज्यादा पारस शाह पनि सहभागी थिए, जाम्बोरीमा । त्यो बेला मलाई के थाहा शाहज्यादा पारस भविष्यमा यो मुलुकको युवराज पनि बन्नेछन् भनेर । रसिक थिए, दुवै जना । राजधानीको नाम चलेको स्कुलका छात्राहरूसँग गफ्फि रहेका निकै भेटिन्थे ।

एक दिन मैले पनि लामै समय गफ गर्ने मौका पाए, दुवै जनासँग । दीपेन्द्र बोलक्कड थिए तर, पारस गम्भीर । गफ गर्दै झन्डै–झन्डै एकै घण्टा बिताइयो कीर्तिपुरको डाँडो उक्लिँदा । पछि दुवै जना अर्कै तिर लागे। म आफ्नै बाटो लागेँ । मेरो डायरीमा अटोग्राफ पनि दिएका थिए । ठेगाना माग्दा नारायणहिटी दरबार मात्र लेखे । आशा थियो, फोन नम्बर पनि देलान् भनेर । तर, दिएनन् । भेट्न आऊ है भनेका थिए, कहिल्यै भेट्ने कोसिस गरिन । राजाका छोराले के सम्झिएलान् र’ भनेर । सही नै थियो होला मेरो सोच । तर त्यति छोटो भेटमा पनि लागेनन्, आडम्बरी र बिलासी । भाग्यले नै दिएको सुविधा त जसले पनि भोग गरिहाल्छ नि आखिर । उनीहरूले पनि त्यही सुविधा मात्र त भोग गरेका थिए ।

हामी भुईँबाट उठेका जनताका छोरा परालमा पनि निदाउन सक्यौँ । उनी जन्मँदै सुनको चम्चाले खाना खाएकाले टेन्टमा भए पनि निदाउन सके ।

अहिले उदाएका नवमहाराजहरुले शायद त्यो दुख पनि गर्न सक्दैन थिए होलान् । कोही बोल्न नजिक आए सुरक्षाकर्मीले घेरा तोड्न पनि दिँदैनन् होला । हुनसक्छ, हिजोका राजालाई मर्ने डर थिएन, आजकालाई छ कि ? किनकि हिजो सामन्तवादको विरोध गर्नेहरू नै आज सामन्ती बनेका जो छन् । हिजो नक्कली स्टिलका चम्चाले खाँदा समेत समेत आफूलाई भाग्यमानी ठान्नेहरू आज सुनको चम्चा र थालीमा ज्युनार होइबक्सिने बनेका छन् । डिल्लीबजारको भट्टीमा लोकल रक्सी खाएको बिल अझै चुकाउन नभ्याएकाहरू आज अरबौँ भ्रष्टाचारको आरोपमा मुछिन थालेका छन् । एउटा राजा फालेका हामी सयौँ राजाका रैती बनेका छौँ ।

हुन त मृत्युले राजालाई पनि छाड्दैन रहेछ । नारायणहिटी हत्याकाण्डबाट पुष्टि भयो । राजालाई पनि कुनै न कुनै दिन, भाग्यले साथ छाड्दो रहेछ । नारायणहिटीबाट नागार्जुन सरेका राजा हेरे पुग्छ । भाग्य साथ दिए, रैती पनि राजा बन्दा रहेछन् । हिजो थोत्रा जुत्ताले जङ्गल नाप्नेहरू पनि आज सिंहासनका हकदार बन्दा रहेछन् । कुनै बेला जङ्गलमा पतिङ्गरमा सुतेकाहरूलाई आज महलको राजसी ओछ्यान बिना निन्द्रा नलाग्ने पनि भइसकेको रहेछ । सरकारी अस्पतालको मुख नदेखेकाहरु आज सिंगापुर उपचारका लागि धाउन थालेका पनि हेर्नै परेको छ । 

अन्तिममा ! भुल्न नहुने यथार्थ एउटै छ । जसले परिवर्तनका लागि फटाएका जुत्ताको गणना भुल्छ । उ मात्र तानासाह बन्न सक्छ । जनताको मनको शासक कहिल्यै बन्न सक्दैन । 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि